यात्रामा क्याबिनको सुताई

 यात्रामा क्याबिनको सुताई 




मध्यरात । बाजुराबाट धनगढी गुडेको बस अहिले दिपायलभन्दा अलि अघि वनैवनतिर लाग्यो । यात्रु सब मस्त निन्द्रामा छन् । उनीहरू आ-आफ्नो सिटमा मस्त छन् । म भने क्याबिनको भुँइमा लमतन्न छु ।


सामान्यतया क्याबिन चालक/सहचालक बस्ने ठाउँ हो तर यहाँ फरक छ । क्याबिनमा दुई चालकसहित हामी दस जना अटिनअटी अटेका छौँ । एक चालक राति चलाउन निद्रा पुर्याउँदैछन् । अहिले चलाइराखेका चालकको सिट पछाडी म छु । दाजु मेरो समेत सिट ओगटेर बल्लबल्ल निद्रालाई आराम दिन सफल छन् । दाजुकै तल, भुइँमा म छु । 


भुइँ तातो तातो छ । फोहोर कति छ छ । अध्यारोले छोपेको छ । देखिँदैन ‌। तातेको इन्जिन र जुत्ता गन्हाएर उग्र छ । ऐया ! केले हो, बिजिरहेछ ! हेर्नुस्, यस्तोमा म छु !


आफ्नै जुत्ताको सिरानी छ । पानी परिराखेको वातावरणसँग बेजोड कुदिराखेको बसको घर्षणले चिसो हावा फाल्छ, बेलाबेला । त्यसले सायद सबैभन्दा सुरुमा मैलाई छुन्छ । घरिघरि यति सानो ठाउँमा निसास्सिन्छु झै लाग्छ । यो यति सानो ठाउँ छ, जसमा खुट्टालाई तन्काउँन मात्र मिल्छ, घुमाउँन मिल्दैन । तर झट्ट हेर्दा यो खुला आकाशको सुताईझैँ लाग्छ ।


म सुतेको भनौँ कि पल्टेको ? सायद यस्तो पल्टाईलाई सुतेको नभनिएका ! म पल्टिरहेछु । सुतेको होइन । यसोगरी भनौँ, यहाँ म र चालक बाहेक सब सुतिसके ।

जबजब बस एकछिन रोकिए जस्तो हुन्छ, निसासिने डरले सर्पलेझैँ टाउको उठाउँछु । झ्यालतिर हेर्छु । अचम्म देख्छु, यो बस र अर्को बसका चालकबिच सुखद संवाद । देख्छु, उनीहरुबीचको यात्रा संवाद । 


मेरोवाला-"कति छन् मान्छे ?"

अर्कोवाला-"छैन, आधा खाली छ ।"

म मनमनै -"यसमा अटेकै छैनन्, त्यो आउनेमा चाहिँ..!"


मेरोवाला-"ल, ठिकै छ, शुभयात्रा !"

अर्कोवालाबाट उस्तै जवाफ आउँछ ।


सोच्न पुग्छु, संसार आखिर संवादमै त अडिएको छ । संवादहिन संसारको कल्पना पनि असम्भव छ ।


अहो ! केको उज्यालो त्यो ? ए…, अर्को बस रोकिएको रहेछ । के भएछ ? लौ, यात्रु त बाहिर खुल्ला आकाशमा पो छन् त । कस्तरी सुतेका !! ए ए पाङ्ग्रोले हावा खाएछ !


लामो यात्रामा यसरी सुतेको पहिलो अनुभव हो । यस अघिका पाँच यात्रामा यस्तो भोगिनँ । ती सब सिटमा बसेर गरिएका यात्रा थिए । क्याबिनको यात्रा सजिलो त छैन तर उति कठिन पनि भन्दिनँ । मलाई एक दृश्य हेर्न मन छ । यी चालक अंकलले सुतिराखेको अर्को चालकलाई कसरी ‘ल, अब तेरो पालो’ भन्दा रैछन् । यो हेर्न मन छ ।

 

-२०८१ साउन १३ गते, मध्यरात -

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा