स्याउ किसानमाथि सरकारको सकारात्मक पहल

अनलाइनखबरमा माघ १९ गते प्रकाशित 'स्याउले बजार पायो, बदलियो जुम्लाको जीवन' शीर्षकको कभर स्टोरीमा आधारित । 

फोटो : अनलाइनखबर (online khabar)

स्याउ किसानमाथि सरकारको सकारात्मक पहल

स्याउ लागि बजार त्यति गएको छैन, पाँच/छ पटक गएँ हुँला आजसम्म । सामान लिएपछि अन्तिममा मात्र मोल सोध्ने बानी छ । स्याउको मोल था’पाएर चकित ओ चकित म एकफेर !


साँझतिर । अन्नपूर्ण तरकारी बजार । बजारको एक कुनामा रहेछ स्याउ पसल । पसल अगाडी देखिहालेँ, टिलिक्क टल्किएका स्याउका दाना । देख्नासाथ टिपिहालेँ । किनकी, मलाई चाहिएको राम्रो, टिलिक्क । एक के.जी स्याउको पोलिथिन् समाउँदै सोधेँ पसलेलाई, ‘कति यसको ?’


‘यसको ३०० हो, बाबु !’ पसलेको जवाफ सुनेर अवाक म ! मात्र १५० थियो मसँग, स्याउ किन्न । अनि, परेन त फसाद !(?)

-’किन यति महंगो ?’ सोधिहालेँ ।

-’फुजी स्याउ महंगै य हुन्छ नि !’


फुजी स्याउ ?

यो नाम पहिलोपटक सुनेको थिएँ । लागेको थियो, स्याउको पनि नाम ! अचम्मित, हो म अचम्मित !


त्यसपछि म मसँगै भएको १५० ले सामान्य जातको एक के.जी स्याउ किनेर घर फर्किएको थिएँ । तर, स्याउको नाउ भने घुमिरह्यो दिमागमा । 


फुजी स्याउ - गुगलको खोज केन्द्रमा जानकारीको लागि सिफारिस गर्दा थुप्रै पाएँ । यो स्याउको इटालियन जात रहेछ, विकसित र नयाँ । सबै हेरिनँ, यत्ति जानकारीले अघाएँ । त्यसपछि स्याउसम्बन्धि नेपालकै कुरा हेरेँ । स्याउका लागि पकेट क्षेत्र जुम्ला, मनाङ् र मुस्ताङलगायत जिल्ला रै’छन् । त्यसमा पनि जुम्लामा केन्द्रित भएर हेर्न थालेँ । जानकारी यस्ता पाएँ :-


-स्याउको राजधानी जुम्ला

-रोयल डेलिसियस रेड डेलिसेस र गोल्डेन डेलिसियस जस्ता स्थानीय स्याउको जात पाइने,

-उत्पादन छ, बजार छैन

-बजार अभावमा जुम्लाका स्याउ किसान, गाईवस्तुलाई खुवाउँदै

-भारतबाट आयातीत स्याउले जुम्लाका स्याउ किसान मारमा,

-सिँचाइ अभावमा सुक्न थाले स्याउका बोट


यी त त्यतिखेरका कुरा भए तर अनलाइनखबरमा आज पढेको ‘कभर स्टोरी’ले एक प्रकारको खुसी दिएको छ । जुम्ली स्याउ किसान खुसी छन् । जुम्लालाई स्याउको राजधानीका रुपमा परिचित गराउन प्रयासरत छन् उनीहरू । गाउँ गाउँका ठाउँ सडक सञ्जालमा जोडिएपछि किसानलाई अझ सहज भएको छ । अनलाइनखबरको कभर स्टोरीको शीर्षक नै सुखद छ -स्याउले बजार पायो, बदलियो जुम्लाको जीवन ।


कभर स्टोरीमा कृष्णमाया उपाध्यायको ‘वाइलाइन’ छ ।


स्टोरी जुम्लाका स्याउ किसान बारे हो । जुम्ला गुठीचौर गाउँपालिका, ३ का टंकराज गिरी, जसले हिमाली टि.एन.एन एग्रो फार्म प्रा.लि खोलेर दुई वर्षदेखि व्यावसायिक स्याउ खेती गर्दै आएका छन् । स्टोरीअनुसार यो वर्ष मात्रै उनले ६५ लाख बराबरको स्याउ बिक्री गरे । बजारीकरणमा सुविधाले स्याउ काठमाडौँसम्म ल्याएर बिक्री गरिएको छ । गिरीले २२ हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्दै आएका छन् ।


टंकराज गिरीकै जति क्षेत्रफलमा खेती नभए पनि जुम्लाकै निराशा भण्डारी, महेन्द्र कार्की र मगी चौलागाईं पनि आफ्नो पुग्दो स्याउ खेतीबाट सन्तुष्ट छन् । उनीहरु पनि वार्षिक लाखौंको आम्दानी गर्छन् । ‘मेहनत गरे पुग्छ’ पुग्छ भन्ने उदाहरण बनेका छन् । गाउँमा चिनिएका छन् । स्याउ बगैंचासम्मै सडक बाटो पुगेपछि बजारीकरणको लागि सहज छ । त्यसमा सिँचाइको सुविधा थोरै भए पनि थपिएकाले किसानमा खुसी थपिएको छ ।


यो वर्ष भारतबाट स्याउ आएन । आए पनि त्यति आएन, जति पहिला आउँथ्यो । पहिला आयातित स्याउले स्वदेशी किसान मारमा हुन्थे । स्याउ बोटमै कुहुन्थे । बजार अभावमा केही राखेरै बिग्रिन्थे भने केही गाईवस्तुको आहार बन्थे । तर यो वर्ष बजारीकरणलाई सडक सुविधा गाउँँगाउँ पुग्दा उत्साहित छन् स्याउ किसान । स्याउ किसानले कृषि अनुदान पाएका छन् । उनीहरुले स्याउ खेतीका लागि विभिन्न तालिम पाएका छन् । त्यसैले राम्रो फल पाएका छन् र मूल्य पनि पाएका छन् । स्याउमा पुरै आत्मनिर्भर हुन नसकिए तापनि आत्मनिर्भर हुनेमा प्रयासरत छ नेपाल । नेपालम सरकारले पनि कृषि क्षेत्रमा (अझ स्याउ खेतीमा) विभिन्न राम्रा काम गर्दैछ । नगरेको भए जुम्लाले स्याउ बेचेर सन्तुष्टि पाउन्नथ्यो यतिखेर !


यस्ता खबर पढेर खुसी लाग्छ । लाग्छ, सधैंभरि यस्तै नेपालबारे खुसीका खबर आइरहुन्, पढ्न पाइरहुँ । लाग्छ, राजनीतिलाई हामीले जुन तहको नकारात्मक नजरले नियाल्छौँ, पूरा सहि होइन । लाग्छ, राजनीति गलत होइन, पात्र हुन् । राजनीतिका पात्र । अथवा तिनीहरूको प्रवृत्ति हो गलत !


जनताका माग ठूला छैन । किसानलाई मात्र मल, बिऊ, सिँचाई र थोरै सहुलियत अनि माल बेच्ने वातावरण बनिदियोस् भन्ने छ । जब जुम्लीहरूले यो सब पाए, देखिएन त प्रतिफल ?


तर, सरकारलाई सुझाउनुपर्ने पनि धेरै छन् । अझै पनि व्यावसायिक स्याउ खेतीमा किसानलाई आकर्षित गर्न सकिएको छैन । विदेशबाट आयातित स्याउको सट्टामा स्थानीय बजारीकरणमा अझै जोड दिनुपर्नेछ । स्याउ खेतीमा राज्यले लगानी बढाउने देखि सामान्य सिँचाई लगायतका आधारभूत कुरामा ध्यान दिनुपर्छ । अनलाइनखबरलाई उद्घृत गर्नुपर्दा- सरकारले गर्नसक्ने महत्त्वपूर्ण काम भनेको विद्युतमा लगानी गरेर बोट-बिरुवामा लिफ्ट प्रविधि मार्फत सिचाई सुविधा पुर्याउने हो ।


स्टोरी सरल छ । सरलता कुनै पनि समाचार वा समाचार स्टोरीको विशेषता हो । किनभने, स्टोरी सबै खालेको लागि हो । यो जुम्लाका पाठकका साथै काठमाडौँबासीको लागि पनि हो । यसका साथै यसमा

सबै पक्षलाई समेट्न खोजिएको छ । किसान पक्षदेखी सरकार पक्ष सबै । पात्र, परिवेश, उद्धरण, विवरण र घटना इत्यादिको सविस्तार वर्णन छ । सविस्तार वर्णन पनि समाचार स्टोरी (फिचर) को विशेषता हो । भनौँ न, ऐनामा आफ्नो अनुहार प्रष्ट देखिए जस्तै छ । ‘जे हो, त्यही देखाउनु’ नै पत्रकारको काम हो । पत्रकारिताको विद्यार्थी भएका नाताले यति त बुझ्दछु, जान्दछु र अभ्यास पनि गर्दछु ।


अचम्म लाग्यो ! त्यस दिन मैले सुरुमा किनेको फुजी स्याउ जुम्लाको स्याउबारीमै गए पनि रु २०० घटीमा नपाइने रहेछ । जबकि रु १५० मै सामान्य खालको स्याउ किनेको थिएँ । यस्तो खालको स्याउलाई बोटमै गएर किन्दा रु ५० मात्रै पर्ने रहेछ । साथै, स्टोरी पढेर स्याउबारे सामान्य जानकारी पाएँ । यो ज्ञान थोरै भए पनि स्याउ खेती गरिने बाजुरावासी भएर पनि थिएन । तर, जेहोस्, खुसीको खबर पढियो । यसमै खुसी छु ।


Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल