विदेश +२ पछि हैन…
समाचार पठनानुभूती - ‘सेतोपाटी’ मा माघ ११ मा प्रकाशित ‘काम गर्दै पढ्ने सपना बोकेका क्यानडा पुगेका विद्यार्थीको बिचल्ली’ शीर्षकको फिचर समाचारमा आधारित।
विदेश +२ पछि हैन…
१० बजे सुतिसक्ने बानी मेरो। बिदाको कामको चापले यतिन्जेल नसुतिबसेको छु। पौने ११ बजिसक्यो। काम गर्दैछु। पढ्दै छु भनौँ न! पढ्दैछु भन्दा पनि लेख्दैछु। पढेर त भर्खरै सिध्याएँ। सिध्याएर लेख्ने काम थालेको छु। भर्खरै पढेको थिएँ ‘सेतोपाटी’को समाचार स्टोरी। यही नै स्टोरी किन पनि पढेँ भने स्टोरी अक्षर काकाको थियो। अक्षर काका अर्थात् रामनाथ खनालबारे सुरुकै ‘समाचार समीक्षा’मा लामै अनुच्छेद लेखेको छु। आज उनको बखान भन्दा पनि स्टोरीकै बखान लेखन सुरु गर्छु। अँ साँच्ची, त्योपूर्व स्टोरीको शीर्षक सुन्नुहोस्- काम गर्दै पढ्ने सपना बोकेका क्यानाडा पुगेका विद्यार्थीको बिचल्ली। ‘प्लस टु’ पास गर्ने बित्तिकै छोराछोरीलाई नपठाउनुस् क्यानडा- शीर्षकको उपशीर्षक यो छ । स्टोरी आजकै (पुस ११) हो।
यो स्टोरी तिनै नेपाली विद्यार्थीको हो, जो क्यानडामा काम गर्दै र पढ्दै गरिराखेका थिए । क्यानडाले आफ्नो आप्रवासन नीतिमा थप कडाई गरेपछि नेपाली विद्यार्थी बिचल्लीमा परेका हुन् ।
‘काम गर्दै पढ्ने र पढाइका लागि पैसा जोहो गर्ने उद्देश्यले क्यानडा गएका विद्यार्थीहरू अहिले अप्ठ्यारोमा पर्न थालेका छन्।’ स्टोरीको सुरुवात यसरी हुन्छ।
स्टोरीको सुरुवाती अनुच्छेद अर्थात् आमुख पढेपछि अझ खुल्दुली भयो। किन, कसरी, के लगायत ‘क’ आरम्भी प्रश्न मनमा उठ्यो। जसै पढ्दै गएँ, एकएकको उत्तर आयो।
अधिकांश नेपाली युवा ‘प्लस टु’ पछि उच्च शिक्षाको बाटो होइन, विदेशको बाटो ताक्ने चलन चलिरहेछ नेपालमा। ती विद्यार्थी पनि त्यसै लहडमा गएका थिए। क्यानाडामा ‘पढ्दै कमाउँदै’ का लागि गएका उनीहरु आफ्नालाई त परको कुरा आफैँलाई पढ्न समेत आर्थिक जोहो गर्न नसक्दा विभिन्न समस्या सामना गरिराखेका छन्। कोही अलपत्र छन्, कोही चरम आर्थिक संकटका कारण सडकमै दिनरात काट्दै छन् र यतिसम्म कि मानसिक समस्याका कारण आत्महत्याको प्रयास गर्ने जस्ता समस्या उनीहरुले सामना गर्नुपरेको छ
स्टोरीमा पहिचान नखुलाइएका चार पात्र छन्। हरिस (नाम परिवर्तन) लाई अलपत्र अवस्थामा बिचल्ली थिए । उनलाई त्यहाँका दातृ निकायले उद्दार गरी नेपाल ल्याइएको छ। आत्महत्याको प्रयास गर्न लागेका क्यानडाकै ओन्टारियो कलेज पढ्ने एक विद्यार्थीलाई धन्न साथीहरुले देखेछन् र तत्काल उद्धार भो! आफैँले कलेज फी तिर्न नसकिराखेको बेला यताबाट आफन्तहरूले ऋणबारे सम्झाइदिँदा उनी मानसिक रुपमा विक्षिप्त थिए। कोही लागुपदार्थ दुर्व्यसनमा फसेका छन् भने कोही अपराध गरेर हिरासतमा छन् ।
यी र यस्ता कैयौँ नेपाली विद्यार्थीलाई गैरआवासीय नेपाली सङ्घ, क्यानडाले उद्धारको काम गरिरहेको छ। नेपालबाट गएका मध्ये ३० प्रतिशत मात्र त्यहीँ ‘सेटल’ हुने, बाँकी बिचल्लीमा पर्ने गरेको संघका अध्यक्ष माधव दुलालको भनाइ छ।
नेपाली विद्यार्थी यसरी बिचल्ली हुनुको कारण एक कारण हो क्यानडाले आप्रवासन नीतिमा कडाई गर्नु। उसले यो वर्षबाट आप्रवासी विद्यार्थी नीतिमा कडाई गरेको हो।देशमा बेरोजगारी समस्या बढेकाले क्यानडाले यस्तो कडाई गरेको हो नीति परिवर्तनसँगै क्यानडाले अब वर्षमा ३ लाख ६४ हजार नयाँ विद्यार्थीलाई मात्र भिसा दिनेछ।
परिमार्जित नीतिले नेपाली मात्र होइन अन्य देशका विद्यार्थी पनि मारमा छन् तर अरुको तुलनामा नेपालीले अझ अप्ठ्यारो बेहोर्नुपरेको छ। अधिकांश विद्यार्थी +२ सकेर त्यहाँ पुगेका छन्। नयाँ नीतिअनुसार स्नातक सकेर त्यहाँ गएकालाई मात्र कामदार भिसाको सुविधा दिने हुँदा +२ पछि गएकालाई अफ्ठेरो भएको हो।
सेतोपाटी लेख्छ- ‘पढ्न जाने विद्यार्थीका श्रीमान वा श्रीमतीले कामदार भिसा पाउने हुँदा नेपालबाट दम्पती नै क्यानडा जाने चलन बढ्दो थियो।’ धेरै नेपाली परिवार यसरी नै त्यहाँ गएका छन्। सेतोपाटी अघि थप्छ- ‘तर अब स्नातक उत्तीर्णले मात्र यस्तो गर्न पाउनेछन्।’
औसतमा १२ सकेपछिको उमेर १९ या २० हुन्छ। जस्तो म। १९ वर्ष छु। यो भनेको पुरा जीवनको एक-चौथाई मात्र हो। एक-चौथाई उमेरले जीवन बुझ्न कठिन छ। सांसारिक हुन सकस छ। यो उमेरले न आफू बुझेको हुन्छ, न समाज, उसले न सामाजिक हुन नै सिकेको हुन्छ। सिके/बुझेका होलान्, थोरै। थोरै मध्येमा म पनि एक हुँला कि! खैर, भन्न खोजेको, यति सानैमा काँधमा ऋण बोकेर विदेशिनुपर्ने हाम्रो बाध्यता छ, युवालाई। तर, सरकारले न पढाइ राम्रो दिन्छ, कमाइ (काम)!
यो दुवैका लागि गएका थिए उनीहरू क्यानाडा।
उनीहरू प्लस टु सकेर उच्च शिक्षा त्यही काम गर्दै गर्ने भनेर गएका थिए। तर, जाँदा उनीहरूसँग न कुनै सिप थियो, न अनुभव । ‘कन्सल्टेन्सी’ले राम्रो गाइड गर्नुपर्थ्यो उनीहरूलाई। क्यानाडाका बारे बुझाउनुपर्थ्यो, राम्रा र नराम्रा दुवै पक्ष। नेपालजस्तो सुहाउँदो वातावरण त्यहाँ छैन, धेरै चिसो मात्र हुन्छ। यी र यस्ता थुप्रै विषयमा राम्रो गाइड नपाएर धेरैले दुख पाएकाे सुनिन्छ। संस्था चलाउनकै लागि मात्र खोलिएका केहीले राम्रा पक्ष मात्र देखाई लोभ्याउने गरेको पाइन्छ।
त्यहाँ कमाइ र पढाइलाई सँगसँगै लाने भनेर गएका उनीहरु ‘न घरको, न घाटको’ स्थितमा छन् । अर्थात् न कमाइ छ, कमाइ नभएपछि पढाइ कहाँ!? कमाइ भनेको भाषा जानेर मात्र हुँदैन, भूगोल बुझेर मात्र हुँदैन, सैद्धान्तिक ज्ञानले मात्र हुँदैन। त्यसका लागि व्यवहारिक ज्ञान र सिपहरु चाहिन्छन्। क्यानाडा पुगेका प्रायमा यो नहुँदा झन् अफ्ठेरो छ।
१२ कक्षा पास गरेपछि विद्यार्थीलाई विदेश पठाइहाल्ने सोच अभिभावकले त्याग्नुपर्छ । डिप्लोमा अध्ययनका लागि विदेश नै पठाउने भए सीप सिकेर र कुनै एउटा काममा दक्ष बनाएर मात्रै पठाउनुपर्छ।
क्यानडामा दुःख पाउनेमा नेपाली विद्यार्थीहरू नै बढी छन्। निश्चित खर्च लिएर पुगेका उनीहरू त्यहीँको रोजगारी र आम्दानीमा भर परेका हुन्छन्। वैदेशिक अध्ययनका लागि क्यानडा पुगेका धेरे देशका विद्यार्थीको जिआइसी बीमामार्फत् पढाइ अवधिभरका लागि खर्चको बन्दोबस्त हुन्छ। पढाइ र बसाइ खर्च जुटाउनुपर्ने ताप उनीहरूलाई हुँदैन। नेपालले पनि यही नीति अनुसरण गर्नुपर्छ। नत्र प्लस-टु उत्तीर्ण भएकालाई वैदेशिक अध्ययनमा जान अनुमति दिने परिपाटीमा पुनर्विचार गर्नुपर्छ। क्यानाडाले त स्नातक सकेकालाई मात्र कामदार भिसाको दिने प्रावधान गरिसक्यो। क्यानाडा मात्र होइन, अब कुनै पनि देश, १२ पास गरेर जाने जुन लहर छ, अन्त्य गर्न जरूरी छ। सरकारले ‘देशमै शिक्षा, देशमै रोजगार’ को कार्यक्रम गर्नुपर्छ।
अहो, मध्यराति भइसकेछ, लेख्दालेख्दै! अब त सुत्नुपर्यो। सुनसान रातमा कुकुर चाहिँ किन ननिदा’का!? भुकेर बस्छन् बा! खैर, म चाहिँ निदाउँछु। भोलि पाँच बज्यै उठेर बिहानिको सुखद सुरुवात गर्नुछ।!
Comments
Post a Comment