पीडा देखाइयो, मलम खोजिएन

 ekantipur मा पुष १७ गते प्रकाशित फिचर समाचार- 'महिनावारीमा झन् गह्रौं भारी'


पीडा देखाइयो, मलम खोजिएन 


आठ-दस वर्षको हुँदा म गाउँमै थिएँ । १४ वर्षमा राजधानी आएँ । आएको पाँच वर्ष पुगिसक्यो ।


‘महिनावारीमा झन् गह्रौं भारी’ शीर्षकको फिचर समाचार पढेपछि मैले म ८-१० वर्ष हुँदाको बाजुराको यथार्थ सम्झिएँ । विशेषगरी आमा (वा जो पनि) महिनावारी हुँदा उहाँले भोगेको पीडा, सहेको सकसता र विवशताको साक्षी म पनि हुँ ।


आमाले एकदिन भनेको सम्झिएँ, “दुई कट्टा चामल आन्नाछन्, (दुई बोरी चामल ल्याउनुछ) । तँ खाना पकाई, म लिई आउँदोबयाँ, (तिमी खाना पकाइराख, म लिएर आउँछु) । भाउलाई पन हेरेल्नु, (भाईको पनि हेरचाह गर्नु) !”


त्यसबेला बुबा र दाजुहरू भारत हुनुहुन्थ्यो, कामको लागि । घरमा आमा, आन्टी, फुपूहरू (महिला) भाइ र म (बच्चा) मात्र थियौँ । आज अधिकांश नेपालीको नियती ऊबेलाको मेरो जस्तै छ, घरमा महिला, वृद्ध र बालबच्चा, परदेशमा बुबा र युवा । जे होस्, आमा त्यस्तो अवस्थामा पनि खट्नुहुन्थ्यो जुन अवस्थामा महिनावारीले शिथिल र कमजोर हुनुहुन्थ्यो । यस्तोबेला खट्न कम्ता साहस चाहिँदैन ! आमा तल बल्देबजारबाट

त्यति ठाडो उकालोमा ५० किलो चामलको भारी बोक्नुहुन्थ्यो । त्यो साहस सायद असल आमाको भूमिका दियो, सन्तानप्रतिको जिम्मेवारीले दियो, बाध्यताले दियो र दुर्गम जीवनको दुर्भाग्यले दियो ! सुगम सहरका भर्खरका युवतीसँग ४० कटेकी मेरी आमाको जस्तो साहस कहाँबाट हुनु !? कहाँबाट जुटाउनु महिनावारीका बेला त्यत्रो बल र साहस !


आमा दिनरात नभनी, सन्चो बिसन्चोको पर्वाह नगरी, शरीरको पीडा शरीरमै र मनको पीडालाई मनमै राखेर हाम्रै लागि खट्नुहुन्थ्यो !


समाचार फिचरमा पाँच पात्र छन् । ४१ वर्षीया कृष्ण थापा, ३९ वर्षीया रामकुमारी नेपाली, ४२ वर्षीया धन बुढा, ३५ वर्षीय चन्दा भार र धनसरा बुढा, जो दैनिक, अझ महिनावारीका बेला गह्रौं भन्दा गह्रौं भारी बोक्न विवश छन् । पात्र सुर्खेत, अछाम र बर्दियाका हुन्, पश्चिम तथा सुदूरपश्चिमका । छाउपडी प्रथाको ठूलो हिस्सा पश्चिम नेपालमै छ । देशका अरु क्षेत्रका तुलनामा महिलाले भोग्नुपर्ने पीडा पनि त्यतै छन् । महिला हिंसा त्यतै छ, विभेद त्यतै छ र महिनैपिच्छे महिनावारीसँग जुध्नु पनि त्यतैका महिलाले पर्छ । यतिसम्म कि महिनावारी हुँदा प्रयोग हुने साधन ‘सेनिटरी प्याड’ पनि पाउँदैनन् । सरकारले यसैका लागि भनेर कयौं लगानी गर्छ लगानीको रकम स्थानीय सरकारले पाउँछ पनि तर कहाँ जान्छ त्यो रकम ? 


कसले पाउँछ प्रतिफल ?


सायद तिनैले पाउँछन्, जसले कमिसननीति अँगालेका छन् । तिनले पाउँछन्, जो राजनीतिको सट्टा कमाउनीति अपनाउँछन् । खैर, तर यस्तो राजनीतिक खेलको कुरा छैन फिचरमा ।


फिचरमा पश्चिम नेपालका महिलाहरूले कसरी गुजार्छन् महिनावारी भन्ने विषय छ । जहाँ पीडासिवाय केही छैन !


सुर्खेतकी ४१ वर्षीया कृष्ण थापा आफू ४० किलो पनि छैनन् तर ५० किलोको भारी बोक्नुपर्छ । महिनावारीका समय घरमा काम नहुने (गर्न नपाइने) भएकाले कहिले वनतिर घाँस-दाउराको भारी लिन धाउँछिन्, कहिले पचासौं किलो चामल बोकेर ल्याउँछिन् ।


कृष्णा मात्र होइन, सुर्खेतकै बराहताल-३ की रामकुमारी नेपालीको जीवनमा पनि काम मात्रै छ, आराम गर्ने ठाम छैन । गाउँमा पुरुष कोही छैनन्, भारतमा मजदुरी गर्छन् । गाउँमा उनी जस्तै महिला मात्र । सारा काम महिलाले नै भ्याउनुपर्नेछ । रामकुमारीले पटकपटक ५० देखि ६० किलोको भारी बोकेर उकाली-ओराली गर्नु परिरहेको सुनाउँछिन् । त्यसबाहेक हरेक दिन तीन-चार गाग्री पानी ओसार्नुपर्छ उनले ।


धनसरा बुढा र धना बुढाको दैनिकी पनि भारी बोकेर बित्छ । महिनावारीको बेला त झन् मुख्य काम नै भारी बोक्ने हुन्छ ।


यसरी महिनावारीको समयमा आराम गर्न पाउनुको सट्टा झन् गह्रौं भारी बोक्नुपर्ने विषयलाई प्राथमिकता दिएर ‘महिनावारीमा झन् गह्रौं भारी’ शीर्षकको फिचर समाचार तयार गरिएको छ । यो दीपेन्द्र बडुवाल, मनोज पौडेल र मेनुका पौडेलको संयुक्त रिपोर्टिङबाट तयार पारिएको हो ।


यहाँ फिचर समाचारको कमजोर पक्ष के देखिन्छ भने - समाचारमा पश्चिम नेपालका महिलाका पीडा मात्र देखाइएको छ । त्यहाँ सेनेटरी प्याड नपाएको, किन्न नसकेको कुरा छ तर त्यस समस्याबारे स्थानीय सरकार वा कसैलाई खबरदारी गरिएको छैन । पीडा देखाउने काम मात्र होइन, मलम पनि खोज्नुपर्थ्यो । तर, त्यो देखिएन । त्यसबारे स्थानीय स्वास्थ्य संस्थासँग पनि केही सहकार्य हुनुपर्ने हो । तर, छैन, देखिदैन । यदि यो समस्या स्थानीय स्वास्थ्य संस्थालाई सुनाइएको भए सुनवाई हुन्थ्यो कि !(?)


लुम्बिनी प्रदेश सरकारले निजामती ऐनमा महिला कर्मचारीलाई महिनावारीका समय बिदाको व्यवस्था गरेको छ । ऐनले महिला कर्मचारीको हकमा यस्तो व्यवस्था गरिरहँदा सामान्य महिला भने महिनावारीकै बेला गह्रौं भारी बोक्नुपर्ने नियतिबाट गुज्रिनु परेको छ। त्यसैले यो व्यवस्थाले विभेद भने पक्कै गरेको छ ।






Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल