एक तेह्र वर्षीया गाउँले किशोरीको ‘सुख-डायरी’
एक तेह्र वर्षीया गाउँले
किशोरीको ‘सुख-डायरी’
-भवन खत्री
२०७४
बैशाख १३ गते
प्यारी
संवेदना !
आज पनि तिमीलाई दुखका कुरा सुनाएर दुखी बनाउन्नँ
। आज तिमीलाई सुनाउन हिजोअस्तीकोझैँ दुखका कुरा छैनन् । एउटा खुसीको कुरा सुनाउँछु
। यो १३ वर्षे उमेरमा मैले पाएको ठुलो सफलता आज तिमीलाई भन्छु ल !
यो शैक्षिक सफलताको कुरा हो ।
यसपालिको परिक्षामा सबैभन्दा बढी अंक ल्याएर म
पहिलो भएँ । अब म सात कक्षामा गएँ । राहुल सरले स्कूल प्राङ्गणको माथिबाट सबै
कक्षाको रिजल्ट भन्दैहुनुहुन्थ्यो । सरले छ कक्षाको रिजल्टमा पहिलो भएको भनेर मेरो
नाम लिएपछि मलाई त्यो बेला यति खुसी मिल्यो कि नभनौँ । त्यो पूरा खुसी तिमीमाझ
व्यक्त गर्न सक्दिनँ । तिमी आफैँ कल्पना गर है !
म पहिलो भएकामा आज सर र साथीहरुले हेला गरेनन् ।
मलाई को को केटाहरुसँग जोडेर जिस्काइरहने साथीहरु मेरो मुखै परेनन् । सधैँ झगडाको
निहु खोज्ने सरला मेरा अगाडी कति मायालु देखिई । विमल सरको मलाई हेर्ने नजरमा
परिवर्तन देखेँ । सरले आज मलाई दलित केटीका रुपमा नभएर आम केटीलाई झैँ हेर्नुभो ।
मसँग कहिल्यै मिठो व्यवहार नदेखाउने खगेन्द्र सर देखेर झनै छक्क परेँ । उहाँले यति
मिठो व्यवहारमा बधाई र शुभकामना दिनुभो, म छक्क परेँ ।
मान्छेले सफलतामा मात्र अरुको साथ, सहयोग र सम्मान पाउने कुरा
मैले आजै बुझेँ ।
साँच्चै भन्दा आजको खुसीले मलाई न भोक छ, न निद्रा । दश
बज्दासम्म नसुतिबसेकी छु । आज त गिट्टी कुट्न पनि रमाइलो लाग्यो । मन फुरुङ्ग भएको
बेला त जस्तो दिक्कलाग्दो काम पनि सजिलो लाग्दो रहेछ । हिजोअस्ती कम्ता झ्याउ
लाग्दैनथ्यो किट्टी कुट्ने काम ! अँ, आज त कालीगाई पनि खुसी भई होली । मेरो खुसीले
गर्दा उसले पनि त निकै घाँस पाई ।
खुसीले गर्दा आज पढ्न मनै लागेन । सोचेँ –
पढ्नलाई यतिका दिन
छँदैछन् । पढाईमा सफलता पाएको दिन नपढौँ । भोलिदेखी स्कूलकै पहिलो हुनेगरी पढ्छु ।
आज धेरै अनौठा अनौठा विचार मनमा आए । धेरै काल्पनिक
बनेँ । मेरो कल्पनामिश्रित सोच थियो – अब म सात कक्षा पनि यसैगरी पहिलो भएर पास
गरिहाल्छु । आठमा पुग्छु । त्यसपछि कता जाने ? पल्लाघरे पदमको जसरी सहरमा पढ्न जान्छु ।
अनि त्यहिँ ठुली बन्छु ।
अँ त, मलाई सहर जान पनि सजिलै छ नि । आठ कक्षामा पनि
यसैगरी पहिलो भएँ भने अर्को स्कुल फेर्नै पर्दैन, सहर गएर जति पनि पढ्न पाइहाल्छु । सबै हेड
सरले मिलाइदिनुहुन्छ ।
हेड सर अरु सरजस्तो हुनुहुन्न । उहाँ महान मान्छे
हुनुहुन्छ । परोपकारी हुनुहुन्छ । उहाँको सहरमा ठुला अनि धनी मान्छेसँग चिनजान छ ।
चिनेका मान्छेसँग कुरा गरेर उहाँहरुको घरमा काम गर्दै पढ्न पाउनेगरी
मिलाइदिनुहुन्छ सरले । जसका लागि पढ्नमा राम्रो, इमान्दार र मिहिनेती
विद्यार्थी हुनुपर्ने हुन्छ । म गरिब विद्यार्थीलाई यस्तो सुविधा मिल्यो भने त
रमाइलै हुन्थ्यो ।
ठुली भएपछि के बन्ने भनेर पनि आज सोचेँ मैले ।
मैले साहित्यकार बन्ने सोचेँ । पहिला दादाले पढेको सरस्वती माविको कार्यक्रममा एक
जना ठुला मान्छेले भनेका थिए – ‘हामीले भविष्यमा के बन्ने भन्ने कुरा आफ्ना रुचि,
खुवी र क्षमता हेरेर
सोच्नुपर्छ ।’ मैले
तीँ मान्छेले भनेको आधारमा साहित्यकार बन्ने सोचेकी हुँ । तिमीलाई पनि त थाहा छ मेरा
रुचिका बारेमा । मेरा पढ्ने, लेख्ने सबै रुचि तिमीलाई भनिसकेकी छु ।
छ कक्षामा पहिलो भएको कुरा मेरो परिवारका कसैलाई
थाहा दिन पाएको छैन । सबै जना भारत गएको पनि तीन महिना भइसक्यो । आज ठुली फुपूलाई
चाहिँ सुनाएकी थिएँ । ममी, बुबा र दादालाई मात्र था’हुन बाँकी छ ।
हुन त तिमी पनि मेरो परिवारको एक सदस्य हौ । तिमी
देखिने नभए पनि मैले तिमीलाई मनमनै मेरी साथी मानिसकेकी छु । सबैभन्दा सुरुमा
प्यारी साथीलाई सुनाउन पाउँदा म धेरै खुसी छु । हुन त यो खुसी कान्छो भाईलाई
सुनाउन हुन्थ्यो तर ऊ बुझ्ने भएको छैन । सात वर्षकोले के बुझ्ला र ! मम्मीसँग भएको
सुनिल भाईले बरु बुझ्थ्यो !
बुबाममी र दादालाई भोलि फोन गरेर सुनाउँछु । ए… मोबाइलमा रुपैयाँ
पो छैन त ! उताबाट
गरेपछि मात्र कुरा हुन पाउने भो । अँ त, फुपूको मोबाइल मागेर गरे भइहाल्यो नि ! सबै अहिले काममै
हुनुहुन्छ होला । दादाको त राति ११ बजे छुट्टी मिल्छ । मलाई ममीसँग धेरै कुरा गर्न
मन लागिराखेको छ । बुबासँग बोल्न त्यति सक्दिनँ । यो खुसीको कुराले बुबा पनि खुसी
हुनुहोला ।
आजलाई यत्ति भनेँ । भोलि बिहानै फुपुको घर गई
ममीलाई फोन गरेर खुसीको खबर सुनाउँछु । भोलि सत्या दिदीसँग दाउरा लिन पनि जाने
कुरा छ । भोलि गाईलाई पनि घाँस काट्न नपर्नेगरी वनै लगेर चराउँछु । साँझ आएर थोरै
धान कुट्नुछ । अहो ! धेरै
काम पो छ त भोलि ।
ह्या ! भोलिको काम आजै सम्झेर दुखी किन बन्नु म !
पर्सी त नयाँ कक्षाको किताब मिल्ने दिन । नयाँ
किताबको बास्ना लिन आतुर छु । अनि आतुर छु पहिलो भएको वर्षको पहिलो कक्षा लिन ।
सायद अबदेखी मैले पहिलेजस्तो हेयको डरले बाँच्नु
पर्दैन । साथीहरुले मलाई जिस्काउन छोड्लान् । सर भएर पनि दलित भनेर शैक्षिक विभेद
गर्नेहरुको व्यवहार सुधारिएला । विमल सरको अनावश्यक पिटाई अब मैले सहनु नपर्ला ।
सानो, अपरिपक्क
र अबुझ भन्नेहरुसँग म बोलि फर्काउन सकुँला । सायद भोलिदेखी म आजझैँ सुखका दिन
भोग्न पाउँला ।
यहि सुखद भविष्यको कल्पना सँगै आजलाई
शुभरात्री भन्छु !
तिम्री साथी
शोभा नेपाली !
-२०८१ असोज २३-
Comments
Post a Comment