जसबाट नेपालले सिक्नुपर्थ्यो, JMC-2
समाचार स्टोरी - काठमाडौँबाट इन्डियन एयरलाइन्सको विमान अपहरण : २४ वर्षसम्म नसल्टिएको हतियार रहस्य । नेपालखबर । सीताराम बराल ।
Write - भुवन खत्री (Bhoban khatri), पत्रकारिता विषय, स्नातक प्रथम बर्ष ।।
... जसबाट नेपालले सिक्नुपर्थ्यो
अपहरणकारी, जो कश्मीरी पृथकतावादी थिए । उनीहरूको एउटै उद्देश्य थियो, कश्मीरकै पृथकतावादी एकजनालाई भारतीय जेलबाट मुक्त गराउने ।
कश्मीर एउटा यस्तो राज्य थियो, जो समय-समयमा विवादमा आइरहन्थ्यो । विवादित हुनुपछाडीको मुख्य कारण के भने, कश्मीर एक स्वतन्त्र राज्य थिएन । कश्मीरको एक भाग पाकिस्तानले आफ्नो दाबी गर्थ्यो भने भारतको उक्त भूमिमाथि छुट्टै अडान थियो । यसैकारण भारत-पाकिस्तान युद्ध पनि बेलाबेला चर्किरहन्थ्यो । युद्ध जातिका नाममा, युद्ध धर्मका नाममा र युद्ध भूमिका नाममा । कश्मीर एक छुट्टै राज्य हुने ध्याउन्नमा थियो । उसले दुबैबाट पृथक रहेर स्वतन्त्र हुन चाहन्थ्यो । पृथकतावादीहरु पनि लगातार लागिरहेकै थिए ।
यसै पृष्ठभूमिमा लेखिएको छ नेपाल (काठमाडौं) बाट नयाँ दिल्ली उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणको घटना । घटनामा ‘रहस्यमय हतियार’ प्रसंग बाहेक नेपाल असम्बन्धित छ । सारा भारत र पाकिस्तानकै प्रसंग छ । नेपाल स्वतन्त्र र सार्वभौम देश भएकैले भारत वा पाकिस्तान जस्तो नियतिमा कहिल्यै गएन । सधैँ धार्मिक सहिष्णुता र क्षेत्रीय मिलाप रहिरह्यो । कहिल्यै कुनै समुहले पहिचान चाहियो भन्दै छुट्टै बस्ने कुरा गरेन । नेपाललाई यस्तो गर्न सुहाउन्न पनि । नेपाल आफैँमा एक विशिष्ट पहिचानयुक्त देश हो । यही पहिचानले नेपाललाई विश्वमा चिनाएको छ ।
पुरै समाचार स्टोरी इन्डियन एयरलाइन्सको फ्लाइट ८१४ को अपहरणदेखि मुक्तिसम्मको घटना शृङ्खलामै केन्द्रित छ । झन्डै आठ दिन अपहरणपछाडिका घटना, परिघटनाको क्रम चल्यो । भारत-पाकिस्तानबीच समझदारी भएपछि यात्रु मुक्त गरिए, अनि बल्ल सकियो विमान अपहरणको काण्ड ।
उपर्युक्त प्रसंग ‘काठमाडौँबाट इन्डियन एयरलाइन्सको विमान अपहरण : २४ वर्षसम्म नसल्टिएको हतियार रहस्य’ शीर्षकको कभर स्टोरीको हो, जुन नेपालखबर अनलाइनले सीताराम बरालको बाइलाइनसहित पुष ८ मा प्रकाशित गरेको छ । स्टोरी पुरै पढिसक्दासम्म पनि एउटा प्रश्नले टुङ्गो पाएकै छैन - आखिर चालक दलका सदस्यले भारतीय सुरक्षाफौजलाई सुनाए अनुसार हतियारका रूपमा अपहरणकारीसँग एके - ४७ राइफल, डाइनामाइट, पिस्तोल र ग्रिनेडहरू नै थिए त !?
यो प्रश्नले नेपालको हवाई सुरक्षा व्यवस्थाबारे देश तथा विदेश (विशेष भारतमा) गम्भीर छलफल चल्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा प्रबन्धकै कारण नेपालबाट उडेको जहाज अपहरण गर्न अपहरणकारीहरु सफल भएको आरोप भारतीय पक्षको थियो । नेपालले यसको प्रतिवादस्वरुप पत्रकार सम्मेलन आयोजना गर्यो र प्रतिवेदनसमेत निकाल्यो ।
‘अपहरणकारीहरुले अपहरण कार्यको लागि सुरुमा प्रयोग गरेको हतियार हेर्दा नक्कली वा सक्कली छुट्ट्याउन नसकिने पिस्तोल र बम भनिएको डल्लो भुइँकटहर जस्तो देखिने पदार्थहरु थिए,’ प्रतिवेदनमा भनिएको छ, ‘तर पछि कन्दाहार पुगिसकेपछि भने सक्कली पिस्तोल र हाते बमहरु अपहरणकारीहरुको हातमा देखिएको थियो, जुन सुरुमा प्रयोग गरेको भन्दा बेग्लै किसिमका थिए।’
विमान अपहरण काण्डपछि केही वर्ष नेपाल-भारत सम्बन्ध बिग्रिएको देखिए पनि त्यसयता आजसम्म कहिल्यै सम्बन्धमा दरार आएको छैन । आइहाल्यो भने पनि दुवै देशको समझदारीमा सुल्झाउने गरिन्छ ।
खासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाकै कुरा गर्दा, विमान अपहरणकै समयमा त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थाका विषयमा विश्वभर खैलाबैला गरियो । विदेशी ठुला मिडिया विमानस्थल क्षेत्रमै खुलेआम रिपोर्टिङमा उत्रिए । एक जना पत्रकारले त ‘नेपाली विमानस्थलबाट हात्ती नै छिराउन सक्छु’ भन्न समेत भ्याए । पछिल्लो समय अवैध सुन ओसारपसार गर्नेहरु समातिने क्रमले विमानस्थल सुरक्षा व्यवस्थामा प्रश्न भने उठ्ने गरेको छ । कतिपयले सय किलो परिमाणमा सुन भित्रिन सक्नु विमानस्थलको कमजोर सुरक्षालाई नै कारण दिन्छन् । त्यसताका देखिएको सुरक्षा कमजोरी आजपर्यन्त रहिरहनु नेपालको विमान सुरक्षा, आवागमन सुरक्षा लगायतका लागि दुखद् हो ।
यो विमान अपहरणको कुरा त्यतिखेरको हो, जतिखेर हामी (नवपुस्ता) सायद जन्मिएका थिएनौँ । विमान अपहरणको घटना २४ डिसेम्बर १९९९ मा सुरु भएर ३१ डिसेम्बर १९९९ मा अपहृत विमानका यात्रु छोडिएपछि अन्त्य भएको हो। यस हिसाबले घटना भएको २४ वर्ष पूरा भइसक्यो ।
विमान अपहरणको यो घटना सुन्दा वा पढ्दा कुनै विमान अपहरण घटनामा बनेको चलचित्र हेरेझैँ लाग्यो। आजभन्दा २४ वर्ष पहिलेको परिवेशमा पुगियो । यसका पात्र अनौँठा र काल्पनिक जस्ता । किनभने, यस्ता अपहरणका घटना आजसम्म चलचित्रमा मात्र देखेको थिएँ । चलचित्र एक कथा हो । मैले पढेको पनि कथा थियो तर यथार्थ । २४ वर्ष पहिलेको यथार्थ । यथार्थलाई यथार्थमा यथार्थै देखाएका छन् समाचार स्टोरी लेखकले । पत्रकारिता त्यस्तो पेशा हो, जहाँ साहित्य जस्तो काल्पनिकताको प्रयोग गरिदैन । तथ्यमा आधारित हुन्छ ।
लेखकको खुबी के देखिन्छ भने विमान अपहरणको यो स्टोरी पढ्दै जाँदा छोड्नै नसकिने वा पाठकलाई एउटै किलामा अड्इराख्न सक्ने क्षमतामा । छोड्दा के के छुटे जस्तो हुने । लेखाइमा यति सुन्दरता । यो उनको लामो लेखनभ्यासको प्रतिफल होला ।
अपहरणपछि अमृतसर विमानस्थलमा विमानमा इन्धन त थपियो तर सीमित मात्र । अपहरणकारीहरूकै मुताबिक पाकिस्तान सरकारले अनुमति नदिँदानदिँदै जब विमान लाहुर विमानस्थल लगियो वा जब निष्पट्ट अन्धकारमय लाहोर विमानस्थलको आकाशमा विमान उज्यालोको खोजीमा भौतारिरह्यो, तब मैले सोचिसकेको थिएँ, अब विमान दुर्घटनामा पर्दैछ। १८० बढी यात्रुको बिचल्ली हुँदैछ। यो किन पनि लाग्यो भने विमानमा सीमित मात्र इन्धन थियो र लाहोर विमानस्थलले अवतरण हुन दिनै हुन्न भनेर अनेक उपाय गर्दै थियो । उसले विमानस्थल निष्पट्ट अन्धकारमय पारिदिएको थियो ताकि अपहृत विमान अवतरण हुन नसकोस् ।
यस्तोमा विमान चालकले नआत्तिन पनि कसरी सकिन्थ्यो ! आत्तिए, देखिन्छ पनि । तर स्टोरी पढ्दै जाँदा के बुझिन्छ भने, उनले पाकिस्तान सरकारले अनुमति नदिँदानदिँदै विमान ल्याएर लाहोर विमानस्थलमा अवतरण गर्न खोजेका थिए, जसरी भए पनि लाहोरमा विमान बिसाउने कसरतमा थिए ताकि अपहरणकारीबाट चाँडो मुक्ति मिलोस् । चाँडो मुक्ति दिलाउन पाकिस्तानले पहल गर्न सक्थ्यो । उनी आफ्नो भारतीय पक्षसँग निरन्तर सम्पर्कमा थिए ।
स्टोरीमै छ - “सायद भारतीय पक्षको चाहना र (निर्देशन पनि) भारतीय सीमा नजिकैको लाहोरमा अवतरण भइदिए मुक्तिको पहल गर्न सजिलो हुन्छ भन्ने हुँदो हो… त्यसैले, पाइलट देवी शरणले जसरी हुन्छ लाहोरमै अवतरण गर्ने योजना बनाए ताकि भारतलाई थप कदम चाल्न सजिलो होस्।”
देवी शरण, जो अपहृत विमानका पाइलट थिए । उनले जति जोडबल गरे पनि पाकिस्तानले आफ्नोमा विमान अवतरण गर्न नदिएपछि जानि जानि ‘क्र्यास ल्यान्डिङ’ गर्ने प्रयास गर्छन् । त्यसको लागि नजिकै उज्यालो क्षेत्र, जुन सडकमार्ग हुन्छ, त्यहाँ लगेर ल्यान्डिङ गराउन खोज्दा, सायद पाकिस्तान पक्ष डरायो र इन्धन हाल्न मात्र सीमित समयका लागि अवतरण अनुमति दियो । काम सके लगत्तै जान पनि दबाब दिन थालिहाल्यो । त्यसपछि जहाज अफगानिस्तान गयो, ओमान गयो तर कुनै देशले अवतरण अनुमति नदिएपछि दुवैमा अनुमति पायो र विमान अवतरण गराइयो ।
यस प्रसङ्गमा रोचक कुरा पढियो, घटना भएको २३ वर्षसम्म ‘इन्धन सकिन लागेपछि चालक दलले लाहोरमा अपहृत विमान अवतरण गर्न खोजेको हो’ भन्ने कथन बनेको तर गत अगस्टमा चालक दलका मुख्य पाइलट देवी शरणले आफु र भारत सरकारको पूर्व योजना अनुसार लाहोर विमानस्थल नजिकै ‘क्र्यास ल्यान्डिङ’ को प्रयास गरिएको बताए । यत्रो वर्षसम्म यसलाई किन भनिएन, मनमा प्रश्न उठ्यो स्वाभाविक । यद्यपि यो योजना सफल भएको पनि देखिन्छ ।
स्टोरीमा कयौँ रोचक प्रसङ्ग छन्, अपहरणकारीले आफुहरुको छुट्टै नाम राखेको प्रसंग । पाँचै जनाले क्रमशः डाक्टर, भरगर, शंकर, भोला र मजिद नाम राखेका थिए । “तीनमध्ये ‘भरगर’ भने दयालु प्रकृतिको थियो। ऊ अंग्रेजी पनि बोल्थ्यो। उसले ‘काठमाडौँ, नेपाल’ लेखिएको र पृष्ठभूमिमा पहाडबाट उदाउँदै गरेको सूर्य अंकित टिसर्ट लगाएको थियो।” स्टोरीमा भनिएको छ ।
त्यहि भरगर भन्ने व्यक्ति थियो, जसले हाँसो ठट्टाको वातावरण बनाइरहन्थ्यो ।
मलाई लाग्यो, भरगर भन्ने व्यक्ति सायद नेपाललाई माया र सम्मान गर्ने थियो । किनभने, उसले अपहृत विमानका नेपाली यात्रुसँग आत्मिय र सौहार्द व्यवहार देखाएको छ । गजेन्द्रमान ताम्राकारसँगको उनको व्यवहारबाट यो थाहा हुन्छ । गजेन्द्र पस्मिना व्यापारी थिए । नेपाल टेलिभिजनको हास्य टेलिसिरियलका कलाकार पनि । विमान अवतरणपछि वातावरण तनावरहित बनाउन हाँसो ठट्टा गर्ने/गराउने जिम्मा उनकै थियो । दुर्भाग्य, मुक्ति पछि अपहरणको दोष उनले खेप्नु पर्यो । दोष लगाउने भारतीय सन्चार माध्यम (अझ, सरकार समेत) लागेका थिए । यति ठुलो घटनाको दोष एक व्यक्तिलाई लाउनु दुखद् हो, आश्चर्यपूर्ण हो ।
यस्तै, नवविवाहित जोडी हनिमुन मनाएर स्वदेश फर्कनै नपाई मारिदिएको (श्रीमानलाई) कुराले दुखित बनायो । मर्ने भारतकै एक नागरिक थिए, जो काठमाडौंमा हनिमुन मनाएर स्वदेश भारत फर्कदै थिए ।
आफ्नो माग (६ वर्षदेखी भारतीय जेलमा रहेका कश्मीरी एक पृथकतावादीलाई छुटाउने) पूरा भएपछि धन्यवाद स्वरुप पाकिस्तानी स्थानीय सरकारलाई ७० हजार सुम्पिएको प्रसंग पनि कम्ता रोचक छैन । यसरी, अपहरण त्रासदीपूर्ण र मुक्ति शान्तिपूर्ण देखिन्छ ।
हतियार रहस्य आजसम्म टुंगो लागिसकेको छैन । अपहरणकारीले के-कस्ता हतियार प्रयोग गरेका थिए भन्ने कुरामा सबैका आआफ्ना मत छन् । त्योबेला भारतले अपहरणकारीसँग एके - ४७ राइफल, डाइनामाइट, पिस्तोल र ग्रिनेड रहेको र यसरी अपहरणकारीले विमानभित्र हतियार पुर्याउन सफल हुनुलाई नेपालको विमानस्थल सुरक्षा कमजोरीलाई कारण देखायो । यद्यपि नेपालले त्यसको प्रतिवाद पनि गरेको थियो । र, हतियार रहस्य, रहस्यैमा रह्यो । यसमा म केही भन्न सक्दिनँ । मेरो मत केही छैन ।
र, अन्तमा …
कुनै पनि घटनाबाट सिक्ने प्रक्रिया व्यक्तिको जीवनमा मात्र लागू हुँदैन, देशले पनि घटनाबाट सिक्न सक्छ । जस्तो; यो विमान अपहरणको घटना । विमान अपहरण घटना भारत र पाकिस्तानसँग सम्बन्धित थियो । नेपाल असम्बन्धित थियो । यद्यपि त्यसबेला नेपालले पनि ठूलो बदनामी बेहोर्नुपर्यो । नेपालको विमानस्थल सुरक्षा प्रबन्धलाई लिएर विदेशी सञ्चारमाध्यमले गर्नु आलोचना गरे ! जसबाट नेपाली सिक्नुपर्ने थियो । सिक्यो तर थोरै । पुरै सिक्न बाँकी छ । बाँकी यसकारण कि अझै पनि नेपाली विमानस्थलबाट सय अनि सत्र किलो सुन भित्रिएको भन्ने खबर आउँछ । त्यसैले, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित नेपाल सरकारका सबै निकायहरूले विमानस्थल सुरक्षा चुस्त बनाउने कुरामा लाग्नुपर्छ । त्रिवि मात्र होइन, नेपालका अन्य अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था चुस्त हुनुपर्छ । अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन, राष्ट्रिय विमानस्थल पनि । विमानस्थल सुरक्षा मात्र होइन, विमान सुरक्षा पनि । धन्यवाद !!
Comments
Post a Comment