यात्रामा क्याबिनको सुताई

यात्रामा क्याबिनको सुताई मध्यरात । बाजुराबाट धनगढी गुडेको बस अहिले दिपायलभन्दा अलि अघि वनैवनतिर लाग्यो । यात्रु सब मस्त निन्द्रामा छन् । उनीहरू आ-आफ्नो सिटमा मस्त छन् । म भने क्याबिनको भुँइमा लमतन्न छु । सामान्यतया क्याबिन चालक/सहचालक बस्ने ठाउँ हो तर यहाँ फरक छ । क्याबिनमा दुई चालकसहित हामी दस जना अटिनअटी अटेका छौँ । एक चालक राति चलाउन निद्रा पुर्याउँदैछन् । अहिले चलाइराखेका चालकको सिट पछाडी म छु । दाजु मेरो समेत सिट ओगटेर बल्लबल्ल निद्रालाई आराम दिन सफल छन् । दाजुकै तल, भुइँमा म छु । भुइँ तातो तातो छ । फोहोर कति छ छ । अध्यारोले छोपेको छ । देखिँदैन । तातेको इन्जिन र जुत्ता गन्हाएर उग्र छ । ऐया ! केले हो, बिजिरहेछ ! हेर्नुस्, यस्तोमा म छु ! आफ्नै जुत्ताको सिरानी छ । पानी परिराखेको वातावरणसँग बेजोड कुदिराखेको बसको घर्षणले चिसो हावा फाल्छ, बेलाबेला । त्यसले सायद सबैभन्दा सुरुमा मैलाई छुन्छ । घरिघरि यति सानो ठाउँमा निसास्सिन्छु झै लाग्छ । यो यति सानो ठाउँ छ, जसमा खुट्टालाई तन्काउँन मात्र मिल्छ, घुमाउँन मिल्दैन । तर झट्ट हेर्दा यो खुला आकाशको सुताईझैँ लाग्छ । म सुतेको भन...