एक आत्मपरक निबन्ध - शब्दशक्ति !
शब्दशक्ति !
मलाई चार चीजसँग
प्रेम छ ̶ मेरा अनुभूती, शब्द, कलम र कापी । भन्न खोजेको, मलाई लेख्न मनपर्छ । अब त
के, 'पर्थ्यो’ भनौँ होला । किनभने, यो
कथा झन्डै एक वर्ष पहिलेको हो । फेरी, कथा नभनौँ, व्यथा भनौँ होला । होइन होइन,
आजको पो व्यथा त….!
कथा या व्यथा, जे भनौँ । अब यसैलाई (लेखन वा पत्रकारिता) पेशाका रुपमा अपनाउने
भनेपछि लेख्नु त करै लाग्छ । अब लेखन-लगाबलाई लगाबकै रुपमा लग्नुछ त्यहाँ, जहाँ मैले म जन्मनुको
सार्थकता भेट्नेछु ।
भोलि लेख्छु भन्छु ।
भोलि आउँछ तर भोलि आउँदैन (लेखिदैन) ! आजसम्म भोलि कतिचोटी आयो, म स्वयंले जानेको छैन । गणना
गरेरै साध्य छैन । ०८० सालको सुरुदेखि थालेको हुँ, भोलि लेख्छु भन्न । सालै सकिन
लाग्यो, लेख्न थालिएकै छैन । कहिलेकाहिँ त आफ्नै आलस्यपनमाथि बडो रिस उठ्छ । रिसकै
झोकमा झोक्किदिन्छु - ए भुवन, तँ के भा'को, भोलि भोलि भनेर भोलि आउँछ ? लेख्छु भनेको गर्नुपर्दैन ?
अँ, सँगै सुझाब रहन्छ आफैँलाई - अबबाट भोलिवादको भजन गाउँन
बन्द गर्, नत्र भोलि अगाडी अगाडी गइराख्छ, तँ पछाडी पछाडी गइराख्छस् !
भोलिवादले ग्रस्त
समाजमा म यक्लो कहाँ चुकेँ हुँला र ? मलाई पनि भोलिवादले लखेट्यो, खेद्यो । या स्वयंले पछ्याएँ ।
भोलिवादभन्दा पनि
समाज पछ्याएँ । जे पछ्याऊँ !
मेरो भोलिवादको
भजनले, न भक्ति भो, न मनमा शान्ति भो । मन यति बेचैन भो कि सायद त्यसैको परिणति
हुनसक्छ आज म ठुलो विषादले छटपटाइरहेछु । हप्ता भयो, यो विषादले समातेको । कलेज जानै सकेको छैन ।
सबैभन्दा आत्मिय ठाउँ कलेजसँग सम्बन्धबिच्छेदले म अझ छटपटाइरहेछु । किनभने मेरो मनजन्य
बात बुझ्ने कलेजबाहेक कोहि छैन । भन्न खोजेको, घरमा मसँग हुने कोहि हुन्न । मसँग म मात्रै
हुन्छु, यक्लो । जब म यक्लो हुन्छु, तब यो सोँच आउँछ, संसारमा मेरो कोहि छैन । म साराबाट सम्पर्कबिहिन
जस्तो लाग्न थाल्छ । तर कलेजमा त साथीहरु हुन्छन्, जो मेरै उमेरका छन् । उनीहरुको र मेरो भावना
मिल्छ, भोगाइ मिल्छ र अनुभूती, सारा मिल्छ । त्यसैले मलाई कलेज मनपर्छ ।
कलेज नजाँदा म एक्लो
हुन्छु । यक्लो भएपछि कोसँग बोल्नु ? मन कोसँग खोल्नु ? बोझ पोख्नु कहाँ ?
कमसेकम, कलेज जाँदा
कोहि त हुन्छन्, जो बोल्छन्, म बुझ्छन् र बोझ बोक्छन् ।
यहाँ, ममा बेचैनी
बढ्नुमा कलेजसँग सम्बन्धबिच्छेद एक कारण हुनसक्छ । अर्को चाहिँ, एक्लोपन । खैर, यो
प्रशंगलाई परै धकेलौँ । अलि पछाडी फर्किऊँ ! म लेखनको कुरा गर्दै थिएँ । भोलिवादको प्रशंग ।
अँ, मलाई मभित्रको
संवेदना लेख्नु थियो, मनोभाव लेख्नु थियो । भोलि-भोलि भन्दाभन्दै आजसम्म बित्यो । संवेदना
मभित्रै सड्यो, भाव मनभित्रै भासियो । र मलाई यसरी विषादले समात्यो । र छटपटाएँ ! मलाई सन्चो भएन ।
यो छटपटी र असन्चो
कतिसम्म हो कुन्नि !?
संवेदना र भावहरुलाई
कवितामा कोरेकै हो । गित बनाएर गाएकै हो । मुक्तकमार्फत उन्मुक्त हुन खोजेकै हो ।
तर पनि, के के भन्न नपुगेको जस्तो भइरह्यो । के के लेख्न नपुगेको जस्तो लागिरह्यो
। के के सुनाउँन नसकिए जस्तो सकसताले सताइरह्यो ।
मैले सबैभन्दा बढी म
युवा भएका नाताले युवाकै कुरा लेखेँ । युवालाई सरकारले दिएको यातना, प्रताडना लेखेँ । बेरोजगारी
र युवामा देखिएको मानशिक हलचल लेखेँ । थुप्रै लेखेँ । अस्थिर सरकारले गिर्दो देशको
शाख पनि लेखेँ । यी सब कथा र कविता अनि गित र गजलमार्फत लेखेँ । तर भनिहालेँ नि, यसले मलाई पुगेन । म यिनमा
बाँधिएँ ।
आज निबन्धमार्फत ‘निर्बन्ध’ हुन मन लाग्यो । स्वतन्त्र
हुन मन लाग्यो । स्वतन्त्र यसकारण कि म आज आफ्नै रस-निरस संवेदनामा बाँधिएको छु, नियन्त्रित छु । जब
म आफ्नै संवेदनामा बेरिन्छु, तब सारा निरस लाग्छ । सारा जीवन, सारा जगत, सारा सृष्टि । पछिल्ला
केही दिनबाट यस्तै महसुस भइरहेछ ।
कस्तो भने, मेरो मनभित्र बाढी बगेजस्तो
अथवा मन नै बाढी जस्तो । बाढी कस्तो हुन्छ ? ढुङ्गा, माटो, बालुवा, रुख, पातपतिङ्गर, काठ र मृत जीवावशेष इत्यादि । यो सब मिलेर बाढी बन्छ ।
अँ, पानी छुट्यो । सबभन्दा बढी पानी हुन्छ बाढीमा । खोलाको बाढीमा सबभन्दा बढी पानी
भए जस्तै मेरो मनको बाढीमा सबभन्दा बढी शान्ति बगेको छ ।
अचम्म मान्नुहोला ।
नमान्नुस् ! कहिलेकाहिँ शान्ति पनि घातक हुँदो रैछ । फरक अर्थ नलागोस्, यहाँ मैले प्राणप्रिय
ठानेकी तर मेरी नभएकी शान्तिको कुरा गरेको !
बहुत प्यार गर्थेँ
उसलाई । उसले पनि गर्थी । तर हाम्रो प्यारका पछाडी पछ्याउँदै आउँदै रहेछ समाज र
पछ्याउँदै रैछन् समाजका सजीवले । हाम्रो जात मिलेन रे । हाम्रो थर मिलेन रे । अझ
हामी मान्छे मिलेनौँ रे ।
हामी एक भएनौँ ।
हामी अलग्गियौँ ।
म यसरी छटपटीनुमा
शान्ति अर्को कारण हुन सक्छ ।
मनमा अर्को शान्तिको
आवश्यकता छ मलाई । यस्तो शान्ति, जसले मभित्रको विषाद विसेक गरोस् । तर थोरबहुत त छँदैछ
शान्ति । र शान्ति सँगै छन् अरु संवेदना । र त मलाई यस्तो भयो ।
मभित्र शान्तिको
अनुभूती छ । मभित्र प्रेमभाव छ । मभित्र कसैप्रति घृणा छ । मभित्र दनदन बल्दो
आगोसरी क्रोध पनि बाँचिरहेछ । मभित्र वितृष्णा छ । मभित्र चिन्ताको चाङ छ । मसँग पहाड छ
पीडाको । मभित्र रहर छन् कयौँ । लिएका र लादिएका जिम्मेवारी छन् । मभित्र यौवनका
ठेलीकाठेली सपना छन् । मभित्र सारा छन् । एउटैभित्र कसरी अटाउँन सक्छन् यतिविघ्न
संवेदनाहरु ? कसरी थामिन सक्दो हो एकै मान्छे यत्रो विद्युतीय झट्काबाट ?
झट्का पनि यतिविघ्न
असरदार कि झन्डै डिप्रेशन ! तर डिप्रेशन चाहिँ भइसकेको होइन । भइहाल्यो भने पनि त आजको
जमानामा यो अस्वाभाविक होइन । सामान्य बनिसकेको छ । अझ मजस्तालाई त बढी सामान्य हो
। आज प्रत्येक घरका कम्तिमा एक युवा यस्तो समस्याबाट गुज्रिएका छन् । यसको उदाहरण
मै हुँ । मैले माथि भनिहालेँ नि, मभित्रका मिश्रित संवेदनाले मलाई यस्तो बनायो । अझ के भने, ति अव्यक्त रहँदा झन खतरा ।
संवेदना व्यक्त गर्न
जान्नुपर्ने रहेछ । राम्रा संवेदना त जहाँ, जोसँग र जहिलेसुकै व्यक्त होस्, त्यसले कसैलाई हानि हुँदैन
। क्रोध, कुण्ठा, काम, घमण्ड र घृणा जस्ता संवेदना जहाँतहीँ होइन, पात्र र परिवेशमा भर पर्छ
व्यक्त गर्ने वा अव्यक्तै रहने ।
म एक समय वर्षौँ
पात्र र परिवेश नपाएर छटपटाएँ । झन्डै चार वर्षसम्म । मनभरी पिँडाहरु पालेर बसियो-यक्लोपनको पिँडा, आफन्तबाट टाढिएको पिँडा, आफ्ना कुरा भन्न नसकेको
पिँडा, डरको पिँडा अनि आफ्नो आगतको पिँडा ।
यी अनेक पिँडाका
प्रकार पनि हुन् मेरो यो हाल हुनुका दोषी !
पछि मसँग कलम जोडियो, कापी जोडियो । शब्दसँग साथ गरेँ
। भाव त मसँगै थिए, जत्ति । यो सब भएपछि कसरी
शब्दमार्फत आफ्ना भाव अरुमाझ व्यक्त गर्ने भन्ने सिकेँ । कथा, कविता, गित र गजल । यी सबमार्फत
भनेँ भरपुर मनका पिँडा या अरु भाव । मलाई आत्मसन्तुष्टि भयो । यति भयो कि नभनौँ ।
शब्द साथी भए । लेखन एक्लोपन र मानशिक दबाई भयो ।
यसरी भन्नुभन्दा फाइदा
अरुबाट लागेन मलाई । किनभने यसरी भनिँदा मभित्रका राम्रा या नराम्रा जुनसुकै भाव
भन्न मिल्छ, भनेँ । कुनै हानि भएन । अर्को, लेख्ने बानी बन्यो । र अहिले म जुन लक्ष्य लिएर हिडिरहेछु, पत्रकारिता, यो यसैको परिणाम हो । मलाई
लेख्नुछ, आवाज नहुनेका आवाज । मलाई लेख्नुछ,
व्यक्ति, समाज र राष्ट्र ।
अबबाट भोलि भनिने छैन । भोलिवादको परिणती भोगेँ मैले मनग्यै । मैले चिनेँ शब्द र शब्दशक्ति । अब आजै लेख्नुछ, आजकै समय !
-२०८० चैत्र ३० गते प्रकाशित-
Comments
Post a Comment