मैले देखेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मैले भोगेको त्रिभुवन विश्वविद्यालय
मैले
देखेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मैले भोगेको त्रिभुवन विश्वविद्यालय
- भुवन खत्री
म जहाँ बस्छु, त्यसको छेवैमा छ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । यहाँबाट दैनिक हजारौँ युवा विदेशिन्छन्, सुन्नेलाई त सामान्य लाग्ला । म देखिरहेछु दैनिक यही दृश्य । देख्दा लाग्छ, विचरा ! भर्खरैका यी चल्ला कसरी सक्दा हुन् उड्न, पखेटा बेगर !
त्रिविमा पढ्छु । त्रिवि अर्थात् त्रिभुवन विश्वविद्यालय । नेपालको पहिलो विश्वविद्यालय । र, देशकै ठुलो पनि । मैले भोगिरहेछु सधैँ एउटै रटान । निरस पढाइ, एक्लो पढाइ, नबुझिने, अस्पष्ट र राजनीतिक पढाइ ।
थाहा पाउनु वा
बुझ्नु ठुलो कुरा हो । सुनेर थाहा पाउनु, देखेर थाहा पाउनु
र भोगेर थाहा पाउनुमा अन्तर छ । सुनेर थाहा पाएको कुरा न भोगिन्छ, न बुझिन्छ। कम
थाहा हुन्छ । देखेर थाहा पाउनु भनेको आधा भोग्नु हो । र भोग्नु भनेको सब थाहा पाउनु हो । मैले भोग्दैछु
त्रिविमा पढ्दाका उराठ दिनहरु । मैले देख्दैछु, त्रिभुवन विमानस्थलबाट बाहिरिएका युवा-लहर । यो लहरमा म
मिसिन चाहन्नँ । अर्थात् भोग्न चाहन्नँ । यत्ति चाहन्छु, मलाई स्वदेशमै
रहने वातावरण बनोस् !
स्वदेशमै रहने वातावरण भन्दै गर्दा, म पढिराखेका तपाईलाई चाहिँ के लाग्छ, वातावरण सरकारले बनाउने हो या स्वयंले ?
सरकारले पनि बनाउने हो । हामीप्रति सकारको उत्तरदायित्व एक ठाउँ छ । यद्यपि, सरकारभन्दा आफ्नै भुमिका पनि महत्त्वपूर्ण छ । म यो सोच्छु, सीप र दक्षता हुनेलाई कहिँ पनि अवसरको कमी छैन । अनि इच्छाशक्ति स्वदेशमै रहने हुनुपर्छ । स्वदेशप्रति प्यार हुनुपर्छ । विदेशिने लहडमा लागियो वा सपना नै त्यहि छ भने त कहाँ हुन्छ प्रगति ! प्रयास नगरे प्रतिफल मिल्दैन । प्रयाससँगै चाहिन्छ निरन्तरता । निरन्तर नगरिएको कामको परिणाम अधोगतितिरको हुन्छ । परिणाम ऋणात्मक हुन्छ । तलतिरको प्रगति कसलाई पो मन पर्ला र ! भन्न खोजेको, हामीले प्रण गरौँ कि म जस्तोसुकै गर्नु परोस्, स्वदेशमै गर्छु । स्वदेशमै रहन तयार हुनुपर्छ । जसरी तयार हुन्छौँ, विदेशमा ट्वाइलेट सफाइकर्म गर्न या अरु नीचकर्म (म जस्तो आम नेपालीको नजरमा) गर्न ।
मैले ‘चल्ला’ भनेँ नि, माथि । हुन त म पनि चल्लै छु । १९ वर्षको भएँ । यही उमेरका कतिपय युवा विदेशिने तयारी गर्दै होलान्, पखेटा तन्काउने तरखर गर्दै होलान् । राहधानी लिन लाइनमा होलान् । कोही अरुको भाषा घोक्दै होलान् । म भने नेपाली आकाशमै कसरी उड्ने, सोच्दैछु । मैले भनिहालेँ, असमयमै उड्ने मनसाय छैन मेरो । म उड्छु समय आएपछि तर स्वदेशी आकाशमै । अहिले पखेटा नबनिसकेको डर छ मलाई ।
म पनि नेपाली हुँ । अरुजस्तै ममा पनि विदेशले नतानिराखेको होइन । मेरो सकारात्मक चिन्तन व्यवहारले ‘विदेशिने लहड’ सँग लाग्न सकिनँ । लहडी बन्न मन भएन । मेरो मान्यता छ, देशमा हामीले सोचेजति नकारात्मकता मात्र छैन । सम्भावनाको सुनखानी हाम्रो भूमिभित्रका कयौँ सम्भावनाले हामीलाई नै कुरिबसेका छन् । होला, नेतृत्वमाथिको चरम निराशा र वितृष्णा । तर देशमा निराशाका कुरा मात्र छैन । विकासका काम पनि भइराखेका छन् । मान्छेको स्वभाव नै हो नकारात्मक बढी देख्ने । उदाहरणार्थ, हामी जीवनका सुखभन्दा दुख ज्यादा सम्झन्छौँ । हाम्रो सवालमा पनि यस्तै भएको हो । हामीले भइराखेका विकासका काम सम्झिएनौँ । ज्यादा नकारात्मक बन्यौँ । यसको जिम्मेवार सन्चार माध्यम हुन् । सन्चार माध्यमको स्वभाव नै ‘व्याड न्यज र स्याड न्युज’ प्रकासन/प्रशारण गर्ने हो । अनि यसका उपभोक्ता हामी नै हौँ । हामी बन्ने त्यस्तै हो, जस्तो पढ्छौँ, देख्छौँ, विचार्छौँ, र सुन्छौँ ।
अलिकति शुभ सोच्ने की ? किनभने, विचारले नै मान्छे बनाउँने हो । जस्तो विचार, त्यस्तै मान्छे । विकासको क्रान्ति तब सम्भब छ, जब विचारमा क्रान्ति आउँछ । अर्थात् सकारात्मक विचारको क्रान्ति । यो आफैँबाट आरम्भ गरौँ न । अनि हेरौँ । कल्पौँ त, सबमा सकारात्मकता भएको देशमा… ।
के हुँदैन त्यसपछि ?
तर के यो सम्भब छ ?
घरको छत हुँदै उड्छ विदेशिनेको विमान । विमान हेर्दै कल्पन्छु, यी विदेशी विमानभित्र प्रत्येक नेपाली युवाले आफ्ना सपना बोकिहिडेका छन् । उनीहरुमा जाँगर छ । यदि यहि सपना र पसिना स्वदेशमै पोखिएको भए, आहा…क्या सुन्दर बन्थ्यो देश !
सपना देख्नुपर्ने रहेछ । तर निन्द्रामा देखिने जस्तो होइन । जीवनमार्गको सपना । भनौँ न, जीवन हिडाउँने मार्गको सपना । सपनासँगै चाहिने रहेछ जाँगर वा हुटहुटी, जे भनौँ ।
यो १९ वर्षे चल्लाले एउटा सपना देखेको छ । हुटहुटी पनि कम छैन । सपना के होला, अनुमान गर्नुस् ल ? किनभने सपना भन्नुहुन्न रे के ! म अनुमानको सुविधा दिन्छु । मलाई लेख्न मन छ । मलाई बोल्न मन छ । मलाई व्यस्त र मस्त हुन मन छ । मलाई हतारको पेशा मनपर्छ । मलाई कथा लेख्नुछ आफ्नै गाउँ-समाजको । मैले आवाज भन्नुछ आवाजविहिनको । खास त कथाहरु लेख्नुछ, ‘हेर्ने कथा’ झैँ । अब अनुमान गर्नुस् … ।
यद्यपि मैले देखेको सपना पूरा हुनेमा हच्किन्छु । हच्किनँ बाध्य छु । त्रिविले मेरो सपना पूरा गर्नमा कति सघाउला, हेर्न बाँकी छ । उसको कार्यशैली सञ्चार माध्यममा सुनेकोझैँ हुने हो भने त कहाँ पूरा गर्ला र ! मलाई पढ्नाको दुख मात्र !
स्कूल पढ्दा कलेजबारे जति मिठो कल्पन्थेँ, त्यो छैन कलेज आइपुग्दा । कलेजमा पढाइभन्दा राजनीति ज्यादा हुन्छ भन्ने सुनेको थिएँ । त्यहि देख्दैछु । यहाँ अनेक विद्यार्थी संगठन छन्, दलविशेषका । ती विद्यार्थी हकहितका नाममा हामीमा राजनीति गर्दैछन् लाग्छ । बेलाबेला चलिराखेको कक्षामै आएर के के सूचना सुनाउँछन् ! त्यसबेला म सूचना होइन, यो आग्रह सुन्छु – आऊ, हामीसँगै । सँगै सहकार्य गरौँ !
राजनीति रुचाउनेलाई त आग्रह ठिकै लाग्ला । मलाई के ! म त पढ्नलाई जान्छु कलेज, राजनीति सिक्न होइन । कलेजकै लाइब्रेरीमा छन् मनग्यै ज्ञान । सिक्न चाहे त्यतै जान्छु । त्यहाँ मेरो जीवनवृत्तिका लागि सघाउँने पुस्तक पनि छन् ।
लाइब्रेरीपछि मैले सिक्ने भनेको कक्षाकोठामा हो । कक्षाकोठा मलाई कक्षाकोठा
जस्तो लागेन । कक्षाकोठा कस्तो हुन्छ या हुनुपर्छ ? जानेको छैन यसको
मापदण्ड । खैर, त्यसको मापदण्ड जस्तो होस्, जस्तो व्यवस्था गरिएको होस् । एउटा असल विद्यार्थीका पक्षबाट यस्तो मापदण्ड
हुनुपर्दो रहेछ – कक्षा भरिभराउ
होस् विद्यार्थीले । विद्यार्थी आफूजस्तै अध्ययनशील भेटिउँन् । कक्षाहरु निर्बाध
चलूस् । कक्षाभित्रको वातावरण आत्मिय बनोस् । प्राध्यापक समयमै आइदिऊन् । जो
हामीलाई बझ्ने र बुझाउने क्षमता भएका होउन् । बेलाबेला रमाइलो पनि गर्ने । हाम्रै
हित सोच्ने होउन् । आदित्यादि ।
तर मेरो मापदण्ड एकदम थोरै मात्र पुगेको भान हुन्छ ।
जब पढ्न कलेजका कक्षाकोठा बस्छु, लाग्छ यो कि पढ्ने म यक्लै छु । शुन्य लाग्छ कक्षाकोठा ! बेन्चहरु खाली देख्छु । कल्पन्छु, खाली बेन्च एकापसमा कानेखुसी गर्दा हुन् - आजभन्दा केही वर्षअघिसम्म यो कक्षा भरिभराउ हुन्थ्यो । हामीमाथि अटिनअटी अटाउँथे विद्यार्थी । आज कता गए होलान् ?
त्रिविको विद्यार्थी मलाई कम्ता पिरोल्दैन यी डेस्क-बेन्चका कानेखुसीले !
कता गए होलान् ? बेन्चको यो प्रश्न तपाई र मलाई । बेन्चले सोधेको प्रश्नको उत्तर जानेकै छौँ, भन्नु नपर्ला ।
तैपनि, ती कक्षाकोठाका बेन्च यदि सुन्थे भने सुनाउँथेँ
- तिमीले सही बोल्यौ । केही वर्षअघि मात्रै तिम्रा कक्षा विद्यार्थीले खचाखच
हुन्थे । देशको अग्रणी शैक्षिक थलो त्रिभुवन विश्वविद्यालय विद्यार्थीले भरिभराउ हुन्थ्यो
। तर विडम्बना, आज तीँ तिम्रो त्रिभुवन विश्वविद्यालय होइन, त्रिभुवन
विमानस्थलको बाटो हुँदै विदेशमा विलिन हुन्छन् ।
विश्वविद्यालयसँग विमानस्थल जोड्न मन लाग्छ, बिचमा म राखेर । म अर्थात् युवा ।
१२ सकेर विश्वविद्यालय लाग्नुपर्ने विद्यार्थी कता लागिरहेछ आज ? किन लागिरहेछ वा कुन मनस्थितिले लागिरहेछ ? लाग्नुका कारण को-को वा के-के ? यि सबको जवाफ दिने कसले ? विद्यार्थीले वा युवाले ? कि विश्वविद्यालयले ? वा सरकारले ?
म एक विद्यार्थी र युवा, दुबै । म विद्यार्थी भएकाले पढ्नुपर्छ । म युवा भएर बेकाम बस्नु पनि आफ्नै लागि घातक छ । फेरी, पढेर काम पाउने पक्का पनि कहाँ छ र ! आजको युवा यस्तैमा दोधार छ । उसले स्वयंलाई सोध्छ - पढ्ने कि पलायन हुने ? ममा यस्तो दोधार नभए पनि आफ्नो लक्षित कर्म गर्नमा अधैर्यताको स्थिति छ । आफुले चाहेको कर्ममा जतिसक्दो चाँडो लाग्न पाऊँ भन्ने भावले म आफैँबाट धेरै सताइएको छु । यो हुनु कोन् सा बडी बात् भन्ने तपाईलाई लाग्ला । एकछिन चिन्तन गर्नुस् त, गहिरिएर । यो कहाँ सानो कुरा हो र !
आफुले उत्कृष्ट दिन सक्छु लाग्ने र आफुमा रुचि, खुवी वा क्षमता भएको पेशा छानेर काम गर्न उत्कट इच्छा बोकेको मलाई सरकार वा सम्बन्धितले भन्न सक्दैन – तिमी आँट, हात दिने हामी छौँ ।
अनि जताततै निराशा
कुरा मात्र । जताततै नकारात्मक मात्र । अनिश्चित भविष्य । यस्तो अनिश्चिततामा कसरी
निश्चिन्त बनूँ काम पाउनेमा ! त्यसैले मलाई
कामको अनिश्चितताले पिरोल्छ । सायद विदेश गएका अधिकांशलाई यस्तै बाध्यता आइलाग्यो
र गए । उनीहरुलाई पढेर समय सक्नु सट्टा विदेश उपयुक्त लाग्यो र गए । अनिश्चिततामा
बाँच्नुभन्दा पराइको पाउ पुछ्नुमै मज्जा लाग्यो र गए । सारालाई बाध्यताले लखेट्यो
र जानुपर्यो । नत्र कसलाई रहर र विदेश ! तर मैले माथी
एकठाउँ भने जस्तै ममा कुनै पनि विषयक्षेत्रमा रुची, खुबी र क्षमता छ भने, त्यो यत्रतत्र
बिक्छ ।
त्रिविका भर्नादेखि नतिजा प्रकाशनसम्मका त्रुटि वा विवादले ममा पर्ने प्रभाव पूरा भोगिएको छैन तर पनि चिन्ता हुन्छ । आन्तरिक परिक्षामा कलेजहरुले मनलाग्दी अंक दिएको, प्रथम वर्षको नतिजा चौथोँ वर्षसम्म ननिस्कने, उत्तरपुस्तिका हराउनेलगायत समाचार सुनिएकै हो । यो मैले भोग्नु नपरोस् । यस्ता कुराले विद्यार्थी र उसको पूरा भविष्यमाथि कस्तो असर पर्छ भन्ने सम्बन्धितले बुझोस् ! मूलत त्रिविले ।
यस्ता थुप्र साना उल्झनमा छ त्रिवि । प्रशासनिक थुप्रै काममा राजनीतिक पहुँचको बोलवाला छ । ह्या.. छोडौँ ! त्रिविका व्यथिति यति धेरै छन्, वयान नगरौँ । वयान गरेर पिरोलिनु मात्र पर्छ । यहाँ पिरोलिनुपर्ने पिरोलिएका छैनन् । म मात्र पिरोलिएर के ! म अर्थात् सम्पूर्ण विद्यार्थी । त्रिविमा भर्नादेखी नतिजासम्मका अनियमितताकर्ता, चाकडीवाला र व्यथितिका नायकहरु पिरोलिएका छैनन् । त्रिविका कुलपति पिरोलिएका छैनन् । त्यसपछिका पनि कुनै पदाशिनहरु पिरोलिएको देख्नुहुन्छ ? यस्तो स्थितिमा मेरा सहपाठी के भन्छन्, था’छ ? यसरी पढ्नुभन्दा त बरु उहिल्यै विदेश गएको भए थेरथोर प्रगति हुन्थ्यो भन्छन् ! हैट ! सोच्दै जाँदा कहाँ पुगिन्छ कहाँ, भो ! बस् यत्ति इच्छा छ, त्रिविमा पढ्दै गर्दा मलाई नलागोस् – बरु उहिल्यै विदेशको बाटो हिडेको भए … ।
अझै समय छ । समय नाघिनुपूर्वै त्रिविमा शिक्षा लिन छोडेर विमानस्थलबाट काँधभरी जिम्मेवारी लिएर बाहिरिने युवाको बाध्यकारी स्थिति अन्त्य नभएसम्म देश उन्नतितिर उक्लँदैन, उक्लँदै उक्लँदैन !
यहि हो, मैले मैले देखेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मैले
भोगेको त्रिभुवन विश्वविद्यालय ।
-२०८१ जेठ २ गते बुधवार-
Comments
Post a Comment