यतिखेर मेरो गाउँमा

 यतिखेर मेरो गाउँमा 

-भुवन अथर 


यतिखेर मेरो गाउँमा

बसन्ती आएकी होलिन्।


गाउँ वरिपरि

पहाडसँग समानान्तर भएर

रङ्गीन गुराँसे रेखाहरू

कुनै सुन्दर स्त्रीका 

गलामा अर्पित मालाजस्तै 

बसेका होलान् लहरै।


खेतहरूमा, आँगनहरूमा, वनहरूमा,

गाउँलेका मनहरूमा

फूल्दै होलिन् मोहिनी गुराँस।


डाँडाहरूलाई वरिपरि राखेर,

गाउँलाई बीचमा पारेर,

परपरसम्म लगातार 

सुनाइरहेकी होलिन्

कोहिलीले देउडा गीत।


गुञ्जन थाले होलान्

गोठालाहरूका मन जोड्ने

जीवन बोल्ने 

वासन्ती भाकाहरू,

वनका लम्बेतान सुसेलीहरू ।


गोधुँली साँझतिर 

टाढा टाढाका बटुवाहरु

देउरालीमा बसेर

सुस्केराका बिसौनीहरुमा

जीवनका सारा बिरह बिसाउँदै होलान्


गरिबी, अशिक्षा र अभावले

सेकिएको गाउँको ढाडमा

वरपिपलले

आफ्नो छहारी छर्दै

शीतलता संचार गर्दै होलान्।


पानी पर्नुअघिको हतास बतास

गाउँका कुनाकुना,

रुखका पातपात,

अन्नका दानादानामा

दगुर्दै होला

पानी परेपछिको मौन हावा

सबैमा शान्ति भर्न जाँदो हो ।


रुखका काण्ड-काण्ड र पात-पातमा

पोतिँदै होला जीवनको हरियो रङ्ग,

रुखका कापामा

बन्दै होलान् ओतिने घर।


पहाडका भित्ताभित्रबाट

फुट्दै होलान् पानीका मुहानहरू

बाँझा गह्राहरूमा

फैलिँदै होलान् कैयन् सपनाका बिउँहरू

रित्तो गाउँका 

रित्ता घोडेटोहरूमा

डुल्दै होलान् खरायो र मृगहरू

बिहेको उत्सवहरूमा

नाच्दै-गाउँदै होलान्

पशु र पंक्षीहरू।


गाउँका भग्नावास

आफ्नो प्राचीनता बोल्दै होलान्,

भग्न इँटा-ढुङ्गाहरू

रुन छाडेर हाँस्न प्रयत्नरत होलान्,

किनकि 

गाउँमा बसन्ती जो आएकी छिन् ।


तल …

बगिरहेकी बुढीगंगा

घरि तल, घरि माथि गर्दै

उफ्रिँदै होलिन् यतिखेर

आफ्नो अस्थिर आयतनमा 

कुनै विरक्त-भाव नराखी

स्वाभाविकता स्वीकारेकी होलिन्।


गाउँले आमाहरू

फाटेका फेटा फेर्ने तयारीमा लागेका होलान्।

मेरी स्वर्गे आमा पनि

गाउँमै स्वर्ग देखेर

आएकी होलिन्,

यतिखेर बुबासँग प्रेम साट्दै होलिन्।


मेरी प्रिया पनि

मलाई सम्झेर

साँझपखको मन्द हावासँग

भन्दै होलिन्–

‘कस्तो जिस्केको!’


भाइबहिनीहरू

चर्को दिनभरको चर्को घाम 

अँगालोमा बोकेर

वनको शीतल ताप्न जाँदा हुन्

उनीहरूले ल्याउँदा हुन् साँझ परेपछि 

घरभरि पुग्ने वन-फलफूल।


यतिखेर जीवनदायनी काँडेतारमा

फलेका होलान् तिर्खुला ऐँसेलुहरु

काला भइसके होलान् काफल


बाल्यकालका तेह्र वर्ष

जोसँगै खेल्दै बितेथे

हिजोआज पनि 

हरेक वर्ष आउँदी होलिन् तिनै वसन्ती

यो वर्ष पनि मेरो गाउँमा 

वसन्ती आएकी होलिन् 


अहिले देख्दैछु–

वसन्तीका आसपास चहारिरहेछन्

मेरा बाल्यस्मृतिहरू:

कोहि माटो र खोलामा,

कोहि वनपाखामा,

रुखका ठाडा बाटामा,

भिरका चट्टाने बाटामा,

बालुवाका बगरमा,

पाँगा खेतका नहरमा,

हँसिया, हतौँडा, कोदाली र नाम्लोतिर।


उसो त यो समय

सुदुर उपत्यकामा पनि

बसन्ती आएकी छिन्,

तर लुप्त छिन्, देख्दिनँ।

वसन्तीलाई पनि

सायद यो सहरले 

आफ्नै कृत्रिम सुख र सौन्दर्यमा

छिपाइदिएको छ,

वा नचाहिँदो श्रृङ्गार गरिदिएको छ।


त्यसैले त मलाई 

मेरो गाउँकी बसन्ती

कयौँ गुणा सुन्दर लाग्छिन् 

हरेक याम यतिखेर

उनीलाई सम्झिरहन्छु …


सिंगो गाउँ र गाउँलेहरूलाई

संगालेर गाउँको परिसरमा

बसन्तीले

एउटा भव्य महोत्सव गर्दै होलिन्,

यतिखेर


यतिखेर मेरो गाउँमा

बसन्ती आएकी होलिन्।

२०८२ वैशाख १५ गते

Comments

Popular posts from this blog

कविता, हावा-जीवन

कविता कविले लेख्दैन -भुवन अथर