परागसेचक बाँचे हामी बाँच्छौँ !
परागसेचक बाँचे हामी बाँच्छौँ !
![]() |
अन्नपुर्ण पोष्ट दैनिकको त्यही समाचारकबाट |
प्रत्येक शुक्रवार कुनै पनि सफ्ट न्यूज पढेर आफ्ना अनुभूती लेख्ने कामका लागि यसपाली मैले कृषिलाई प्रधानता दिएँ । कृषिप्रधान देश जो हो हाम्रो । राजनीतिको रमिताले रन्थनिएको म मात्र होइन, तपाईँ पनि होला । अझ युवा भएपछि झन्… । गाह्रो छ नि युवालाई । आफ्नो चिन्ता एकातिर, अर्कातिर देशको ।
हुन त साहित्य समाचार पढ्न मन थियो, साहित्यानुरागी जो हुँ । तर साहित्यमा त्यति लामो समाचार स्टोरी देखिएन, जति कृषिमा देखियो । पुस्तक विमोचनको बाहेक विरलै देखिन्छन् यस्ता समाचार साहित्यमा । यो मलाई लागेको ।
मैले पढेको कृषिप्रधान समाचार अन्नपुर्ण पोस्ट दैनिकको हो । चैत १७ मा प्रकाशित उक्त समाचारको शीर्षक छ – कृषिमा घट्दै परागसेचन, खाद्य असुरक्षा बढ्दै । समाचारले कर्णालीको कृषिमा परागसेचन, परागसेचकको अवस्था र त्यसको प्रवर्धन, संरक्षणका लागि कर्णाली सरकारको लगानीबारे बोल्छ । समाचारमा हिक्मतबहादुर नेपालीको ‘वाइलाइन’ छ । जो दैलेखका हुन् ।
परागसेचनका विषयमा मैले स्कुल छँदा विज्ञानमा पढेको थिएँ । त्यतिखेर अलिअलि बुझिएको थियो,
कितावको कुरा मात्र । यो कृषिका लागि अपरिहार्य कुरा भन्ने व्यवहारिक अध्ययन थिएन त्यो । मात्र पढ्नका लागि पढिएको । भनौँ न,
घोकिएको । त्यतिखेर के थाहा अहिले काम लाग्छ भनेर । थाहा हुँदो हो त बढी सिरियस भएर पढिन्थ्यो कि ! विस्तारै कक्षा बढ्दै गएँ,
विज्ञानका यस्ता विषयको पढाइ छुट्यो । छुटेपछि
कहिल्यै ध्यान गएन त्यतातिर । रेडियो सुन्ने बानीले थोरबहुत सुनेको र बुझेको थिएँ परागसेचनका बारेमा । आज मैले जे पढे,
त्यस्तै खालको जानकारी रेडियोमा बजेको एउटा
कृषिसम्बन्धी कार्यक्रममा पाएको हुँ । तर
त्यसलाई पनि सिरियस भएर सुनिएको थिएन यसकारण कि यो मलाई के काम । तर संसारमा कुनै
पनि यस्तो कुरा छैन, जुन कसैका लागि काम
नलागोस् । संसारका हर विषय वा कुराको आफ्नै वैशिष्ट्यता छ,
जस्तो परागसेचन वा परागसेचक विशिष्ट हो कृषिका लागि
।
हो, परागसेचन नभइनहुने कुरा हो
कृषिका लागि । यसले वातावरणका साथै कृषिलाई सन्तुलित राख्न सहयोग गर्छ । वातावरणको जैविक पक्षलाई एउटा चक्रमा चल्न सघाउँछ । भन्नाले, कुनै पनि बोट-बिरुवाको प्रजनन प्रक्रियामा महत्वपूर्ण भुमिका हुन्छ परागसेचन वा परागसेचकको । मौरी, चरा, बारुला र झिँगा आदिले बिरुवाको प्रजनन प्रक्रिया सघाउने भएकाले यी नै परागसेचक हुन् । ती परागसेचकहरू कर्णालीमा प्राङ्गारिक उद्देश्य प्राप्तिको लागि अत्यावश्यक र बहुमूल्य कृषि सामग्री रहेको पाइएको छ । अन्तिमको एक वाक्य अन्नपुर्ण पोष्टमा छापिएको त्यहि समाचारको हो । सुरु
त्यसै एक वाक्यबाट गर्छु ।
ब्रिस्टोल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको प्राविधिक सहयोग तथा डार्विन इनिसिएटिभअन्तर्गत ली–बर्ड र हर्ड इन्टरनेसनलको कार्यान्वयनमा सञ्चालित नेपालको कृषि प्रणालीमा दिगो परागसेचन व्यवस्थापन परियोजनाको प्रतिफलले माथि लेखिएको तथ्य देखाएको हो । परियोजनाको अध्ययनले के पनि देखाएछ भने परागसेचकहरु प्राङ्गारिक
मल भन्दा शक्तिशाली
हुन्छन् । तर पछिल्लो समय परागसेचकको कमीले गर्दा कर्णालीको कृषि प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।
समाचारमा प्रमुख चार कारण
उल्लेख छ, जसले
कृषिका लागि अपरिहार्य परागसेचक क्रमश कम हुँदै गएका हुन् । जलवायु परिवर्तन, किरा नष्ट गर्न र झार व्यवस्थापनका लागि प्रयोग हुने
विषादी, छाडा
पशुचौपाया र सघन कृषि प्रणाली । जलवायु परिवर्तनको प्रभाव कर्णालीमा मात्र होइन, नेपालभरी, अझ
विश्वभर छ । विषादीले किरा र झार त मार्छ, सँगै कृषिलाई पनि मार्छ । अर्थात, सबै किरा कृषिका लागि हानिकारक हुँदैनन् । विषादीले शत्रुकिरा
मात्र होइन सँगै मित्रकिरा (परागसेचक) पनि मर्छन् । अनि मर्छन् मान्छेहरु । हो, मान्छे पनि मर्छन् । किनभने, मान्छे र कृषिबिच जस्तो सम्बन्ध छ, त्यस्तै सम्बन्ध छ कृषि र परागसेचकबिच ।
यस्तै, छाडा चौपाया । छाडा
चौपायाले अधिचरण गर्छन् । अधिचरणले गर्दा
परागसेचकको आहार घट्छ । आहार नपाएर
वरिपरिका परागसेचक घट्छन । र स्वत: कृषि उत्पादन घट्छ ।
परागसेचकको भरमा बाँचेको हुन्छ कृषि । अब परागसेचक नै नभएपछि कहाँ हुन्छ कृषि उत्पादन ? कसरी धान्ने सधैँ खाद्य संकट व्यहोरिराख्ने कर्णालीलाई ? यसले गर्दा खाद्य सुरक्षामा जोखिम निम्तिन सक्ने सम्भावना कुनै टाढाको विषय रहेन । चिन्ता बढेको छ, कर्णालीबासीलाई । समाचारमा उल्लेख भएबमोजिम कर्णाली सरकारलाई चाहिँ यसबारे चिन्ता रहेनछ । आफ्ना कृषि सम्बन्धी नीति नियम कार्यक्रम एमं परियोजनामा कृषि संकट हटाउने गरी परागसेचक संरक्षण गर्ने कुरामा कर्णाली सरकारले बल्ल सुरसार गर्दै रहेछ । ढिलै भए पनि काम थालेको छ । खुसीको कुरा । तर यसबारे नीति बनिसकेको भने होइन, खाका मात्र हो । अझ, त्यो खाका वा मस्यौदा ऐन बनेर कहिले आउँने हो । चाँडै बनोस्, कामना गरौँ ।
परागसेचन प्रणाली र परागसेचकको महत्व धेरै
छ । कति भने योबिना त कृषि उत्पादन नै सम्भव छैन । कृषि उत्पादन र सन्तुलनका लागि
यो यस्तो प्राकृतिक औषधि हो, जुन
सित्तैमा पाइन्छ । यस्तो सित्तैमा पाइने कुराका विषयमा कृषक त छँदै थिए, नीति निर्मातालाई समेत ज्ञान छैन । यो दुखद हो । ज्ञान हुनुपर्नेलाई छैन
भने यसले स्वत खाद्य संकट र खाद्य अशुरक्षा निम्त्याउँछ । सायद कर्णालीमा सधैँ
खाद्यलाई लिएर समस्या देखिने कारण यहि हो । जसको असर मलाई पनि थाहा छ ।
कर्णालीबाट कति नै टाढा हो र सुदुरपश्चिम ! छिमेकी नै त हो । सुदुरपश्चिममा जन्मिएर डेढ दशक गुजारेको छु मैले । मैले भोगेको छु अन्न अभाव । आज पनि त्यहाँका अधिकांशले एक छाक चामल खानकै लागि कम संघर्ष गर्नुपर्दैन । म बाजुराको हुँ । बाजुरा घर जाँदा म अहिले पनि के देख्छु
भने, तरकारीमा चाउचाउ र
स्वाइविन । अनि सबैभन्दा पोषिलो भनिने कोदो मकै बेचेर चामल किन्ने प्रवृत्ति ।
यस्तो मानशिकताले नै हो त्यहाँ खाद्य अभाव भइराख्ने । यी मात्र होइन अनेक यस्ता
उदाहरण छन्, पोषणबारे ज्ञान नभएकाले दुख भोग्नुपरेका । फेरी
यस्ता समस्याको दिगो समाधान सरकारले गर्न सकेको छैन । जमिनको सम्भाव्यता अध्ययन
गरेर कुन ठाउँमा कुन अन्नबाली राम्रो भन्नेमा काम
नभएको स्थिति छ । यस्तोमा खाद्य संकट नभएर के हुन्छ ? मैले यो अनावस्यक कुरा गरेको होइन । मैले पढेको समाचारसँग जोड्न खोज्दैछु
। र, विशेष कर्णालीकै विषयमा जोड्न खोज्दैछु । कृषि
उत्पादनसँग हामी कसरी गाँसिएका छौँ र कति महत्व छ भन्ने बुझाउनु पनि हो यो वर्णनको
ध्येय ।
परागसेचक घटेको कर्णालीमै मात्र होइन होला । नेपालका अरु भुभाग मात्र होइन, कारण जलवायु परिवर्तन भनेपछि यो विश्वव्यापी समस्या हो । त्यसैले
पर्यावरणीय सन्तुलन कायम राख्न र कृषि बचाइराख्न, अझ आफैँ बच्न विश्वबासीले जलवायु परिवर्तनका सवालमा राम्रा काम गर्नुपर्छ
। भएका छन् तर अपर्याप्त छ । अझैँ गर्नुपर्छ ।
हाम्रो कृषि प्रणालीमा परागसेचकको भुमिका महत्वपुर्ण रहने हुँदा
यिनलाई जोगाउनुपर्ने र जोगाउन सरकारसँगसँगै सरोकावाला सबै लाग्नुपर्छ । यो लेखले
भन्ने मूल कुरो । वा मैले यति लामो लेख्नुको चुरो कुरो यो ।
यसपाली समाचारलाई लेखमा समावेश नगरी आफ्ना अनुभुती मात्र राखेँ । यस्तै उपयुक्त लाग्यो, यसकारण कि समाचार त यो लेख पढ्नेले पढिहाल्छन् नि । मैले मेरो भोगाइलाई जोड्ने हो । त्यसैले मैले मेरो भोगाइ या अनुभव मात्र लेखेँ ।
-२०८० चैत्र १८ मा प्रकाशित-
Comments
Post a Comment