एक डायरी : अविराम लेखनयात्रा

 एक डायरी : अविराम लेखनयात्रा




प्यारी संवेदना !

 

मलाई थाह छ, म लेख्न सक्छु । केही लेख्दा खुसी हुन्छु । तर जहिल्यै लेख्न सक्ने अवस्था हुँदैन । त्यो मेरो मनस्थितिमा भर पर्छ ।

 

आजभोलि मेरो मनस्थितिमा खलबल छ । ममा राम्रोभन्दा नराम्रो बढी छ । मलाई भन्दा पनि मेरो मनलाई भनौँ कि संवेदना ? वास्तविक म र मेरो मनस्थिति भिन्न हुन् ।

 

मबाट एकाग्रता घट्दै छ । यसले गर्दा मेरो सिर्जनात्मकतामा पनि कमी आएको छ । एउटै काम डुबेर गर्दा कम आनन्द आउँदैन । तर यस्तो आनन्द कम लिन पाएको छु ।

 

मन चञ्चल भइरहन्छ । चलिरहन्छ । प्रायः विचार आइरहन्छन्, मष्तिष्कमा । विचार थोरै मात्र चाहिने आउँछन्, धेरै विगत र भविष्यमा बग्छु । विगतका दुर्घटना र भविष्यको अनिश्चितताबारे विचार बढि छन् । ज्यादातर समय अधिक विचारमै जान्छ । जस्तो; खाना खाइरहँदा, भाँडा माझिरहँदा, बाटोमा हिँडिरहँदा या अरु फुर्सदको कुनै पनि क्षण । यो बुद्धिमानको व्यक्तित्व हो भन्ने पनि सुनेको छु । यो कति साँचो हो, संवेदना ?

 

म त जान्दिनँ !

 

यद्यपी एकचित्त रहन हरक्षण प्रयासरत रहन्छु । मन र शरिरका विषयमा धेरै प्रवचन सुनेको छु । तिनको स्वभाव बुझेको छु । मनोविकारबाट मुक्त हुने उपाय पनि जानेको छु । यो मैले युट्युब, फेसबुक र रेडियो आदि माध्यमबाट थाहा पाएको हुँ । मेरो युट्युबको गृहपृष्ठभरी तिमीले हेर्यौ भने त्यहाँ कला, साहित्य, संगित र पत्रकारिताभन्दा अध्यात्मिक भिडियो धेरै पाउनेछौ । यसबाट मैले आदर्शका कुरा सिकेको छु । आदर्श सिकेँ भनौँ कि जीवन जिउने कला वा सहज जीवन बाँच्ने उपाय सिकेँ भनौँ ? जे भनौँ । मान्छे, उसको अस्तित्वको औचित्य, लक्ष्य, संघर्ष, सफलता, स्वभाव, सपना, उमेर, जीवनवृत्ति, धारणा, मान्यता, रुचि, खुबी, शोख सन्तुष्टि  लगायतका आधारभुत कुरा जानिसकिएको छ ।

 

जान्नु सानु कुरो होइन । यो भन्दै गर्दा म अहमी नदेखिऊँ !

 

तर जानिएको मात्र हो, जीवनमा कुन कुन क्षण लागु हुनेछन्, थाहा छैन । प्राय लागु गर्ने प्रयास रहन्छ । कुनै कुरा यस्ता पनि हुन्छन्,  जुन लागु गर्न कठिन हुने गर्छन् ।

 

मनोविकारबाट बच्न मनले खाएको काम-कुरोमा व्यस्त रहनु एउटा उपाय हो । म हरसम्भव यो पनि गर्छु । अनि, मोबाइल तथा इन्टरनेटको कम र रचनात्मक प्रयोग यसबाट बच्ने अर्को उपाय हो । तर अधिकतम समय यसकै निकट हुनुपर्ने परिस्थिति पनि मन-तन दुबैका लागि घातक छ । तर संवेदना, यो मेरो मोबाइल मोहहोइन, बाध्यता हो । आधुनिक युगका (अझ अत्याधुनिक युगका) युवा/विद्यार्थीको बाध्यता हो । मैले कोष्ठकमा अत्याधुनिक शब्द थप्नुको कारण के भने आजको युग एआईमा प्रवेश गरिसकेको छ । यो हिजोको सूचनाको रफ्तारभन्दा तेज छ । सहज छ । बहुकार्यिक छ । छन्डैछन्डै मान्छे जस्तो लाग्छ यो एआई मलाई । यसको विकासले समाजमा विकार बढी देख्छु म त ।

 

इन्टरनेट पुस्तामा जन्मनुको बेफाइदा !

 

निश्चय, मेरो एकाग्रतामा कमीको कारण यहि हो । यानि इन्टरनेट पुस्ता ।

 

अनि अर्को … खैर, योबारे धेरै नभनौँ क्यारे !

 

अनेकाग्रतालाई सुरुको वाक्यसँग जोड्छु ल ? यतिका चर्चा त्यसकै लागि त गरिरहेछु ।

 

यही कारणले म डायरी  त्यति डुबेर, सविस्तार, परिमार्जित शैलीमा लेख्न सक्दिनँ । संवेदना, तिमीलाई थाहा छँदैछ, मैले डायरी लेख्न थालेको वर्षदिन भइसकेको छ । तिमीलाई अचम्म लाग्ला, आजसम्म एकदमै थोरै दिन मात्र मैले डुबेर, शैली मिलाएर सविस्तार लेखेँ । र आफ्ना संवेदना मात्र लेखिनँ, परिपक्व विचार पनि लेखेँ । तर धेरै दिन नियमितताका लागि मात्र लेखेँ । जसमा दिनका विवरण बाहेक केहि छैन ।

 

डायरी लेखनमा मेरो मौलिक शैली छ । शब्द चयनको शैली पनि आफ्नै बनाएको छु । तिमीले जानेकी छ्यौ, दैनिक डायरी लेख्छु । हो, पाँच शब्द मात्र किन नहोस्,‌ म लेख्छु । मलाई हेर त संवेदना,‌ तिमीलाई कति मन पराउँछु !

 

तर मक्ख नपर, कहिलेकाहीँ त तिमी मेरो लागि सबैभन्दा खराब पात्र पनि हुनुपर्छ । तिम्रो खराब रुप भनेकै तिमीले दिने खराब खालका संवेदना हुन् । मलाई मभित्र खराब होइन, सदा ऊर्जा दिने संवेदना रहुन् भन्ने लाग्छ । हत्तेरिका ! म कता बगेँ ?

 

अँ, डायरी ।

 

मेरो साहित्य अध्ययनको यो डेढ वर्षमा दुईको डायरी पढेँ । एक, बिपीको । अर्को, विदेशीको डायरी । बिपीको जस्तै बहुचर्चित एक किशोरीको डायरी । यसलाई म पछिल्लो समय आरआर-लाइब्रेरीमा पढिरहेछु । मैले नेपालीमा पढिराखेको अनुवादित यो किशोरीको डायरी विश्वका पचासौं भाषामा छ रे । पुस्तकबारेको मेरो अनुसन्धानले भन्छ - यो पुस्तक बाइबलपछि बढी बिक्नेमा पर्छ । यसले मलाई खुब तानिरहेको छ ।

 

डायरीकी पात्र हुन् एन फ्रेङ्क, जो यहुदी परिवारकी हुन् । दोस्रो विश्वयुद्धताका यहुदीहरु हिटलरबाट प्रताडित थिए । त्यही प्रताडनाबाट बच्न एनको परिवार नेदरल्यान्डस्को राजधानी आम्सटर्डमको एक गुप्त भवनमा लुक्छ । त्यहाँ बस्दा एनले यो लेखेकी हुन् । युद्धकालीन अटेसमटेस र निषेधका बीचमा सन् १९४२ जुन १२ मा एनले लेख्न सुरु गरेको डायरी सन् १९४४ अगस्ट १ मा गएर अन्त्य भएको छ । 

 

उनको लेखनशैली र परिपक्वता बुझेर छक्क छु । उनी १४ वर्षकी छिन् तर खुब बुझ्ने । उनी सोचेर शैलीमा सविस्तार लेख्छिन् । उनी किशोरावस्थाका संवेदनादेखी सांसारिक संवेदना लेख्छिन् । कलिलै छिन् तर पनि देशको अनि परिवारको दुर्दशाबारे जानकार छिन् ।

 

यहाँ अचम्म के छ भने डायरीकी पात्र र ममा धेरै समानता छन् । के यो संयोग मात्र हो, संवेदना

 

यद्यपी एन र मेरो खास परिस्थितिमा अनि उमेरमै पनि भिन्नता छ । 

 

पुस्तकको २४० पेजमा पुग्दै गर्दा अब ८० पेज पढ्न बाँकी छ । २४० पेजसम्म आइपुग्दा लागिरहेछ - यो पुस्तक अलि छिटो किन पढ्न पाइनँ ?

 

तर जे हुन्छ, त्यो सही समयमै हुन्छ भन्ने पत्रकार टिकाराम यात्रीको मतसँग म सहमत छु ।

 

अँ, पत्रकार शब्द लेख्दै गर्दा किशोरीको डायरीमा आज पढेको कुरो याद आयो ।

 

उनको डायरीको एउटा प्रसंग  मैले मोबाइलमा कैद गरेर ल्याएको थिएँ, त्यो हेर, ल ! लेखेकी छिन् -अब मैले पढ्नैपर्छ । ज्ञानको दायरा बढाउन र आफूलाई व्यस्त राख्न मैले मेहनत गरेर पढ्नुपर्छ । म पत्रकार बन्न चाहन्छु । मलाई थाहा छ, म लेख्न सक्छु । मैले लेखेका केही कथा राम्रा छन्, 'गुप्त भवन' बारे मैले लेखेको विवरण रमाइलो छ। म राम्रो लेख्छु भनेर पुष्टि गर्ने थुप्रै कुरा डायरीमा पनि छन्, तर ममा वास्तविक प्रतिभा छ कि छैन, त्यो देखिन बाँकी नै छ।

 

यहाँ एनको मनमा पत्रकार र साहित्यकार बन्ने हुटहुटी छ, जो ममा पनि त्यतिकै व्यग्र छ । 

 

“… कहिल्यै चित्र कोर्न नसक्दा म धेरै पछुतो मान्ने गर्थे, तर लेख्न सक्छु । यो सन्तोष लिने विषय हो। मसँग अखबारमा लेख्ने वा किताब लेख्ने प्रतिभा छैन भने पनि आफ्नै लागि त लेख्न सक्छु नि !

 

लेख्ने सीप उपहार दिएकोमा ईश्वरप्रति कृतज्ञ छु । लेखनले मलाई अभिव्यक्ति गर्न र आफूलाई विकसित तुल्याउन सम्भव बनाएको छ । लेख्दाखेरि म सबै कुराबाट मुक्त हुन्छु । मेरा दुःख गायब हुन्छन् । ममा नयाँ हिम्मत पलाउँछ ।तर, सबैभन्दा ठूला प्रश्न छ, म गतिलो कुरा लेख्न सकूली ? पत्रकार वा लेखक बन्न सकुँली ? लेखक बन्ने लक्ष्य छ । लेखेपछि म आफ्ना विचार, आदर्श र कल्पनालाई पुनः प्राप्त गर्न सक्छु ।

 

यहाँ एन आफु पत्रकार वा लेखक बन्नेमा र लेखनकलामा विश्वास गर्छिन् म पनि

 

“…म सफल हुनेछु, किनभने मभित्र लेख्ने प्यास छ ।

 

र ममा पनि त्यस्तै प्यास छ ।

 

अर्को दिनको डायरीमा पात्र एन आफ्नो सोखको बारेमा यस्तो लेख्छिन् -

 

मेरा असंख्य सोख र रुचि छन् । सुनेर छक्क नपर है ! मेरो पहिलो अभिरुचि हो, लेखन । तर, यसलाई सोख भन्न सकिएला र ? मेरो दोस्रो सोख हो, वंशवृक्ष । फ्रान्स, जर्मनी, स्पेन, बेलायत, अस्ट्रिया, रुस, नर्वे र हल्याण्डका राजपरिवारहरूको वंशवृक्ष किताब, अखबार र पर्चामा खोजिरहेकी हुन्छु ।

 

उनलाई संगीत मनपर्छ रे, मलाई पनि । उनलाई इतिहासमा रुचि छ तर गणितको हिसाबले दिक्क लगाउँछ रे, मलाई पनि ।

 

ल हेर त संवेदना मलाई मन परेको डायरी-पुस्तककी पात्र र ममा कति समानता छ ! हाम्रो रुचि, खुबी र लक्ष्य एउटै पो देखिन्छ त । यति मात्र होइन, मेरा कतिपय गुण वा व्यक्तित्व उनीसँग मिल्छन् । उनी आशावादी छिन् र सकारात्मक पनि । उनी आफु र आफ्ना व्यवहार क्रियाकलाप अरुका आँखाबाट हेर्न सक्छिन् । खुब आत्मसमीक्षा गर्छिन् । र यो सब मेरो व्यक्तित्वमा थोरबहुत छ । केहि थप्नु पनि छ ।

 

सायद यसैले मैले त्यो पुस्तक मनपराएँ । संवेदना, तिमी पनि पढ ल ? त्यो डायरी हामी हर किशोरकिशोरीले पढ्नुपर्नेछ । कतिले त पढिसके होलान् । नीजि विद्यालयको पाठ्यक्रममै पढाइन्छ रे ।

 

पढ्न नपाएका म जस्तै अरुलाई पढ्न म तिमी मार्फत आग्रह गर्छु ।

 

किनभने हामी युवा-युवतीले पुस्तकमा आफु पाउँनेछौँ । र डायरी लेख्न थाल्नेछौँ । आफ्ना जस्ता पनि संवेदना या भाव भन्न थाल्नेछौँ वा भन्न पाउँनेछौँ । र के थाहा आफ्ना मनका भाव भन्दाभन्दै भविष्यमा लेखक पो बनिन्छ कि ! लेखकै नबने पनि सुखी मान्छे चाहिँ बन्छौँ, अवस्य । मैले यसकै लागि लेख्न थालेको हुँ ।

 

आजभोलि लेख्ने मनस्थिति छैन । लामो लेख्नै सकेको छैन । भनेँ नि, एकाग्रता कम भएको छ । एकाग्रतामा कमी आउनुमा केहि अतिरिक्त उल्झन छन् । तिनबाट पनि टाढा रहेर अब एकाग्रता बढाउनुछ र अविराम लेखनयात्रामा निस्कनुछ ।

 

संवेदना, यहि प्रण गर्दै आजलाई बिदा माग्छु । भोलि भेट हुने नै छ । बिदा देऊ !

 

-आषाढ २६ गते-

 

 







Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल