बिजुलीको तारमा आगो
बिजुलीको तारमा आगो
काठमान्डौँ, फागुन ११ । भुवन खत्री ।
प्रदर्शनीमार्ग हुँदै चोकसम्म आइपुग्दानपुग्दै त्यहाँ मान्छेको भिँड देखिन्छ । र देखिन्छ नजिकै बिजुलीको तारमा लागेको आगो । ठम्याइहालियो, तारमा लागेको आगोले त्यतिका मान्छे तानेको हो भन्ने ।
आगो सानै छ तर बढ्दै छ । आगो बढेर नजिकै घरको बाहिरको तारसम्मै पुगिसकेको छ ।
प्रहरी अघि नै आइसकेछ । बाँकी थियो दमकल ।
यो आगो कतिखेरदेखि लागेको भन्ने प्रश्नमा एक प्रत्यक्षदर्शीले भने, “धेरै भएको छैन । आदि घण्टा भयो । सुरुमा सानो थियो । म हेरिरा’छु, बढेर यत्रो भइसक्यो । तर दमकल आएको छैन अहिलेसम्म ।”
कसरी लागेको होला आगो भन्ने जिज्ञासा भयो ।
प्रहरीलाई सोध्दा विद्युत सर्ट भएर त्यसरी आगलागी भएको हुन सक्ने जवाफ आयो । तीँ प्रहरीले भने, “एउटैमा अनेक तारहरु गुजुल्टाएर लगाउँने चलन छ । यसरी गुजुल्टाएको तार पनि एक कारण हो । तार आगलागीका धेरै केश यहि कारणले हुन्छ ।”
बिजुली तारमा आगलागी हुने समस्या काठमाडौंमा दैनिक कयौँ हुने उनको भनाइ छ । “यो समान्य हो । तर कहिलेकाँहि यसले दुर्घटना पनि ल्याउने जोखिम हुन्छ । सडकका पैदलयात्रु दुर्घटनामा परेको धेरै देखिएको छ । त्यसैले सडकमा हिड्दा यो कुरामा ख्याल गर्नुपर्छ”, उनले सुझाए ।
तारको जलेको भाग लप्कोको रुपमा भूँइमा झर्दै छ । त्यो झरेको भूँइ पुरै सेतो छ । त्यहाँबाट मान्छे टाढै छन् । नजिकै सडकको सवारी पुरै अस्तव्यस्त छ । सवारीका हर्नहरू लगातार बजिरहेका छन् ।स्थित तनावपूर्ण छ ।
त्यहाँ पर्खिएको दश मिनेटपछि सडकका सारा सवारी फाँडुलाझैँ गरी दमकल आइपुग्छ । आएर एकछेऊ रोकिन्छ । र सुरु गर्छ काम ।
आगो लाग्दा त्यति सेतो मुस्लो निस्किएको थिएन, जति आगो निभाउन दमकले निकाल्यो । उसले आगो निभाउन प्रयोग गरेको पानी थिएन, कुनै सेतो ग्यास थियो ।
ग्यास फैलिएर जब पुरै वातावरण सेतै देखियो, तब कोहि मान्छे देखिएनन् । ग्यासको असरले सबै आ-आफ्नो बाटो लागिसकेका थिए ।
सेतो हराइसकेपछि हेर्दा पुरै आगो निभिसकेको थियो । दमकल गइसकेको थियो । मान्छेहरू सामान्य स्थितिमै ओहोरदोहोर गरिरहेका थिए । सवारी स्थिति सब तनावरहित थियो ।
Comments
Post a Comment