समाचार र पत्रकारिताका विभिन्न परिभाषिय व्याख्यान

समाचार र पत्रकारिताका विभिन्न परिभाषिय व्याख्यान


१. समाचार :- समाचार लेख्नु नै कुनै पनि पत्रकारको प्रमुख काम हो । हामी पत्रकारिता अध्ययनरत विद्यार्थी भविष्यका पत्रकार हौँ । हामीले पछि गएर समाचार लेख्नुपर्ने हुन्छ ‌। त्यसको लागि समाचार के हो भन्ने बुझ्नुपर्ने हुन्छ ।


समाचारका बिषयमा विभिन्न विद्वानहरूका आ-आफ्नै मत छन् । प्रमुख पाँच परिभाषाको व्याख्यान निम्नानुसार छ :

तस्वीर: salon.com

(क) “हिजोसम्म थाहा नभएको कुरा समाचार हो”- terner catledge


समाचारलाई परिभाषित गर्दै terner catledge भन्छन् - “news is anyone you did not know yesterday.” उनको भनाइमा हिजोसम्म थाहा नभएको वा नजानेको विषय नै समाचार हो । फरक शब्दमा, नयाँपन भएको विषय नै समाचार हो ।


आजको पत्रकारितामा यो परिभाषा सान्दर्भिक नहुन सक्छ । कारण, समाचार नयाँ कुरा वा विषय मात्र लेखिँदैन । ‘फलोअप’ भन्ने शब्द नै छ पत्रकारितामा, जसले पहिल्यै आइसकेको कुरालाई (समाचार) पछ्याऊ भन्छ । पूराना विषयलाई अथवा हिजै थाहा भएको विषयलाई अझ विस्तारमा बताउन ‘सफ्ट न्युज’ को अवधारणा बन्यो । सफ्ट न्युजले हिजो था’भैसकेको विषयलाई फरक शैलीमा सविस्तार घटनाबारे बोल्छ, सूचित गर्ने काम गर्छ । सफ्ट न्युजको नजरबाट यो परिभाषा सान्दर्भिक छैन । तर ‘हार्ड न्युज’ले चाहिँ हिजोसम्म थाहा नभएको बताउन सक्छ । Catledge को माथिको परिभाषाले समाचारको पूरा परिभाषा दिन सकेको छैन, समाचारको बृहत्तर पाटो छोएन। यद्यपि समाचारबारे बुझाउन चाहिँ बुझाएको छ, थोरै । 


हुन समाचारबारे विभिन्न विद्वानहरूका अलग मत छन्। समाचार फेरी यस्तो विषय हो, जसको परिभाषा दिनै अप्ठेरो छ। यसको बृहत्तर पाटो बुझ्न कठिन छ। अमेरिकी पत्रकार catledge ले भने सजिलो शब्दमा समाचारको परिभाषा दिए, सारका रुपमा।


नेपालमा विभिन्न समयमा यस्ता समाचार आए, जो पहिले आएका थिएनन्। पहिलोपल्ट घटित घटनाहरूबारे थिए। पहिलोचोटी प्रजातन्त्र प्राप्ति, पञ्चायत शासन, प्रजातन्त्रको पुनर्बहाली, माओवादी द्वन्द, राजाको वंशनाश, यति, ओम्नी, सुन, भुटानी शरणार्थी र भ्रष्टाचार इत्यादिका कैयौँ घटना र काण्डका समाचार बने, जुन समाचारले सर्वसाधारणको ध्यान तान्यो। सर्वसाधारणमा एक खालको धारणा विकास भयो। यसरी धारणा विकास हुनमा समाचारले सघाएको हुन्छ। हिजोसम्म थाहा नभएका कुरा सबैभन्दा पहिले थाहा पाउने news maker वा पत्रकारले हो। पत्रकारले त्यो कुरालाई जस्ताको त्यस्तै समाचार मार्फत समाजलाई देखाउन सक्नुपर्छ। नसकेमा त्यो समाचार भन्दा अरु नै केही बन्छ। 


Catledge ले ‘हिजो’ भने तर आजको युग ‘इन्स्टेन्ट’को हो। आज मान्छेलाई समाचारका लागि भोलिसम्म कुर्ने फुर्सद छैन, तत्काल चाहिन्छ। अहिले, जब उसलाई घटनाबारेको समाचार चाहिएमा तत्काल मोबाइल या कम्प्युटरको ब्राउजरमा जान्छ र खोतल्न थाल्छ, खोज्न खोज्छ। किनकी भोलिसम्म त त्यस घटनाका कैंयौं कथा आइसकेका हुन्छ। त्यसैले मान्छे जे पनि शीघ्र होस् खोज्छ। त्यसैले ‘हिजोसम्म थाहा नभएको कुरा समाचार’ होइन, ‘अहिलेसम्म थाहा नभएको कुरा समाचार’ हो। 


Catledge को कथनमा असहमति हुँदै होइन। उनले त्यसो भन्नु स्वाभाविक हो। किनभने उनी त अखबारको दुनियाका मान्छे। अनलाइन युग नदेखेका मान्छे। देखेका उनी ‘हिजो’ सट्टा ‘अहिले’ भन्थे कि! अर्थात् अहिलेसम्म थाहा नभएको कुरा समाचार हो।


(ख) ‘समाचार नयाँ हुँदासम्म मात्र समाचार हुन्छ’- M.V Kamath


समाचारको एउटा विशेषता वा सारभूत कुरा नयाँपन हो, अरु पछि आउँछन्। नयाँ कुराले समाचार उपभोक्ता वा श्रोता-दर्शकको ध्यान खिच्छ। यसर्थ मानव अभिरुचिको जुनसुकै नयाँ विषय समाचार हो। यो भन्दैमा फेरि सबै नयाँ कुरा समाचार बन्ने भनिएको होइन। नयाँपन र मानव अभिरुचिपछि प्राथमिकता वा महत्वको कुरा आउँछ। यो भनेको कुन समाचार बढी महत्त्वको छ भन्ने हो। केका आधारमा भन्ने फेरि अर्को कुरा छ। खैर, त्यतातिर नजाऊँ। मूल कुरो समाचारमा नयाँपनको हो। 


अमेरिकी पत्रकार turner catledge ले हिजोसम्म थाहा नभएको कुरालाई समाचार भनेका छन् भने भारतीय पत्रकार M.V Kamath समाचारमा नयाँपन हुनैपर्नेमा जोड दिन्छन्। भन्छन्- ‘समाचार नयाँ हुँदासम्म मात्र समाचार हुन्छ’


समाचारको आयु एक दिनभन्दा बढी हुँदैन। आज घटित घटनाको समाचार एक दिन मात्र दिन सकिएन भने त्यो समाचार जनमानसमा पुगिसक्दा मरिसक्छ अथवा प्रभावहीन हुन्छ वा अरु सिलसिला (घटनाका) बनिसकेका हुन्छन्। पुराना दिनमा चल्यो होला, यस्तो। आजको अखबार एक हप्ता वा महिनौपछि जनमानसमा पुग्ने। अहिले यस्तो छैन। अहिले छिटो पनि र नयाँ चाहिन्छ। 


Kamath ले समाचारको समयसीमाको कुरा त गरेका छैनन् तर नयाँपनसँग समयसीमा जोडिएर आउँछ। किनभने नयाँ समाचार छ भने पनि त्यो चाँडो श्रोता-पाठक-दर्शकले पाएनन् भने पाउँदासम्म त्यो पुरानो भइसक्छ। कामाथको समाचार विचारमा आलोचनाबिना हेर्दा, नयाँपन समाचारका लागि प्राण हो। नयाँपन नभएको समाचार, समाचार नभएर सूचना हो। समाचार भनेको सूचना जस्तो वा कुनै विषयमा जानकारी गराए जस्तो होइन। उदाहरणसहित भन्दा हाम्रा कतिपय मिडियामा नेताहरुले गर्ने भाषणका धेरै समाचार बन्छन् तर नेताले भन्ने कुरा जहिले एउटै हो। एउटै विषयमा बोलेको कुरा समाचार बन्दा त्यसमा नयाँपन कता ? बोलेको समाचार बनाउनुको सट्टा कति गरे भन्नेमा समाचार बनाएको भए नयाँपन कति कति! मिडिया या संचार संस्थाको काम सूचना दिने नभई समाचार दिने हो। समाचार, खोजी। समाचार, नयाँ।


(ग) "जब कुकुरले मान्छेलाई टोक्छ, त्यो समाचार हुँदैन तर जब मान्छेले कुकुरलाई टोक्छ, त्यो समाचार बन्छ ।" (When a dog bites a man, that is not news, but when a man bites a dog, that is news.)

-चाल्स एन्डरसन 


समाचारबारे एक सर्वकालिक भनाइ छ- ‘कुकुरले मान्छे टोक्यो भने त्यो समाचार होइन, मान्छेले कुकुरलाई टोक्न थाल्यो भने चाहिँ त्यो समाचार हो, त्यो समाचार बन्छ।’ यो भनाइ कसको हो भन्नेमा एकमत छैन। तर धेरैले चाल्स एन्डरसनकै मान्छन्। एन्डरसनको उपर्युक्त भनाइमा समाचारको एक पक्ष जबरजस्त प्रकट भएको छ- समाचारको आश्चर्यपक्ष। कुनै अचम्मको, आश्चर्यजनक घटनाको समाचार नै वास्तवमा समाचार हो। आश्चर्य भनेको एक प्रकारको अप्रत्यासित विषय हो। यस्तो विषय समाचारका लागि सुहाउँछ किनभने त्यो विषयमा बढी मानव अभिरुचि हुन्छ। मान्छे स्वभावैले उत्सुक हुन्छ। उत्सुक स्वभावले नै उसलाई अझ विकसित बनाइराखेको हुन्छ। 


माथिको भनाइ अनुसार कुकुरले मान्छे टोक्नु कुनै नौलो कुरो होइन, आश्चर्य कुनै छैन। कुकुरले टोक्नु स्वाभाविक हो, टोक्नु स्वभाव नै हो उसको। यस्तोलाई समाचार बनाउन/भन्न सकिन्न। समाचार त मान्छेले कुकुर टोक्दा बन्छ। किनभने, मान्छेको स्वभाव टोक्नु होइन, टोक्यो भने त्यो आश्चर्य भयो। आश्चर्य भएकाले त्यसको समाचार बन्यो।


कुकुर… मान्छे… टोकाई.को कुरामा मात्र होइन, बाढी, पहिरो, भुकम्प, काटमार-आतंक, ठुला चलखेल वा अविश्वसनीय आविष्कार वा घटना इत्यादि विषय पनि समाचार बन्छन्। जस्तो; चन्द्र धरातलमा पाइला टेक्दा को दिन, सगरमाथा सर्वप्रथम चुम्ने तेन्जिङ र एडमन्ड, एउटै मान्छेका दुई मुटु…। १९९० र २०७२ को नेपाल भुकम्प, नेपाल मात्र नभएर विश्वकै लागि ठुलो समाचारको विषय बन्यो। विश्वकै लागि आश्चर्य बन्यो। ०७२ सम्म नजाऔं, पछिल्लो भुटानी शरणार्थी र १०० किलो सुन काण्डहरू छन्। यी र यस्तै भविष्यमा आउने काण्ड जो, अप्रत्यासित छ, अनौठो र आश्चर्य छ, ती सबै समाचारका विषय हुन्। ठुला अस्वाभाविक घटना सदा समाचारका विषय हुन्।


(घ) ‘जनता नै समाचार हुन्’- Harold Evans


समाचारका सन्दर्भमा बेलायती पत्रकार, जसले खोजी पत्रकारिताको जग बसाए- harold Evans ले भनेका छन् - ‘जनता नै समाचार हुन्।


समाचारको मूल स्रोत र उपभोग गर्ने को भन्ने विषयमा केन्द्रीत भएर इभान्सले समाचारलाई परिभाषित गरेका छन्। उनको भनाइमा जनता नै समाचारका मूल स्रोत र मूल उपभोक्ता हुन्। अर्को शब्दमा, मानिस नै समाचार हुन्। अथवा ऊ रहने समाज नै समाचार हो।


समाजमा जे घटित हुन्छ, त्यसमा प्रत्यक्ष’प्रत्यक्ष मानिसकै भूमिका हुन्छ। बाढी आउनु प्राकृतिक हो। तर त्यसमा पनि केही न केही मानिसकै हात छ। यस्तै समाचारका प्रमुख स्रोत पहिरो, आगजनी, अझ भूकम्प (समाचार स्रोतका दृष्टिमा) मा पनि। भूकम्प नितान्त प्राकृतिक हो तर त्यसले जुन हदसम्म क्षति गर्छ, त्यो हदसम्म क्षति हुनुमा मान्छे पनि जिम्मेवार छन्। किनभने मान्छेले अव्यवस्थित र असुरक्षित घर बनाएकैले घर भत्किने हुन्। सहर अव्यवस्थित बनाउने मान्छे नै हो। यसरी अव्यवस्थित हुँदा भूकम्पले झन् ठूलो व्यवधान गर्छ।


जति पनि समाचार बन्दछन्, ती समाचारको कच्चापदार्थ (घटना मुद्दा वा विषय) मान्छेकै जमातबाट ल्याइन्छ। अथवा समाजबाटै ल्याइन्छ र अन्तमा समाजलाई नै दिइन्छ। समाचार ‘ल्याइने र पाउने’ मानिस नै भएकाले harold Evans ले जनतालाई नै समाचार भनेका हुन् सायद।


हारोल्ड इभान्सले शासन र शासकका कुरा गर्न खोजेका हुन् भने शासक वा राजनीतिलाई किन समाचार नभनेको त!?


किनभने शासनसत्तामा जो जान्छ, जनताको प्रतिनिधि हो। यो भनेको लाक्षणिक रुपमा सारा जनता नै शासनसत्तामा हुनु हो। जनता नै सर्वेसर्वा (ठूलो) हुनु हो।

राजनीति सबै नीतिको नीति भएकोले अधिक मानिसको चाँसोको विषय हो। यसै विषयमा धेरै समाचार बन्छन्।


यत्तिले पुष्टि हुन्छ कि हारोल्ड इभान्सले भनेझैं जनता नै समाचार हुन्।




(ङ) नेपालका प्रसिद्ध साहित्यकार एवं पत्रकार भैरव अर्यालको विचारमा "समाचार भनेको सार्वजनिक अभिरुचिसित सम्बन्धित भर्खरैका घटना, धारणा वा समस्याबारे दिइने सूचनाको टुक्रा हो ।”- भैरव अर्याल


भैरव अर्याल साहित्यकार अझ हाँस्यव्यङ्ग्य निबन्धकार मात्र नभएर पत्रकार पनि हुन्। उनको समाचारसम्बन्धी पर्युक्त भनाइमा मुख्य तीन कुरा छन्। सार्वजनिक अभिरुचि तत्कालिक सूचनाको टुक्रा


सार्वजनिक चासोको जुनसुकै विषय समाचार हो अथवा मानव अभिरुचिका सारा विषय समाचार बन्न सक्छन्। मूलत बाढी पहिरो आगलागी भूकम्प यौन सवारी दुर्घटना हत्या हिंसा युद्ध इत्यादि विषय नै मानव अभिरुचि भएका विषय हुन्। समाचारमा यस्ता विषय पाइन्छन् राजनीतिक विषयमा सर्वाधिक समाचार बनिनुले राजनीति सर्वाधिक सार्वजनिक चासोको विषयमा रहन्छ भन्ने देखाउँछ। किनभने राजनीति नै अरु नीतिहरूको मूल नीति हो। राज्यका हर विषयसँग यसको सम्बन्ध रहन्छ जनस्तरदेखि राज्यस्तरसम्म यस्तै अर्थतन्त्र भूगोल साहित्य इतिहास इत्यादि कुनै पनि देशका सार्वजनिक चासोका विषय हुन्।


तात्कालिकता या नयाँपन भन्ने अर्को पक्ष छ उपर्युक्त भनाइमा समाचारमा तात्कालिकता अनिवार्य छ यो नभएको समाचार समाचारै होइन भन्दा हुन्छ। तर के भने सार्वजनिक चासो छ आम जनजीवनमा असर गर्न सक्छ भने अतात्कालिक विषय पनि उठाउन सकिन्छ यद्यपि यस्तोमा पनि तात्कालिकता जीवितै हुन्छ।


सूचनाको टुक्रा हो। भैरव अर्यालले समाचारलाई सूचनाको टुक्रा किन भने त


वास्तवमा समाचार सूचनाको टुक्रा नै हो। समाचार रिपोर्टिङदेखि सम्प्रेषणसम्म आइपुग्दा पुरै कथाको कथासारका रुपमा आउँछ। अथवा रिपोर्टिङबाट प्राप्त विवरण त कति हुन्छन् कति। प्राप्त विवरण समाचार होइन, मात्र सूचना वा जानकारी मात्र हो। सूचनालाई काँटछाँट गरी चाहिने मात्र राखी प्रसारणयोग्य बनाइन्छ। यसरी प्रसारण भएका समाचार नै वास्तवमा समाचार हुन्। जुन पूरै कथाको कथासार जतिकै हो। यस अर्थमा प्रसारित/प्रकाशित समाचार नै वास्तविक समाचार हुन्, जुन सिंगोको एक टुक्राका रुपमा हुन्छन्। सरल शब्दमा भन्दा, रिपोर्टिङबाट प्राप्त विवरण पुरै जस्ताको त्यस्तै प्रसारण नगरी त्यसलाई शैली मिलाएर सार मात्र प्रसारण गर्नु समाचार हो।


सारका रुपमा भैरव अर्यालकै शब्द सार्वजनिक अभिरुचिका भर्खरैका विषय, घटना, मुद्दाबारे दिइने सूचनाको टुक्रा समाचार हो।



२. पत्रकारिता:- पत्रकारको पेशा हो, पत्रकारिता। यो अरुभन्दा अलग पेशा हो, जुन बढी बौद्धिक छ। मूलत: सुचनासँग सम्बन्धित पेशा भए पनि यो बहुआयामिक छ। यसैले धेरैले धेरै कोणबाट ‘पत्रकारिता’ लाई परिभाषित गरेका छन्।

तस्वीर: wordpress 


(क) ‘पत्रकारिता हतारको (हतारिएको) साहित्य हो’- म्याथ्यु आर्नड


पत्रकारितालाई हतारको साहित्य भन्ने निकै प्रचलित भनाइ हो यो। बेलायती साहित्यकार म्याथ्यु आर्नडले बडो गम्भीर कुरा गर्दैछन्। पत्रकारितालाई साहित्य भन्दै छन्। साहित्य पनि हतारको।


उनी आफैं कुनै पत्रकार होइन, कुशल साहित्यकार पक्कै हुन्। उसो भए पत्रकारितालाई किन साहित्य देखे त उनले, किन भने त पत्रकारितालाई हतारको साहित्य!?


सायद उनले जानेरै भने। वास्तवमा पत्रकारितासँग साहित्यको सम्बन्ध छ। हुन त सबै पत्रकार लेखक बन्दैनन्, तर जो साहित्यमा रुचि राख्छन्, उनीहरुलाई पत्रकारिताको पृष्ठभूमि थप सहयोग हुन्छ।


साहित्य हतारमा लेखिन्न, बिस्तारै लेखिन्छ। सोचिसोची। फेरि यो त बढी काल्पनिक हुन्छ। काल्पनिक सँगै वैयक्तिक हुन्छ। व्यक्तिको वैचारिक कुरा पनि त हुन्छ। जबकि, यो सब पत्रकारिताको लागि सुहाउन्न। एउटा कुरा चाहिँ ‘कमन’ छ- लेख्नु। लेखनबिना न साहित्य सम्भव छ, न पत्रकारिता। लेखन भनेको शब्दाक्षरको खेल हो। लेखनसँग शब्द वा अक्षरको सम्बन्ध छ।


एकैछिन पछाडिको ‘साहित्य’ शब्दलाई छोडिदिऊ, त रह्यो- पत्रकारिता हतारको…हो। खाली ठाउँमा ‘पेशा’ राखीहेरौँ, त बन्यो-पत्रकारिता हतारको पेशा हो। हो, पत्रकारिता हतारको पेशा हो। यसमा हरचिज हतार हुन्छ, रिपोर्टिङदेखी ब्रेकिङसम्म। पत्रकारहरु कति हतारमा हुन्छन्, भन्न परोइन। यति हतारमा हुन्छन् कि, मानौँ आजको समाचार आजै नदिए, समाचार सँगसँगै उनीहरु मर्छन्। उनीहरू त खै कुन्नी, समाचार त मर्छ नि, मर्छ। त्यसैले त हतारमा हुन्छन् पत्रकार। पत्रकारको हतारको विषय नै समाचार हो, समाचार सङ्कलन। समाचार वितरण फेरी कति ठाउँमा छरिएका हुन्छन्, भन्न सकिन्न। त्यो सङ्कलननै हतारिन्छन्। सङ्कलन गरेर मात्र पुग्दैन, फेरि त्यसको प्रशोधन वा सम्पादन गर्नुपर्ने हुन्छ। सम्पादनमा पनि कैयौं प्रक्रिया छन्। सबैभन्दा बढी साहित्य जोडिने भनेकै यसैमा हो। यसमा समाचार लेखन, पुनर्लेखनका कुरा हुन्छन्। सत्य तथ्य सन्तुलिन र विश्वसनीयताका कुरा आउँछन्। अनि मात्र बल्ल प्रकाशन वा प्रसारणको पालो आउँछ। यो पत्रकारिताको ‘आउटपुट’ पाटो भयो, देखिने पाटो। तर नदेखिने पाटोतिर पत्रकारिता कति हतारमा गरिन्छ भन्ने कसलाई थाहा!?


यत्ति भनिसकेपछि पुनः फर्किऊँ माथिकैमा- पत्रकारिता हतारको साहित्य। पत्रकारिता साहित्य नै हो। तर यथार्थ साहित्य। साहित्य ज्यादा काल्पनिक हुन्छ, तर पत्रकारिताना काल्पनिकता निकै कम, वा प्रयोग हुँदैहुदैन भन्दा पनि हुन्छ। न यसमा वैयक्तिक विचारको कुरा हुन्छ। पत्रकारितामा लेखनका नियम हुन्छन्, साहित्य निर्बन्ध।


म्याथ्यु आर्नडका भनाइलाई फरक ढंगबाट भन्दा यथार्थमा साहित्य हतारमा गरिन्न। कम्तिमा पनि एउटा साहित्यिक पुस्तक निकाल्न बर्षदिन लाग्छ तर पत्रकारिता यति हतारको साहित्य हो कि त्यसको ‘आउटपुट’ आजको आजै निकाल्नुपर्छ। अथवा, निश्चित ‘समयसीमा’ भित्र गर्नुपर्छ। साहित्य र पत्रकारितामा फरक ‘समयसीमा’को हो। साहित्य फुर्सद लिएर लेखिन्छ भने पत्रकारिता हतारमा गरिन्छ।


यसो भनिरहँदा आर्नडको भनाइ एउटा आलोच्य विषय के छ भने पत्रकारिता पुरै चाहिँ हतारको साहित्य होइन। सबै हतार-हतारमा भयो भने कहिलेकाही काम लतरपतर पनि हुन सक्छ। हार्ड न्युज वा घटना प्रधान समाचारका सम्बन्धमा उनले यो भने होलान्। खोज समाचार वा फिचरका लागि यो पत्रकारिताको परिभाषा सुहाउन्न!


(ख) ‘समसामयिक ज्ञानको व्यवसाय’- C.G mular


पत्रकारिता वास्तवमा व्यवसाय हो। तर, यसको व्यावसायिक अभ्यास अझै हुन सकेको छैन नेपालमा। एकाध ठूला सञ्चार गृह बाहेकले पत्रकारितामा व्यावसायिकता अपनाउन सकिराखेका छैनन्। यदि व्यवसायिकता नै छैन भने त्यो पेशाको औचित्य के?


C.G mular ले उहिले भनिसकेथे- पत्रकारिता व्यवसाय हो। व्यवसाय समसामयिक ज्ञानको।


थुप्रै विद्वानले पत्रकारितामा समसामयिकतालाई प्राथमिकता दिएका छन्। किनभने समसामयिक विषय, मुद्दा र घटनामा रहेर पत्रकारिता गरिन्छ। प्रत्येक दिन समसामयिक विषयसँग खेल्नुपर्ने हुन्छ।


समाजमा दैनन्दिन कयौँ घटना घट्छन्। कति घटना त कस्ता हुन्छन भने रहस्यमय हुन्छन्, नबुझिने हुन्छन्। यस्ता नबुझिने र रहस्यमय घटनालाई कसरी वा के भनेर बुझ्ने व कस्तो धारणा बनाउने भन्ने कुराको उत्तर पत्रकारिता पेशाले दिन्छ। यसैले यो मानिसको ज्ञान, जानकारी सूचना सम्बन्धी पेशा हो। वा बौद्धिक पेशा हो। यसले मान्छेको मस्तिष्कीय अभाव पूर्ति गर्ने काम गर्छ। अभाव ज्ञानको। ज्ञानबिना मान्छे अन्धो हुन्छ। अन्धोले जताततै अँध्यारो देख्छ। ज्ञानले अँध्यारो चिर्छ। मान्छेको ज्ञानको मस्तिष्कीय आवश्यकता पूर्ति गर्ने पेशा भएकाले पत्रकारिता महत्वपूर्ण पेशा हो।


एउटा पत्रकारले समाजमा घटित दैनन्दिनका घटना, विषय वा मुद्दालाई ल्याएर प्रापक (जनता) कहाँ पुर्याउँछ। यो गरेबापत उसले निश्चित रकम पाउँछ। जहाँ आर्थिक कारोबारको विषय आउँछ वा नाफा घाटाको लेखाजोखा गरिन्छ, त्यो व्यवसाय भनेर बुझिन्छ। त्यसैले पत्रकारिता पनि व्यवसाय हो, जहाँ भौतिक वस्तुको नभएर बौद्धिक आवस्यकता पूर्ति गरेबापत आर्थिक कारोबार हुन्छ। तर, पत्रकारिता नितान्त व्यवसाय भने होइन। यो समाजसेवा हो। राज्यप्रतिको दायित्व बहन पनि हो। राज्यको चौँथो अंग भएकाले पनि यो बढी जिम्मेवारी बहनसँग सम्बन्धित पेशा हो।


निष्कर्षमा C.G. mular कै शब्द, पत्रकारिता ज्ञानको व्यवसाय हो।



(ग) ‘पत्रकारिता कला पनि हो, कृति पनि हो र जनसेवा पनि हो’- H. Wickham steed


कला, कृति र जनसेवा। एच. विखेम स्टीडले पत्रकारितालाई यी तीन रुपमा व्याख्या गर्छन्। उनले पत्रकारितालाई विशिष्ट पेशा हो भन्छन्। यो यस्तो पेशा हो, जसमा कलाकारिता छ, प्रसिद्धि छ र समाजसेवा छ।


पत्रकारिता कला हो। कला भनेको स्वभाव या शैली वा सीप। समाचारको रिपोर्टिङदेखी ब्रेकिङसम्म आइपुग्दा त्यहाँ थुप्रै कला प्रयोग भइरहेको हुन्छ। त्यहाँ लेखन कलाको प्रयोग छ, त्यहाँ संवाद, अन्तर्वार्ता अथवा अन्तरक्रियाको कला छ र त्यहाँ प्रस्तुत कला वा प्रस्तुती कला इत्यादिको प्रयोग छ।


एउटा कुशल पत्रकारले समाज परिवर्तन गर्न सक्छ। त्यसैले कला वा कौशलता महत्वपूर्ण छ। तर यो एकैचोटि भने हासिल हुँदैन। लामो अभ्यासपछि प्राप्त हुन्छ। पत्रकारिता बहुआयामिक छ। पत्रपत्रिका या अनलाइनमा कार्टुन कोर्नेदेखि टेलिभिजन पर्दा पछाडि बसेर क्यामेराको लेन्स मिलाउनेसम्मको काम पत्रकारिता हो। यस्तो काम त्यसले मात्र गर्न सक्छ जोसँग त्यसबारेको सिप छ, कला छ।


एच. विखेम स्टीडले पत्रकारितालाई कृति पनि भनेका छन्। कृति यसकारण कि पत्रकारिता समाजको एक प्रतिष्ठित पेशा हो, सम्मानित पेशा हो। किनकी यो समाज सुधारक पेशा हो। देशलाई सही गति दिने पेशा हो। आजभोलि कयौँ पत्रकार यस्ता छन्, जो कुनै ‘सेलिब्रेटी’ भन्दा कम छैनन्। अथवा यसो भनौँ, आजभोलि ‘सेलिब्रेटी’ शव्दको परिभाषा नै बदलिएको छ। आजको समयमा जो पनि यो बन्न पाउँछ। यसकारण, पत्रकार पनि ‘सेलिब्रेटी’ छन्‌। यो भनेको पत्रकारिता पनि चर्चाको पेशा हो। स्टीडकै शब्दमा यो कृतिको पेशा हो।


अघिल्लो परिभाषामा C.G Mular ले पत्रकारितालाई व्यवसायका रूपमा देखाएका थिए। व्यवसाय मात्र नभएर यो बढी जनसेवा हो भन्छन् H. Wickham steed। यसै कारण होला, धेरैले यो क्षेत्रमा आर्थिक उन्नयनको पक्ष नदेखेका। धेरै यस्ता छन्, जो पत्रकारिताको अभ्यास अनि कलामा पोख्त छन्, मनमा पत्रकारिता गर्ने हुटहुटी छ। तर आर्थिक उन्नयनको बाटो नदेख्दा अन्यत्र पेशामा लागेका छन्। यसर्थ, पत्रकारितामा व्यवसायिकता जरुर जरुरत छ। तर जनसेवा पनि भल्न भएन। भुले पनि पत्रकारिता प्रत्यक्ष रुपमा जनसेवासँगै जोडिने पेशा भएकाले हर काम समुदायकै हितमा हुन्छ। तर, के भने पत्रकारिताका मूल्य र मान्यता मान्नुपर्छ। तब मात्र यो जनसेवाको पेशा बन्छ।



(घ) ‘ताजा घटनाहरूको सङ्कलन र सम्पादन गरी अखबारबाट वा रेडियो वा टेलिभिजनबाट पाठक, श्रोता वा दर्शकका माझ सरल भाषामा सञ्चार गर्नु’ - लालदेउसा राई


सञ्चारविद लालदेउजा राई दुई तीन विषयमा जोड गर्छन्। एक, सङ्कलन - ताजा घटनाहरूको विवरण संकलन। दुई, सम्पादन - समाचारलाई सम्प्रेषणयोग्य तुल्याउनु, जुन आम मान्छेको बुझ्ने सरल भाषामा होस्। तीन, सम्प्रेषण- विभिन्न माध्यममार्फत।


पत्रकारितालाई एक वाक्यमा भन्नुपर्दा, समाचार सङ्कलनदेखी सम्प्रेषणसम्मको प्रक्रियामा जे जे गर्नुपर्छ, त्यो पत्रकारिता हो। मूख्य तीन काम हो- समाचार सङ्कलन, समाचार सम्पादन र समाचार सम्प्रेषण। यो तीनै कामलाई समग्रमा पत्रकारिता भन्न सकिन्छ।


पत्रकार सुरुमा घटनास्थल पुग्छ, त्यहाँबाट घटनासम्बन्धी विवरण बटुल्छ र विवरणको सत्यतथ्य जाँची शैली मिलाएर समाचार तयार गर्छ र आम उपभोक्तालाई सञ्चार गर्छ।


पक्कै पनि पत्रकारिता सञ्चार गर्ने पेशा हो। सञ्चार जनता र राज्यबिच। अथवा, राज्य र जनताबीचको सेतुको काम पत्रकारले गर्छ। सञ्चारको सेतु। राज्य के गर्दैछ, के गर्नुपर्ला, कुन बाटो सुरक्षित छ अथवा जनताको जीवनस्तर के-कस्तो छ, राज्यप्रति कत्तिको सन्तुष्ट छन् भन्नेमा काम गर्छन् पत्रकार। यसरी काम गर्दा उनीहरुको सञ्चारको भाषा सरल हुनुपर्छ, सबैले बुझ्ने। सरल, किनभने पत्रकारले लेख्ने समाचारको आम मान्छेको लागि हो। आम मान्छे सबैले प्राविधिक र अफ्ठेरा शब्द नजानेका हुन सक्छ, अशिक्षित जुन सक्छन्। त्यसैले उनीहरूकै भाषामा बुझ्नेगरी समाचार लेख्नु वा सञ्चार गर्नु पत्रकारको काम हो, पत्रकारिता हो।


यो काम गर्न विभिन्न माध्यम छन्, परम्परागतदेखी उच्च प्रविधियुक्तसम्म। पत्रपत्रिका वा अखबार, रेडियो र टेलिभिजन परम्परागत सञ्चार माध्यममा हुन्। इन्टरनेटमा आधारित सारा माध्यम (विभिन्न सामाजिक सञ्जाल, अनलाइन पोर्टल, ब्लगिङलगायत) आधुनिक माध्यम। यस्ता माध्यमकै प्रयोगद्वारा पत्रकारले सञ्चारको काम गर्छ। विभिन्न माध्यमअनुसार सञ्चारको फरक शैली हुन्छ। जस्तो रेडियोका श्रोता, टिभीका दर्शक वा पत्रपत्रिका या ई-पोर्टलका पाठक। रेडियोले श्रव्य सामग्री प्रदान गर्छ, टिभी श्रव्यदृश्य दुवैमा आधारित छ भने ‘मल्टिमिडिया’ का माध्यमबाट सञ्चार गर्छ अनलाइन पोर्टलले। सबै खालका सुबिधा भएको माध्यमलाई ‘मल्टिमिडिया’भनिन्छ। 


निष्कर्षमा माथि उल्लेखित मेरै शब्द, समाचार सङ्कलनदेखी सम्प्रेषणसम्मको प्रक्रियामा जे-जे गर्नुपर्छ, त्यो पत्रकारिता हो।


सन्दर्भ सामाग्रीहरू:

१.....










Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल