एक तेह्र वर्षीया गाउँले किशोरीको ‘सुख-डायरी’

एक तेह्र वर्षीया गाउँले किशोरीको ‘ सुख - डायरी ’ - भवन खत्री २०७४ बैशाख १३ गते प्यारी संवेदना ! आज पनि तिमीलाई दुखका कुरा सुनाएर दुखी बनाउन्नँ । आज तिमीलाई सुनाउन हिजोअस्तीकोझैँ दुखका कुरा छैनन् । एउटा खुसीको कुरा सुनाउँछु । यो १३ वर्षे उमेरमा मैले पाएको ठुलो सफलता आज तिमीलाई भन्छु ल ! यो शैक्षिक सफलताको कुरा हो । यसपालिको परिक्षामा सबैभन्दा बढी अंक ल्याएर म पहिलो भएँ । अब म सात कक्षामा गएँ । राहुल सरले स्कूल प्राङ्गणको माथिबाट सबै कक्षाको रिजल्ट भन्दैहुनुहुन्थ्यो । सरले छ कक्षाको रिजल्टमा पहिलो भएको भनेर मेरो नाम लिएपछि मलाई त्यो बेला यति खुसी मिल्यो कि नभनौँ । त्यो पूरा खुसी तिमीमाझ व्यक्त गर्न सक्दिनँ । तिमी आफैँ कल्पना गर है ! म पहिलो भएकामा आज सर र साथीहरुले हेला गरेनन् । मलाई को को केटाहरुसँग जोडेर जिस्काइरहने साथीहरु मेरो मुखै परेनन् । सधैँ झगडाको निहु खोज्ने सरला मेरा अगाडी कति मायालु देखिई । विमल सरको मलाई हेर्ने नजरमा परिवर्तन देखेँ । सरले आज मलाई दलित केटीका रुपमा नभएर आम केटीलाई झैँ हेर्नुभो । मसँग कहिल्यै मिठो व्यवहार नदेखाउने खगेन्द्...