कविता, हावा-जीवन
हावा-जीवन
-भुवन
अथर-
कसैको
जीन्दगीका पानाहरु
यो हावाले
पल्टाइरहेछ
तर
यो हावा
भरपर्दो छैन
यो
यस्तो हावा हो
जो
पढ्दैन, पल्टाइराख्छ
मात्र
यसको
पल्टाईमा
कुनै
समान दिशा छैन
न कुनै
समान गति छ
नियमितता
छैन
आकस्मिकता
छ
अनियमितता
र आकस्मिकताबिचै
यी
पानाहरु च्यातिन सक्छन्
र
भुँइको
छारोझैँ नचाइन सक्छन्
यहाँ एक
अचम्म भइरहेछ
हावाकै
गतिमा यी पाना
पल्टिरहेछन्
हावाकै
लयमा यी पाना
नाचिरहेछन्
यो हावा
यस्तो अनैतिक
र अराजक
छ
यसले यी
पाना नपढेर
वा नपल्टाएर
पर
हुत्याइदिन सक्छ
हुत्याएर
कुनै निर्जन ठाउँमा फालिदिन सक्छ
जहाँ यी
पानाहरुको कुनै काम हुन्न
हुत्याएर
कुनै भिडमा झारिदिन सक्छ
त्यहाँ
यिनको महत्त्व नै
महत्त्वहिन
हुन सक्छ
हुत्याएर
पानीमा पोखिदिन सक्छ
र पढ्नै
नसकिने
अस्पष्ट
पारिदिन सक्छ
हुत्याएर
कुनै बाटोमा मिल्काइदिन सक्छ
अनि
कसैले पढ्न सक्ला
वा
नपढ्न सक्ला
भन्न
नसकिन सक्छ
हुत्याएर
कुनै रुखका कापामा अल्झाइदिन सक्छ
आयु
रहेसम्म कापामै रहन सक्ला
आयु सकिए
सकिन सक्छ
हुत्याएर
यो टेबलको तल
खसाइदिन सक्छ
र यस्तो पनि हुन सक्छ-
त्यसपछि यी पानाकै
अस्तित्व हराउन सक्छ !!
-२०८१ माघ २९-
Comments
Post a Comment