दुईटा अविष्मरणीय घटना
दुईटा अविष्मरणीय घटना
भुवन खत्री, काठमान्डौँ - पुरानो बानेश्वरबाट सिनामंगल आउने बाटो
सधैँको भन्दा बढी जाम थियो त्यो दिन । सायद पुषको अन्तिम हप्ता थियो । जाडो क्रमश
चरम हुने समय थियो ।
बिहानको साढे दश मात्र बज्दै थियो । मलाई ११ बजे
घर नपुगी भएको थिएन । मेरो दैनिकी नै यहि थियो – बिहानै उठी कलेजमा पढ्न, त्यहाँबाट फर्केर
खाना खाने अनि काममा जाने ।
दिगो यातायातमा त्यति यात्रु थिएनन्, मसहित पाँच-छ जना थियौँ । बसको
ढोकाबाट छिर्नासाथ देखिने देब्रेतिरको लहरको अघिल्लो सिटमा म थिएँ । झ्यालबाट
नियाल्दै थिएँ,
अटिनअटी अटिरहेका गाडीहरु । तिनीहरुबाट आइरहेको हर्नको कोलाहल सुन्दा यस्तो
लाग्थ्यो, उनीहरु
कतै निस्सासिएका छन् र गुहार्दैछन् – ‘बचाऊ… बचाऊ… !’
ट्राफिकलाई उस्तै चटारो छ । पाँच छ जना ट्राफिक
जाम खोल्न भरमजदुर कोसिस गर्दैछन् । तर पनि जाम खोलिने छाँट छैन । बरु कसिदैछ जाम+जाम+जाम !
यता मेरो हतारो उस्तै । समय हिड्दैछ, अघि हिडिसक्नुपर्ने
म जहाँको तहिँ छु । बाफरे ! यति लामो जाम त कहिल्यै भएको थिएन त ! के गर्ने होला,
अफिस पुग्न ढिला भयो
। फेरी एकछिन ढिला गर्न हुन्न, निकाल्दिहाल्छन् । मनमा यस्ता यति विचार आए कि
नभनौँ । लगत्तै नयाँ सोचेँ – बरु हिड्दै जान्छु । कति नै पो टाढा हो र
सिनामंगल ।
म पुग्नुपर्ने सिनामंगल खासै टाढा पनि होइन । पुरानो
बानेश्वरबाट म छिटो हिड्नेलाई त 30 मिनेटको बाटो हो । लाग्यो – यो बसभन्दा त हिड्दै
गएँ भने छिटो पुग्छु ।
र सोचिनँ मात्र, गरिहालेँ । छिटो घर पुग्नु जो थियो ।
खलासी दाईलाई रु १५ दिएर निस्किएँ । निस्किएर पेटिसम्म आइपुग्नै ठुलो युद्द जितियो
। अब जित्नुथियो अर्को युद्द । घरसम्मको बाटोको युद्द । जसका लागि मेरा खुट्टा खुब
अनकनाए । खुट्टालाई मात्र किन दोष दिऊँ ? म नै अनकनाएँ । किनभने गाडी अनि मान्छेको
भिडभित्र छिर्दै यात्रा गर्नु कम मुस्किल थिएन । यो आदि घण्टाको बाटोमा आदी
घण्टामै घर पुग्नु मेरो लागि चुनौती थियो ।
दश मिनेट जति भिड छिचोलेपछि यस्तो दृष्य देखियो,
जुन खराब अविष्मरणीय
घटनाका रुपमा मानसपटलभरी आजपर्यन्त छ ।
त्यस्तो घटना न त्यसअघि कहिल्यै देखेँ, न त्यसयता देखेँ ।
त्यसले सिकायो पनि – ठुलो मानवीय स्वभाव । सिकायो, कसरी मान्छे मान्छे
हुनबाट चुक्छ ?
र कसरी मान्छे सामाजिक भएर पनि असामाजिक बन्छ
भन्ने पनि सिकेँ ।
भएको के थियो भने, दश मिनेट जति भिड छिचोलेपछि अगाडी अर्को
भिड देखियो । त्यो भिड मान्छेको थियो । गाडीको जाम त्योभन्दा अगाडी गएकै थिएन ।
यति छोटो दुरीबाट जाम सुरु भएको होला भन्ने मेरो कल्पनामै थिएन । मेरो कल्पना थियो,
यो जाम सिनामंगल पुल
पारीसम्मै छ । तर यथार्थमा यो त दश मिनेटको दुरीमै रहेछ ।
म हिड्दैछु भिडतिर । म हिडिरहेको छैन घरतिर । यत्रो
भिडलाई किन बेवास्ता गरुँ ? । हतारै भए पनि यसलाई बेवास्ता गरेर घर जान पनि
कहाँ मान्थ्यो र मनले ! म
उत्सुक थिएँ यो भिडप्रति । म उत्सुक थिएँ त्यतिका मान्छेप्रति । म उत्सुक थिएँ
भिडको केन्द्रप्रति । म … ।
…
बिच-रोड । एउटी आमा, जो शरिरभरी चोटहरुले पूर्ण-बिक्षिप्त छे । अन्दाजी
३० नकटेकी । उसको काखमा बच्ची, जो गुटमुटिएकी छे । बच्ची चोटबाट बचेकी छे । ऊ
आमाको काखमा यसरी बसेकी छे मानौँ उसका लागि त्यो काख स्वर्ग हो । मानौँ उसका लागि
काख सबैभन्दा सुरक्षित हो । आमा चाहिँलाई भने सायद सबैभन्दा
अशुरक्षित लाग्दै छ, त्यो ठाउँ
। उसको
शरिर पुरै कम्पित थियो । आँखामा प्रष्ट डर देखिन्थ्यो । आँखाले उभित्र बेचैनी पनि
झल्काएको थियो । तर ऊ तटस्थ थिई । यताउती गर्न उसका घाउले दिँदैन थिए । सायद यस्तोमा ऊ सोचिरहेकी होली, यो सडक, यो भिडबाट भाग्न पाए
…!
तर कहाँ भाग्न पाउनु ! आमाछोरी मान्छेको भिडले घेरिएका छन् ।
मान्छे ठुलाठुला उस्सुक आँखाले हेर्दैछन् ।
मेरा आँखाले पनि उत्सुक भएर हेर्दैछ यो दृष्य ।
दृष्य मात्र भनौँ कि कुदृष्य । किनभने यो हेर्न मेरा आँखालाई यति असैय हुँदै थियो
कि नभनौँ । र योप्रति मेरा उत्सुक प्रश्नैप्रश्न थिए ।
हो यो भिडको केन्द्र रहेछन् यी दुई प्राणी ।
प्राणी पनि के भनूँ ! यस्तो
भान हुँदै थियो कि यो भिडले उत्खनन् गर्दा निस्केको मूर्ति, जुन सडकको बिचमा राखिएको छ, त्यसैलाई चाखले
हेर्दैछ जस्तो । जस्तो ; एक अबोध बालक कुनै वस्तुबारे केहि
नबुझ्दा त्यसलाई हेरिरहे जस्तो । साँच्चै त्यो भिड अबोध बालकझैँ
देखिन्थ्यो ।
मान्छेको भिडको कारण त बुझेँ तर बुझिनँ आमाछोरीको
बिच सडकमा बेवारिसे अबस्थाको कारण । कसैलाई सोधुँ, सब बेखबर, सब रमिते । खाली अड्कल मात्र गर्ने मात्र
। कसैको अड्कल सुनिन्छ – लोग्नेले कुटेर आमाछोरीलाई घरबाट निकालेको होला ।
कोही भन्छन् – बेघर
भएर भाग्दै हिडेकी होली । कोहि सान्त्वनाका शब्द बक्छन् – बिचरी ! यति कलिलैमा खुब दुख पाएकी रैछे ।
यस्तोमा अर्को अनौठो दृष्य देखिँदै थियो ।
साँच्चै अनौँठो ! अनौँठो कस्तो
भने, यतिका
मान्छेमा कोहि पनि ती आमाछोरीको उद्दारमा लागिपरेका थिएनन् । खाली मूकदर्शक भएर
हेरिरहेका । न त्यहाँ प्रहरी थियो न अरु कुनै सुरक्षा संयन्त्र । खाली मान्छेको
भिड + भिड +
भिड !
यो भिड पछाडी अर्को भिड थियो । गाडीको भिड । अथवा
जाम । त्यो जाम कहाँसम्म छ भन्ने मलाई पत्तो छैन । पुरानो बानेश्वर चोकबाट म आउँदै
छु । सायद त्योभन्दा उता मैतीदेवी, अझै पर कमलपोखरी, वा के थाहा बागबजारै पुगेको छ कि यो जाम
। खैर, जहाँसम्म
होस् । तर यो जामको एउटै कारण थियो – आमाछोरी । जबसम्म यी बेवारिस आमाछोरी यो बिच
सडकबाट हट्दैनन् या हटाइँदैन, तबसम्म जाम छोट्टिने छाँट थिएन ।
अब मेरो प्रतिक्षा थियो अन्तिम दृष्यको । यी
बेवारिसेको कसरी हुन्छ उद्दार भन्नेमा ।
एकैछिनमा गाडीका चर्का हर्नको आवाज छेडेर आएको
साइरन सुनियो । त्यो एम्बुलेन्सको थियो । एम्बुलेन्स मेरै पछाडीबाट आउँदै थियो,
सारा जाम फाँडेर ।
त्यो सिधै आमाछोरी नजिक रोकियो ।
एकैछिन रोकियो । र एकैछिनमा कहिँ नरोकी सिधैँ गयो । त्यो जाँदा त्यहाँ बेवारिस
आमाछोरी थिएनन् । एम्बुलेन्सले तिनलाई लिएर गयो ।
उनीहरुको उद्दार भयो ।
लगत्तै निसासिएका सवारीको पनि उद्दार भयो । जाम
त्यो एम्बुलेन्ससँगै लाग्यो ।
मान्छेहरु आ-आफ्नो काममा लागेँ ।
म अघि लागिसक्नुपर्ने घर, ११ बजिसक्दा पनि यतै छु ।
घटना त सकियो तर घटनाबारेको जिज्ञासा सकिएन । ती
आमाछोरी को थिए र किन थिए ?
यो घटना करिब एक वर्ष पहिलेको हो । त्यो दिनको अर्को खराब अविष्मरणीय घटना पनि छ । त्यो दिन ढिलो गएकोले म अफिसबाट निकालिएको थिएँ ।
(यो लेख काल्पनिक हो । कसैको जीवनमा मिल्न गएम संयोग मात्र हुनेछ ।)
-२०८१ आषाढ ११ मंगलवार-
Comments
Post a Comment