मेरो दैनिकीका केही अंश …!
मेरो दैनिकीका केही अंश …!
आज नौ दिनपछि
स्थान : कोठा
समय : साढे पाँच (बेलुका)
पात्र : म (भुवन)
४ बजे उठ्नु थियो । तर, चार बज्न दश मिनेट पहिल्यै उठेँ । लाग्यो, सधैँ यस्तै केही न केहि उठ्ने बहाना हुँदो हो त … । किनभने, अरु दिन म छ बजेसम्म सुतिबस्थेँ । खासै चाँडै उठ्ने बहाना पनि थिएन । बिहानी कलेजका समयमा पनि म चारै बजे त कहाँ उठ्थेँ र ! जे होस्, आज घुम्नका बहानाले मलाई मनले ३:५० मै उठ्ने प्रेरणा दियो । धन्यवाद मेरो मनलाई !
उठ्नासाथ तल झरेर भुँई तलाको पछाडी ट्याङ्कीतिर गएँ । सुरुमा ट्याङ्कीका लागि पानी-फिल्टरको मेसिन चलाएँ अनि माथि ड्रामको पनि । ड्राम पूरापूर भरिँदासम्म मैले उषापान (पानी पिउने), शौचादि कर्म र कपाल नुहाएर यात्रावस्त्र पनि लाइसकेथेँ । ४:५० मा घरबाट निस्किँदा देखिहालेँ, दराजमाथिको माइक्रोफोन र सोचिहालेँ, यसलाई पनि साथै लग्नुपर्यो । काश, काम लागिहाल्छ कि ! यात्रालाई चाहिने अरु सामग्री साथसाथ झोलामा मैले माइक्रोफोन पनि हालेँ ।
र, बन्द हुनुपर्ने सारा ढोका बन्द गरेर निस्किएँ दिदीको घर, हनुमन्ते पुलपारी ।
बाटो सुनसान थियो । अलिअलि चिसो थियो । हनुमन्ते पुल नपुग्दासम्म चरोमुसोको सुइँको पाइँन । पुलमा भने केही मान्छे भेटिए, मर्निङ वाक गर्दै थिए र केही गाडी गुडेको आवाज पनि आयो । पुलबाट अलिक अगाडी दिदीको घर देखिन्छ । हेर्दा बत्ती बलिराखेको थियो । घर पुग्दा मूलगेट खुलेको थिएन । साइरनको बटन दबाएँ । म आएको थाहा पाइहाल्नुभो दिदी परिवारले ।
"ला भुवन, चाबी ! आफैँ खोल् ।" भिनाजुको आवाज थियो ।
दिदी परिवारले उठेर पनि चिया- खाजा गरिसक्नुभएछ । मैले पनि गरेँ ।
"अब हिडिहाल्ने हो, नत्र ढिलो हुन्छ ।" नानु दिदीले हतारिएको भावभङ्गीमा भन्नुभयो ।
सबैले शौचकर्ममा अनर्थ नहोस् भन्नका खातिर घरमै त्यो कर्म सकेर थिमी बस स्टेशनतिर तेर्सियौँ । त्यहाँ सुनिता दिदीको परिवार आउँदै थियो ।
चित्लाङ भ्रमणमा जाने हामी तीन परिवारका १२ जना थियौँ । अर्को टिम कलंकीबाट हामीसँग जोडिनेछ ।
५:४५ मा सुनिता दिदिको परिवार आइसकेपछि कलंकी जाने बस पनि पाइहाल्यौँ । र, चढी पनि हाल्यौँ ।
नयाँ थिमीबाट बस चढेको आदि घण्टाभन्दा अलि बढी लगाएर कलंकीको भाटभटेनी नजिकै ओर्लियौँ । हामीसँग अर्को समूह मिसिन बाँकी नै थियो। यानि, दुर्गा दिदी परिवार आउँदै थियो ।
बल्ल १५ मिनेट पर्खेपछि आइपुग्यो दुर्गा दिदी परिवार । अब हामी एक टिम भयौँ । तीन परिवारका १२ जना । १५ मिनेट लाग्यो झरेको ठाउँबाट चित्लाङ पुग्ने बसतिर पुग्न, यानि कलंकी बसपार्क । बल्खु खोलालाई सुरुमा दायाँ, पछि बायाँ पार्दै हिडेपछि बल्ल पुग्यौँ । त्यहाँ चिया-खाजा अनि शौचादि काम सकेर साढे सात बजे चढ्यौ चित्लाङको बसमा ।
र, अहिले म बसमै छु । चढेको १५ मिनेट भयो । अहिलेसम्मको लेखेर पनि सिध्याएँ । यो चित्लाङ भ्रमण उतारको जिम्मेवारी मलाई छ । सबैले भन्नुभएको छ - "चित्लाङ भ्रमण अविस्मरणीय होस् । अविस्मरणीय चित्लाङ भ्रमण उतार्ने जिम्मा तेरो । भ्रमणकालभरी फोटोग्राफर वा क्यामराम्यान, प्रस्तोता बस पत्रकार, जे भने पनि तैँ होस् ।"
म त के, फुरूङ्ग छु ! पत्रकारिताको भरपुर अभ्यास जो गर्न पाएको छु ।
….…………°~~~~°……………
चन्द्रागिरीको चुचुरोसँगै उकालै उकालो सडक हुँदै र फेरी त्यसैगरी ओरालिँदै चित्लाङ आइपुग्यौँ । ठिक दुई घण्टा लाग्यो । चित्लाङ झरेपछि त बाटो पिच छ, सहज छ । तर, यो पिचसम्म पुग्न धुवाँ-धुलोयुक्त, घुमाउरो र साँघुरो थानकोट-चित्लाङ सडकखण्ड झेल्नैपर्छ । सडक पहाड चिरेर बनाइएको छ । सुरुमा बन्दा जस्तो थियो कच्ची, अहिले पनि त्यस्तै छ ।
बसमा बसिरहेकै बेला लागिहाल्यो, 'कस्तो सरकार, जाबो यत्ति बाटो पनि राम्रो बनाउन नसक्ने !'
कच्ची बाटो अनि धुवाँधुलोले थिलोथिलो ज्यान वरिपरिको वनले आराम गरिदियो । वन बाक्लो र अनेकथरी रङमा पोतिएका रुखले भरिएको छ । अनि तल, पर जस्तो लाग्ने उपत्यका, जून आफ्नो कचौराकारमा सर्लक्क सजिएर बसेको छ । यस्तो देख्दा मनै आनन्दित हुने ।
उहिले यही बाटो हुँदै चित्लाङ्बासीले नून, तेल लगायतका सर-सामान ल्याउँथे रे ! लिच्छवीकालदेखि नै काठमाडौंबाट तराईतर्फ लाग्ने यात्रुहरु चन्द्रागिरी डाँडो उक्लिएर चित्लाङ हुँदै जाने गर्थे । चित्लाङका बारेमा रोचक र ऐतिहासिक सन्दर्भ छन् । चित्लाङ, राजा अंशु बर्माले गोठालाहरुलाई उपहारमा दिएको गाउँ हो । पहिलोपटक तराईबाट गाडी काठमाडौं भित्र्याइएको पनि यही बाटोबाट हो । जुनबेला देशमा राजसंस्था थियो । राजाकै लागि भनेर जनताले उक्त गाडी तराईबाट काठमाडौंसम्म बोकेर ल्याएको कुरा सर्वविदितै छ । यसकारण, चित्लाङ र काठमाडौं बीचको ऐतिहासिक सम्बन्ध छ, प्राचिन सम्बन्ध..। यहाँका घर परिसर सारा चित्ताकर्षक लाग्याे ।
भर्खरै खाना खाएर यो लेख्दैछु । यो अर्थात् दैनिकी, यो यानि संस्मरण, यो अथवा आजको घटना विवरण । यसको दुईटै ध्येय छ । एक, मेरो दैनिकी लेखेर सुत्ने बानीको औपचारिकता । अर्को, भ्रमणको उतार वा भ्रमण-भिडियो सम्पादनमा सहयोगको अपेक्षा ।
हो, त्यही चित्लाङको होटलमा म अहिले छु र लेखिरहेछु त्यहि । होटलमा हामी पौने छ बजे आइपुगेका थियौँ । आज दिनभर मार्खुमा थियौँ हामी सब । इन्द्रसरोवर गाउँपालिका - १ मार्खुकै आसपास इन्द्रसरोवर ड्याम र मोहिनी झरनाको मनमोहिनी आनन्द र थकानको उच्चताका बीच पाँच बजे त्यहाँबाट हिडेका थियौँ । सरोबरको सरसता र झरनाको झरझरको के कुरा गरौँ । खाना खानुपूर्व छोटो अनुभूति साँटासाँटको कार्यक्रममा अरु सबलाई सोधेपछि मेरो वाक्यको सुरुमै यसो भनेको छु - "यो भ्रमण मेरो जीवनको सबैभन्दा अविस्मरणीय दिन हो…!" जून म घर गएपछि बन्ने भ्रमण-भिडियोमा समावेश हुनेछ ।
आज धेरै गलिएको छ ! नलेखौँ भन्दाभन्दै लेख्दैछु । अहिलेलाई यत्ति नै लेखौँ होला । संक्षेपमा लेखिहालेँ वृत्तान्त । विस्तारमा त भिडियोमा आउला ।
रेडियो सुन्दै र लेख्दै पनि छु । रेडियो कान्तिपुरले 'कान्तिपुर डायरी' सुनाउन थाल्यो । नौ बजिसकेछ ! त्यो डायरी सुन्दै यो डायरी बन्द गर्छु । सुन्दै सुत्नुपर्यो !
….…………°~~~~°……………
माथिको डायरी लेखेको नौ दिनपछि …
त्यसको भोलिपल्ट सरोबर माथिको विशाल भेडाफार्म गयौँ, बिहानै । साढे सातमा गएका हामी दुई घण्टाको पैदल यात्रापछि साढे नौ बजे पुगेका थियौँ । भेडाफार्ममा भेडा थिएन । भेडा नभए पनि वरिपरिको सुन्दर परिवेश वा प्रकृति हेर्न पायौँ । नाचगान भयो, फोटो उतारियो.. इत्यादि गरियो । त्यसपछि तल सरोबर छेऊको होटलमा खाना खाने, दुई बजेसम्म त्यतै टहलिने, त्यसपछि बस आउँछ अनि मात्र घर फर्कने योजना अनुसार त्यसै गरियो । जाँदा थानकोट-चित्लाङ्को बाटो गएका थियौं । त्यो दुई घण्टाको बाटो थियो भने फर्कँदा दक्षिणकाली-फर्पिङ-बल्खु बाटोले तीन घण्टा लगाइदियो ।
जे होस्, यो सबको उतारसहितको भिडियो मेरा फेसबुक र युट्युब प्लेटफर्मका भित्तभरी छ । चार दिन लगातार लागेर सम्पादन गरेको कामको फल छ - "एकदम राम्रो छ । मोबाइलबाटै गर्न सकिने रहेछ त । मात्र इच्छाशक्ति चाहिन्छ । भोइस र स्क्रिप्ट दुबै राम्रो छ । सँगै प्रस्तुति शैली एकदमै मौलिक छ ।"
मैले खोजेको नै यही हो । जे होस्, यही कुरामा आरामको आभास हुन्छ कि थोरै भए पनि पत्रकारिताको अभ्यास हुँदैछ ।
Comments
Post a Comment