राजनीति भ्रष्ट हुँदा…
राजनीति भ्रष्ट हुँदा…
तपाईँले क्यारेबियन मुलुक हाइटीको हालखबर थाहा पाउनुभयो ?
छैन भने पनि केहि छैन, शिलापत्रमा गएर पढ्नुहोला । थाहा पाइहाल्नुहुन्छ ।
शिलापत्रमा हाइटीको जर्जर हालखबर प्रकाशित छ । निरन्तर आन्तरिक युद्द, अस्थिर राजनीति, भ्रष्ट्राचार, गरिबी र भोकमरीले गर्दा हत्या, हिंसा र लुटपाट जस्ता अपराध बढेको खबर अन्तर्राष्ट्रिय सञ्चार संस्थाले सार्वजनिक गरिराखेका छन् । त्यहाँ मान्छेको भागाभाग छ । देशको राजधानी नै कुख्यात समूहको कब्जामा छ । भुकम्प, बाढि ,पहिरो लगायत प्राकृतिक विपद पनि हाइटीको यो हाल हुनुको कारण हो । विपद अनि अन्य कारणले त्यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् । हाइटी अहिले अशान्त, झन् अशान्त बन्दैछ । अमेरिकाको निकट भएर पनि यो देश अति कमविकसित छ । अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई ल्याउने काम गरिरहेको बिबिसीलाई उद्धृत गर्दै शिलापत्रले लेखेको छ । भारतले पनि आफ्ना ९० जना नागरिक ल्याउने तयारी गरेको समाचारमा उल्लेख छ ।
शिलापत्रले यो समाचारलाई ‘कभर स्टोरी’ बनाएको छ । शिलापत्रको यसै कभर स्टोरीलाई शुक्रवारिय पठन, अनुभूती र समीक्षाको विषय बनाएको छु । शीर्षक छ - अमेरिका नै भाग्ने गरी हाइटीमा के भइरहेको छ ?
समाचार पढ्दै गर्दा धेरैपल्ट हाइटीको यो समस्यालाई नेपालसँग दाजेँ मैले । नेपाल पनि त चीन र भारत जस्ता अर्थ र विकासमा फड्को मार्दै गरेका मुलुकको छिमेकी हो । उनीहरु उन्नतीतिर लम्किँदै गर्दा हामी अधोगतितिर झर्दैछौँ । देशमा निरन्तर राजनीतिक अस्थिरता छ । हाम्रा प्रधानमन्त्रीले १५ महिनामै तीनतीन पटक विश्वासको मत लिएको उदाहरण ज्वलन्त नै छ । अनि गरिबी छ । बेरोजगार छ । भ्रष्टाचार र सरकारप्रति वितृष्णा छ । हाइटीकोझैँ बेलाबेला विपदले अत्याइराख्छ । यस्तोमा कताकति म त्यस्तै दृष्य देखिरहेथेँ, जस्तो मैले हाइटीको दृष्य पढेँ ।
अर्कोतिर के कल्पेँ भने, नागरिकमाथि वितृष्णा बढेको देश हाम्रो मात्र त होइन रहेछ । संसारमा हाम्रोभन्दा पनि जर्जर हाल हुने देश पनि त रहेछ । बरु हाम्रो त्यस्तो हाल छैन । त्यति युद्द, अशान्ति हाम्रोमा छैन, शान्तिदुत बुद्ध जो जन्मे यहाँ । त्यति अराजक छैन, विविधतामा एकता जो कहलिन्छ । अन्न र अर्थ अभावमा एकार्कासँग लडेका, लुटेका त छैनौँ नि । तर यो यथार्थ चाहिँ स्वीकार्नै पर्छ कि कृषिप्रधान कहलिने देशमा अहिले आयात ज्यादा छ । भारतकै भर छ । उसले अन्न नपठाउँदा चाहिँ आउन सक्छ हाम्रो देशमा पनि भोकमरी ।
“राजधानी पोर्ट-ओ-प्रिन्स नै कुख्यात गिरोहका नाइके जिमी चेरिजियरको कब्जामा छ । त्यहाँ प्रहरीले पुनः आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको बीबीसीले लेखेको छ”, शिलाषत्रको यो दुई वाक्यतल मलाई पढ्न मन थिएन । मलाई पढ्न प्रेरित गर्यो वाक्यमा उद्धृत ‘कुख्यात नाइके’ले ।
नाइके हुन् जिमी चेरिजियर । उनी ‘बारबेक्यु’ नामले पनि चिनिन्छन् । उनीबारे धेरै विवरण समावेश छैन समाचारमा । मात्र यत्ति छ कि उनी कुख्यात गिरोहका नाइके, जो पुरै राज्य आफ्नो स्वामित्वमा पार्न चाहन्छ । जो राजनीतिका नाममा सर्वसाधारणलाई दुख दिने र तर्साउने गर्छ । गुण्डागर्दी । हुन त, समाचारमा चर्चा छ कि हाइटीको राजनीतिमा ज्यादा गुण्डागर्दी नै हुन्छ । गुण्डागर्दी गर्ने तिनै जो नेतृत्व गर्छ । यस्तो नेतृत्वबाट गर्ने आशा के ! कसरी आशा गर्ने कि देश बन्ला ! हाइटीका जनता बडो मारमा छन् । नेतृत्वप्रति वितृश्णा बहुतै बढेको छ । यसरी मारमा पर्ने विश्वमा धेरै मुलुक छन् । जसमा सोमालिया एक उदाहरण हुन सक्छ । टाढा किन, श्रीलङ्का र पाकिस्तान हेरौँ, छिमेकी राष्ट्र । यी देशले युद्द, हिंसा र अशान्ति, भोकमरी र आर्थिक संकट लागायत सामाना गरिराखेको हामी सबैलाई जगजायर नै छ ।
राजनीति भ्रष्ट हुँदा…
आम मान्छेका हर दैनिक क्रियाकलापसँग जोडिएको दुईटा विषय अर्थ र राजनीति । यसमा पनि धेरै जोडिने राजनीति । सारा नीतिको नीति । जब यो भ्रष्ट हुन्छ देशको हाल कस्तो हुन्छ, हाइटी हेरौँ ।
होइन होइन ! राजनीति आफैँमा न भ्रष्ट हुन्छ, न खराव । भ्रष्ट्र र खराव हुने त राजनीतिक नेतृत्व हो - प्रधानमन्त्री, मन्त्री, सांसद, नेता र राजनेता । तर राजनीतिका सबै पात्र यस्ता हुँदैनन् । थोरै सङ्ला पनि हुन्छन् । जब सबै पात्र यस्ता भ्रष्ट र खराव पानीमा नुहाउँछन्, धमिला हुन्छन् । यस्ता धमिलिएका पात्र नेपाली राजनीतिमा पनि छन् । जो अस्थिर छन् । जो स्वस्वार्थी छन् । जो भ्रष्टाचारी र स्वशासनकेन्द्रित छन् । यस्ताले कसरी बनाउँछन् देश ? यदि बिगार्नु छ भने चाहिँ…!
नेपाल नबन्नुमा यस्ता पात्रको ठुलो हात छ । जति बनेको छ, सङ्ला पात्रको देन हो ।
हाइटीको यो हाल हुनुको कारण पनि भ्रष्टाचार, कुशासन, स्थिरता र भरोसायोग्य नेतृत्व अभाव हो । यसको परिणाम देशमा गृहयुद्द, भोकमरी, गरिबी, वेरोजगार, कुपोषण र वितृष्णा इत्यादि । एकातिर यो, अर्कातिर प्राकृतिक विपत्ति । समाचारमा एक ठाउँ यस्तो लेखिएको छ - त्यसैले हाइटीबाट आउने अक्सर समाचार ग्याङ वार, कु, जनविरोध, प्राकृतिक विपत्तिबाट हजारौँको मृत्यु, महामारी, कुपोषण...सम्बन्धी हुन्छन् । दशकौँ बित्यो तर हाइटीबाट आउने यस्ता खबरहरू बदलिएनन् ।
पूरै लेखको मूल के भने राजनीति भ्रष्ट नबनाऊँ !
-२०८० चैत ९ गते प्रकाशित-
Comments
Post a Comment