soft news - 1, एक परोपकारी आमाको कथा
एक परोपकारी आमाको कथा
फागुन १ । भुवन खत्री ।।
बाल्यकाल कल्पनाको संसारमा बित्छ, प्रायको ।
सानोमा तपाईं सुत्नेबेला बाआमाले सुनाएको कथाको कल्पनामा कतिचोटी डुब्नुभयो ? सायद, धेरैचोटी ।
अनि, आज आएर कथा सुनाउने अभिभावकको कथा कति सुन्नुभयो ? सायद, सुनिएको छैन ।
कथा नसुने पनि कुरा सुन्नुभयो त !(?)
बुढापाकाका कुरै कथा । उनीहरूको भोगाइ वा जीवन नै कथा जस्ता सुनिन्छन् । कथासँगै भेटिन्छ, जीवन दर्शन र जीवन हिड्ने मार्गचित्र । देवी भट्टराईको जीवनकथाले यस्तै मार्गचित्र दिन सक्छ । उनी यस्तो हिरो हुन्, जो देखिन चाहँदैन । ऊ त चाहन्छ केवल सर्वपरोपकार र सर्वकल्याण ।
"मलाई कसैले 'आमा' भनिदिँदा लाग्छ, म त्यति बुढी देखिन्छु र ? मान्छे अनुहारले बुढो हुने होइन। बुढो या नबुढो त मनले निर्धारण गर्छ। यदि तपाईंको चाहुरिएको अनुहारमा जोस, जागर र उमङ्गसंगै महान विचार छ भने तपाईं बुढो कहलिनु हुन्न। म पनि आफुलाई 'बुढी' सम्झिन्न। म आफूलाई सधैं तन्नेरी नै देख्छु । मलाई 'देवी'का पछाडि कुमारी थप्न मनलाग्छ ।"
यो भनाइ अरु कसैको होइन, उनै जोसिली आमाको हो, जो उमेरले ६५ बसन्त पार गरीसकिन् । देवी भट्टराई । हेर्दा बृद्ध देखिन्छिन् । तर, जोस र जाँगर भने उही पुरानो छ। युवा छँदाको जोस मरेको छैन उनबाट । उमेर बढ्दै जाँदा व्यस्तता घट्नु स्वाभाविकै हो। उनमा भने व्यस्तता नै जीवनशैली बनेको छ । भन्छिन्, “व्यस्तता बिनाको जीवन, के जीवन !”
जीवनका कैयौं उकाली-ओराली र घुम्तीहरु घुम्दै यहाँसम्म आइपुग्दा देखिएका संघर्षी चट्टान फोर्न सहज भने त्यति थिएन । तर तिनलाई सामना गर्दै यो ठाउँसम्म आइपुग्नु पनि उनका लागि ठुलो सफलता र निष्काम कर्मको फल हो ।
देवी भट्टराई, जो वि. सं २०१५ माघ १५ गतेका दिन पहिलोपटक रोइन् । त्यसपछि जीवनमा पटकपटक रोइन् । तर, आफ्नै आँसु आफैँ पुछिन् । र त आज अरुको पनि आमा बनेर आँसु पुछ्दैछिन् ।
तत्कालीन समयमा छोरी मान्छे भएर जन्मनु उनका लागि सहज त थिएन। तर सम्भ्रान्त परिवारमा जन्मनु उनका लागि ठूलो सौभाग्य बनिदियो । “जमिनदारको परिवार भएकाले छोरी भए पनि परिवारको माया चाहिँ पाएँ”, सुनाउँछिन् । उनी माता खड्गकुमारी पोख्रेल (जेठी आमा) र पिता लेखनाथ पोख्रेलकी जेठी छोरीका रुपमा पूर्वी पहाडी जिल्ला खोटाङको दिक्तेल, धारापानीमा जन्मिइन् । दुईटी आमा मध्ये जेठी आमाकी जेठी छोरी हुन् । सुन्दर र मनोरम वरिपरीका पहाडी दृश्य नियाल्दै प्रकृतिको काखमा लुटपुटिन पाउँदा साहै खुशी लाग्थ्यो उनलाई । कुलिन घरानामा जन्मिएकाले अरु जस्तो सकस भने थिएन बाल्यकाल । छिमेकमा साथी, दौतरीहरु थिए । सबैभन्दा मिल्ने साथी थिइन् उनकै बहिनी । उनी तीनै दौतरीका साथ-साथ लेख्दै, पढ्दै र खेल्दै हुर्किइन् ।
“विद्यालयमा थोरै मात्र केटीहरु पढ्न जान्थे। धेरैजसो केटाहरु नै हुन्थे ।” उनी अघि थप्छिन्, “थोरै केटीमा पनि सबै ठुलाबडाका छोरी थिए, सर्वसाधारणका छोरीहरु स्कुल जाँदैनथे ।” उनलाई अझै याद छ गुरुहरुबाट अब्बल विद्यार्थी भनेर सानो- सानो पुरस्कार पाउने गरेको कुरा । त्यस बखतको शिक्षा र शिक्षा प्रणालीका बारेमा उनी भन्छिन्, “आजको जस्तो कक्षाकोठामा राखेर पढाउने चलन थिएन। चौर, चौतारो र रुखमुनि बसेर पढिन्थ्यो ।” थप्छिन्, “पढ्नलाई न किताब हुन्थे न लेख्नलाई कापी नै । हामीसँग खरी मात्र हुन्थ्यो। त्यसैले माटामा लेखेर पढियो। अलि पछि कालो पानीदार मोसोमा चोब्दै लेख्ने निगालाको कलम बन्यो। त्यसले हामीलाई लेख्न केही सहज भयो।”
त्यसबेला अंग्रेजी पढिन्नथ्यो । नेपाली, गणित, सामाजिक, विज्ञान र संस्कृत विषयको पढाउने चलन थियो। तर आज यो सब कुरामा परिवर्तन आएको छ ।
उनका बुबा अलि जमिन्दार भएकाले तराईमा पनि सानो घडेरी जोडेर राखेका थिए । कहिले तराई झर्ने, कहिले पहाड पुग्ने गरिराख्थे । तराईमा जग्गा भए पनि घर भने पहाडमा मात्र थियो । गोठभरी गाईवस्तु । जमिन मनग्य । तर उनी गाउँको प्रशासनिक काममा हुन्थे । उनी गाउँका जिम्वाल थिए । देवी दुर क्षितिजको आफ्नै आँगन पुगिन्, “खेतीपाती र गाईवस्तुको काम गर्ने कामदार थिए । गाउँलेले खेतबाट ल्याएको मुरिकामुरी धान आँगनभरी फिँजाइन्थ्यो ।” त्यो देख्दा उनलाई लाग्थ्यो, “यसमा खेल्न पाए !” तर त्यस्तो बदमासी कहिल्यै गरिनन् । बुबाको डर थियो उनलाई । साथीहरुसँग खेल्नमा रमाइराख्थिन् । त्यसै क्रममा कहिलेकाहीँ आफन्तको बारी पसेर फलफूल चोरेर खाएको बाल्य सम्झना सुनाउँछिन् । हाँस्दै एउटा यस्तै प्रसंगको बेलिविस्तार उनले यसरी सुनाइन् :-
“दिउँसोको समय । घरमा बहिनी र म मात्र । आँगनमा खेल्दै थियौँ । एक जना काका पर्ने छिमेकी हुनुहुन्थ्यो । उहाँको नाम बिर्सिएँ । उहाँको बारी थियो, भोगटेको । दिउँसोतिर उहाँ भैँसी लिएर वन जानुहुन्थ्यो । घरमा भएका छोराबुहारी पनि आ-आफ्नो काम लागेपछि कोहि हुँदैनथ्यो, दिउँसो ।
आँगनमा खेल्दै गरेका हामीलाई भोगटे खान मन लाग्यो । “आज पनि काका हुनुहुन्न होला । मस्तले खान पाइन्छ, जाऊँ !” प्रस्ताव मेरै थियो ।
बारी नजिकै थियो । नजिक भन्नाले दगुर्दै जान्थ्यौँ, पाँच मिनेट लाग्थ्यो घरबाट । काकाको घरबाट चाहिँ नजिकै थियो ।
म रुखमा चढ्न नसक्ने । चढ्नु हुन्न पनि लाग्थ्यो । किनभने, भाग्न सजिलो हुन्थ्यो ।
भोगटेको बोटनेर पुगेपछि बहिनीलाई चढाएँ । ऊ टिप्न थाली । टिप्दै मलाई दिँदै । टिपेर टाढा लगेर खाने योजना अनुरुप हामी काम गर्दै थियौँ । त्यस दिनको बिडम्बना, काका घरमै हुनुहुँदो रहेछ । हामी बोलेको, चिच्याएको र खासखुस सुन्नुभएछ । सुन्नासाथ कड्किहाल्नु’भो ! गालीको ओइरो । यतिसम्म कि खेद्न पनि आइहाल्नुभयो । यो देख्नासाथ मैले बहिनी देखिनँ, भाग्न बाटो मात्र देखेँ । म दुईटा भोगटे काखी च्यापेर बाटैबाटो कुलेलम ठोकेँ । बिचरा, बहिनीले न खान पाई, न भाग्न ।
पछि पो थाहा पाएँ, उसले सारा दोष मलाई नै लगाएकी रै’छ । उसलाई केही कारवाही भएनछ । काकाको हात परेपछि सोझी बहिनीले मलाई नै सब योजना मेरै भएको भिनिछे । हुन पनि योजना मेरै थियो । अझ, काकाकै घर गएर के के खाइछे !
साँझ आएर पो सुनाउँछे,”तैँले त भोगटे मात्र खाइस्, मैले त खिर, सेल, फुरौला के के खाएँ, खाएँ ।”
खै, त्यो दिन काकाको घरमा श्राद्ध हो कि के कार्यक्रम रहेछ । मेरो दुर्भाग्य त्यो दिनको ! म पनि नभागेको भए मिठो खान पाउँथेँ कि ! कहिलेकाहीँ मान्छे बाठो भयो भने दुःख पाउने रहेछ ।”
देवी भट्टराईको वास्तविक कथा तब सुरु भयो, जब उनी तराई झरिन्, सुनसरी । आमाबाका साथ तराई सुनसरी बसाई सरेर आएपछि कहिल्यै आफ्नो जन्मघर पहाड दिक्तेल जान पाइनन् । तराई झर्दा उनको उमेर जम्मा आठ वर्ष थियो ।”सानैमा सुनसरी आइयो । त्यसपछि त पहाड घर गइएकै छैन । अब त नामोनिशान नै छैन होला जन्मघरको ।”
तराई आएपछि पढाई छुट्यो, दौतरीहरु पनि छुटे । तर जन्मघरको न्यानोपनले भने उनलाई कहिल्यै छोडेन ।
तराई उनका लागि नयाँ थियो। सम्म परेको जमिन, त्यसैमा बुट्टेदार खेतका फाँटहरु, खुल्ला परिवेश, खरले छाएका घरहरु, गाउँ भन्दा अलि सुगम । यो सुगमतासँग घुल्न उनका लागि लामो समय लाग्यो ।
तराई झरेको केही वर्षमै उनले आफ्नी प्राणप्रिय बहिनीलाई गुमाइन् । एक लगौँटीया साथीको साथ गुम्यो । तर त्यतिञ्जेल उनले एक भाइ र एक बहिनी पाइसकेकी थिइन्र
"तराई आएपछि पनि मैले पढ्न भने छोडिनँ। तर गाउँको जस्तो पढाइमा सबैकी प्यारी बन्न चाहिँ सकिनँ । यहाँ आएपछि किताब, कापी त पाएँ। पढ्नमा भने मन गएन। बिस्तारै साथीहरु पनि बन्दै गए । पढ्न भन्दा साथीहरुसँग बढी रमाउने भइयो। दुखजिलो पाँच कक्षासम्म पढ़ें। त्यसपछि पढाइ छुट्दै गयो ।" उनी अघि थप्छिन्र, "भाइबहिनी मेरो जीवनमा आएपछि उनीहरु नै मेरा प्रिय साथी बने। दिनभरी आमा खेतीपातीको काममा लाग्नुहुन्थ्यो । भाइबहिनी मेरा जिम्मामा हुन्थे। उनीहरूको सरसफाईदेखि खुवाउने, लाउने सारा काम अथवा स्याहार्ने जिम्मेवारी मेरै हुन्थ्यो । यसैले म उनीहरूको दिदी मात्रै नभएर, आमा पनि थिए ।"
वास्तवमा बालापन हरेकका लागि प्रिय हुन्छ । आमाका लागि आज आएर त्यो बालापन प्रिय सँगसँगै पीडादायी भएको जस्तो लाग्छ। एक प्रकारले बहुलठ्ठीपनमा हुर्केको थियो उनको बालापन। सहजता र सकसता मिश्रित रस-निरसी बालापनले नै सायद संघर्षसँग जुध्न सिकायो ।
यतिखेरसम्म त सब सामान्य रुपमै चल्दै थियो । उनको संघर्षको कथा त तव सुरु हुन्छ, जब उनी अरू कसैको घरमा पुगिन अर्थात १५ वर्षको किशोरवयमै गरेको विवाहपछि उनले झन् कठोरतासँग जुध्नुपर्यो ।
त्यस समय प्रेम विवाहको प्रचलन थिएन। मागी विवाहको प्रचलन भएकाले उनको पनि त्यसै अनुरुप विवाह भयो । केटापक्षबाट माग्न आउने बेला उनी घरभन्दा अन्यत्र थिइन । घरमा कतिबेला विवाह छिनिसकिएछ, उनले पत्तै पाइनन। त्यसको केही दिनपछि उनको विवाह सकियो तर बेहुलासँगको चिना-परिचय भने राम्ररी भएको थिएन। विवाहको लामो समयसम्म पनि उहाँहरुको बोलचाल खासै भएन । आमाले आफ्नै श्रीमानलाई राम्रोसँग चिनेको विवाह भएको एक वर्षपछि मात्र हो ।
विवाहपछिका भोगाइ आमा यसरी सुनाउँछिन, "मैले विवाह के हो भनेर नबुझ्दै विवाह भयो। परिवार ठुलो थियो । जिम्मेवारी बढ्ने नै भयो। सानो मस्तिष्कमा ठूलो जिम्मेवारीको बोझले थिचिंदा शारीरिकसंगै मानसिक दबाव र प्रभाव पर्यो। पहिलेको जस्तो स्वतन्त्र, स्वच्छन्द र खुला बालापन सबै गुमिसकेको थियो । बीसौं जनाको जहान परिवार पाल्नुपर्ने अनि गाईबस्तु र खेतीपातीको काम पनि सबै आफैंले सम्हाल्नुपर्ने । एउटी एक्ली बुहारीका लागि यो बोझ असैय थियो। आज आएर त्यो बोझ कसरी उठाउन सकेँ, आफैं अचम्ममा पर्छु ।" बुबा अलि पढेलेखेको शिक्षित नै हुनुहुन्थ्यो । उहाँको विराटनगरमा सिँचाइ मन्त्रालयमा काम थियो । त्यो काम छोडेर अलिक समयपछि रघुपति जुट मिलको board operator (बोर्ड अपरेटर) का रुपमा काम थाल्नुभयो । राजनीतिमा पनि चासो राख्ने भएकाले बुवा बाहिर नै व्यस्त भईराखुहुन्थ्यो । उता आमाका ४ जना सन्तान पनि हुर्कदै थिए ।
जीवनयात्राको दौरानमा कैयौं घुम्तीहरु घुम्नुपर्छ। यसैक्रममा कयौँ उल्झनहरुको पनि सामना गर्नुपर्छ । आमाको जीवनयात्राको एक घुम्ती २०५० सालको काठमाडौं आगमन ।
त्यसपछिको वृत्तान्त आमाकै शब्दमा "समयले मान्छेलाई केही न केही बहानामा कहाँ कहाँ पुर्याउँछ, त्यो स्वयं व्यक्तिलाई पनि थाहा हुन्न। हामीलाई काठमाडौंले कामकै सिलसिलामा बोलायो । यहाँ आएको केही दिनमै सबै जोरजाम गरियो र 'भट्टराई भोजनालय' नाम दिएर लजसहितको एउटा होटेल चलाउन थालियो । त्यो होटल बागबजारको मुटुमै थियो । दिनमा कयौँ क्विन्टल चामलको भात पाक्थ्यो । दाल, भात, तरकारी माछा मासुको त कुरै छोडौं। होटल चलाउनमा मेरा छोराछोरी र श्रीमानले पनि खुब सहयोग गरे । होटल राम्रोसँग चलेको थियो। पैसा पनि सोचेको जस्तै कमाई हुन्थ्यो। तर खटाइ पनि उत्तिकै चाहिन्थ्यो । होटल चलाउँदाका कयौं यस्ता दिनहरु पनि छन्, अरुलाई खाना खुवाउँदा खुवाउँदै आफैंले खान नपाउँदाका दिनहरु, मात्रै पाँच घण्टाको बाट पनि निद्रा कटाउनुपर्ने दिनहरु, अरुबाट हेपिनुपर्दाका दिनहरु अनि एउटै कोठामा अटिनअटी कोच्चिएर बस्नुपर्दाका दिनहरु । कुरै नगरौं।" होटल नजिकैका आर. आर क्याम्पस, बाल्मिकी क्याम्पस र संस्कृत विद्यालयका विद्यार्थीको खाना र खाजा खाने ठाउँ नै 'भट्टराई भोजनालय' थियो। नेता, वकिल, डाक्टर, प्रोफेसर, मजदुर र अन्य परिचित- अपरिचित सबैको रोजाइको खाजाघर थियो भट्टराई भोजनालय। यसैक्रममा कैयौं मानिससँग चिनापरिचय पनि भयो। आमा अगाडि थप्छिन, “आजकल कहिलेकाहीं बागबजारतिर जाँदा कयौँ यस्ता मान्छेहरु भेट्छु, उनीहरूले मलाई चिन्छन् तर मैले उनीहरुलाई चिन्दिनँ। हास्य टेलिसिरियलमा खेल्ने कतिपयलाई मैले नै खाना खुवाएको हुँ। होटलमा अलि आम्दानी बढेपछि मैले छ-सात जना कामदार पनि राखेको थिएँ । त्यसपछि भने मलाई अलि सजिलो भयो। साथमा प्यारो कुकुर पनि थियो, म सँगसँगै हिड्ने ।" उनले झण्डै २० वर्षसम्म निरन्तर त्यो होटल चलाइन । त्यसैको आम्दानीले छोराछोरी पढाउनेदेखी लिएर विवाह गराउने सम्मका सारा काम सकाइन । र घर पनि बनाइन, भक्तपुरमा ।
यसरी, काठमाडौँ आउँदा रित्तोहात आएर पनि उनले छोराछोरी हुर्काउनेदेखी घर बनाउनेसम्मका काम गरिन। एक प्रकारले, पुग्दो सम्पत्ति कमाइसेकी थिइन उनले । त्यसपछि उनलाई अलि आराम चाहिए जस्तो लाग्यो र होटल छोडिन ।
कहिलेकाहीँ बागबजारको त्यही ठाउँमा पुग्छिन, जहाँ होटलमा खाना र खाजा खान भनेर ठेलमठेल मान्छेको भिड हुन्थ्यो । त्यो सम्सेर उनी शान्ति र सन्तुष्टिको लामो सास फेर्रछिन । भट्टराई भोजनालय खोज्रछिन । होटलको काम छोडेपछि भक्तपुरको सूर्यविनायक नगरपालिका, बालकोट-३ स्थित आफ्नो घरमा आएर बसिन (बस्न त पहिले पनि बसिन तर स्थाइ हाइन) । बुबाले राजनैतिक समाजसेवा गर्ने र आमा आफूले चाहिँ असल गृहिणीका रुपमा बुबालाई आड दिने गरिन । यतिबेलासम्म सबै छोराछोरीहरु आ-आफ्नो बाटोमा लागिसकेका थिए। हुर्काउने, बढाउने, पढाउने र विहेवारीसम्मका सबै जिम्मेवारी पूरा गरेर सन्तानहरू लाखापाखा भएपछि आनन्दले बस्नुपर्ने समयमा गरिब तर जेहेन्दार विद्यार्थीलाई सहयोगार्थ घरमा राख्र थालिन ।
उनी दान, दक्षिणा र चन्दाभन्दा पनि कोही गरीबको चेहरामा मुस्कान ल्याउन सक्नु नै ठुलो धर्म हो भन्छिन। उनले त्यस्ता विद्यार्थीलाई पढाइ,लेखाइ गराइदिन्छिन । काममा समेत लगाउनेसम्मका काम गर्छिन्र । आजसम्म दुईजनालाई यसैगरी पठाईसकिन्र । अहिले पनि एकजना सुगरपश्चिम विकट जिल्ला बाजुराको गरीब तथा जेहेन्दार विद्यार्थी उनको आश्रयमा छ । “आफूले सक्दासम्म धर्म, कर्म गर्न छाड्नु हुन्न। आज हामीले अरुलाई हेर्यों भने भोलि भगवानले पनि हामीलाई हेर्नुहुन्छ। धर्म भनेको मारेपछि स्वर्ग जान होइन, जिउँदैमा शरीरलाई स्वर्गतुल्य बनाउनका निम्ति गर्ने हो”, उनको अनुभव छ ।
आमाका लागि जीवनमा अविस्मरणीय घटनाका रूपमा आमाबुबाको निधन र श्रीमानको निधन हो । आमाबुबाको निधन हुँदा कहिल्यै उहाँहरूको नजिक थिइनन। उनी यसलाई 'छलिनु' भन्छिन । श्रीमानको मृत्यु पनि असामयिक थियो । उपचारका लागि चारैतिर धाउँदाधाउँदै आधा सम्पत्ति सकिनै लाग्दा क्यान्सरसँग पराजित भएर बुवा अलग हुँदाको कारुणिक दृश्य भुवनलाइ राम्रोसँग थाहा छ । भुवन उनैको नाम हो, जो अहिले उनको अश्रयमा छ । क्यान्सर भन्ने थाहा पाइसकेपछि नेपाल तथा भारतका ठूला ठूला क्यान्सर अस्पतालहरुमा बुबालाई लगियो। अलिक समय आराम भएजस्तो हुने तर कुनै न कुनै समस्या लिएर अस्पताल पुर्याइरहनुपर्थ्यो। आफ्ना आफन्त तथा शुभेच्छुकहरुको साथ, सहयोग र हौसलाको कमी पनि थिएन। यदि निको हुने भइदिएको भए आमाले भएजति सारा सम्पत्ति निको पार्नमै लगाउँथिन्र । उनको बुझाइ छ, “तर यो पनि सत्य हो, पैसा वा सम्पत्तिले कसैको प्राण किन्न सकिन्न । कसैको प्राणभन्दा ठुलो पैसा हुन सक्दैन ।”
वि.सं २०७९ जेठ २७ को दिन आमाका लागि कालो दिनका रुपमा रह्रयो, बिरामी बुबाको मृत्यु भयो । त्यसयता आमाको एक्लो यात्रा सुरू भइसकेको छ । साथमा ईश्वर छन् । थोरै मात्र आँट गर्न सकियो भने पनि असम्भव भन्ने कल्पनातीत कुरा हो। बुबा बिरामी भएदेखि एकछिन पनि चयनले बस्न सक्नु भएन। एक प्रकारले, बिरामीलाईभन्दा उनलाई बढी दुखेको थियो, नदेखिने मनको घाउले। तर सधै मन दुखाएर पनि त हुँदैन। बुबा स्वर्गवास भएको आधा वर्षभन्दा बढी हुनै लाग्दा आमा अलिक तङ्ग्रिन थालेको जस्तो लाग्छ । आमा अरु मान्छेभन्दा बढी भुक्तभोगी हुनुहुन्छ। त्यसैले त उहाँसँग पढाइ कम भएपनि अनुभव ज्यादा छ । उहाँले नेपाल मात्र होइन, विदेशका दुई-तीनवटा देशहरु पनि घुमिसक्नुभएको छ । अस्ट्रेलिया, अमेरिका र मलेशियाका विभिन्न ठाउँ चहारिसक्नुभएको छ उहाँले । भारतभ्रमणको त कुनै गन्ती नै छैन । विश्वको एक उत्कृष्ट भ्रमणस्थल तथा विश्व सम्पदा सूचीमा सूचीकृत ताजमहल, रामेश्वरम, कन्याकुमारीलगायतका ठाउँ र पुटापर्ती, सिड्नी साइबाबा आदिको भारतभ्रमण यात्रा जीवनकै रोमाञ्चक यात्रा हुन् उहाँका लागि । छोरा अमेरिका र छोरी अष्ट्रेलिया भएकाले समयसमयमा यी दुई देश आउने- जाने गरीराखु हुन्छ । तर, उहाँ आफ्नै देशलाई माया गर्नुहुन्छ र देशमै बस्छु भन्नुहुन्छ । विदेश जाने भनेको घुम्नलाई मात्र हो, बस्त्रलाई होइन भन्ने मान्यता उहाँको छ । आफ्नै छोरा सबैको सपनाको देश अमेरिकामा हुँदा पनि 'यक्लो ज्यानलाई किन त्यहाँ लगेर थोपर्नु ! आफ्नै घर बस्छु बरु' भनेर म सक्छु भन्ने देखाउनुभएको छ ।
जीवन घाम-छायाको यात्रा हो। सुख, दुख र
संघर्ष आदि जीवनका अनिवार्य र स्वाभाविक कुरा हुन्। कुनै समय अस्ताएको सूर्य
बिहानी लाली र स्वर्णिम सौन्दर्य लिएर उदाउँछ। तपाईंसँग बुबासँग बिताएका सारा
खालका सम्झना र अनुभूतिहरू छन्। ती नै तपाईंका साथी हुन्। त्यसैले तपाईबाट कोही
छुटेको छैन । तपाईं ती पलहरु कहिल्यै नभुल्नुस्, बुबा सधैं
तपाईको साथमा हुनुहुनेछ । सजीव रहँदा तपाईबाट उहाँप्रति कुनै मन दुख्ने काम नभएको
हुँदा उहाँ तपाईंबाट कहिल्यै टाढा हुन सक्नुहुन्न। तसर्थ, सधै
श्राद्ध, भक्तिभावले स्मरण गर्नुहोस्, पुज्नुस्।
मेरो पनि उहाँप्रति असीमित सम्मान छ । म पनि मेरो देवतुल्य अभिभावकलाई सदा स्मरण
गर्दछु। मृतात्माको बैकुण्ठ बास होस्!
अन्तमा, मेरो परिचय पनि खुलाउनै पर्छ। म तीनै आमाको आश्रयमा रहेको केटो वा विद्यार्थी हूँ। आमा, तपाइकै कारण मेरो अँसु पुछिएको छ, परिवारको अँसु पुछिएको छ । यसैगरी धैरैको मनमा खुसीको सन्रचार गराउन सक्नुहोस्र, शुभकामना । र, मेरो हृदयको सबैभन्दा भित्रि तहबाटै उच्च सम्मान छ । आमाको बाँकी जीवनको यात्रा सुखदायी रहोस् । कृष्णभक्ति नछुटोस् ।
-२०८० फागुन १ गते प्रकाशित
Comments
Post a Comment