एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन
एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन
-भुवन खत्री, बाजुरा ।।
एउटा सानो कोठा ।
गोबर-माटो पोतिएको भित्ता छ । एउटा नाम मात्रको खाट छ, बस् यत्ति छ । अँ, कोठाको एक भित्तोमा झुन्ड्याइएका छन् - एउटा फाटेको कोट र त्यसमाथि ठाउँठाउँ च्यातिएको तर सिलाइएर मिलाइएको
झोला ।
खाटमा एक बृद्ध छन्, ७५ नाघेका । २० ननाघेको युवा सुतिराखेका बृद्धको छेउमा जागै छ ।
छेऊका सायद उसका हजुरबा हुन् । रातको एक बज्नै लागेको छ । सारा रात्रिजगत सुतेको छ
। चरोमुसो बोलेको छैन । यति राति यो युवक ल्यापटप अगाडी घुरेर बसेको किन छ ? केहि अनुमान लगाउन सक्नुहुन्छ ? ऊ यस्तो देखिन्छ; मानौँ, एउटा नसकी नहुने जरुरीको काम सक्नुछ ।
घरिघरि झ्यालबाट बाहिर
हेर्छ । सायद बेलाबेला उसलाई गर्मीले गाँज्छ । घरि पल्टिन्छ, घरि घोप्टिन्छ । घरि खुसी भएजस्तो, घरि दुखी जस्तो । तर ल्यापटप छोडेको छैन ।
अलि नजिक जाऊँ उसको !
अहो ! के लेख्दैछ त ! कत्रो लामो, बाफरे बाफ !
तैपनि म पढेरै
सुनाइदिन्छु तपाईहरुलाई । सुन्नुस् ल ?
………………………………………………………………………………………………………
पहिलो दिन
संवेदना, मेरो यात्रा सुरु
भइसक्यो । म सिनामंगलको घरबाट नयाँ बसपार्कको लागि भर्खर हिडेँ । गौशाला पुगिसकेँ
। मसँग दुईटा भारी छन् । एउटा मसँगै रहने झोला छ । झोलामा बाटामा चाहिने मेरा
आवश्यकताका चिज छन्, ल्याप्टप लगायत । अर्को ठुलो भारी छ, जुन अंकलान्टीबाट
प्राप्त सामानले भरिएको छ । म अचम्मित छु, यत्रो सामान लिएर घर
आजसम्म गइनँ । ठुलो भारीमा लुगा-कपडादेखी तन्नाहरु छन् । र म छक्क छु अंकलान्टी
परिवारको म र मेरो परिवारप्रतिको सद्भाव र शुभेच्छाप्रति । उहाँहरूले आर्थिक
उत्पिडनमा परेको मेरो घरलाई यतिका दिनुभयो । बसभाडा अनि खानाको र दिदीले दिएको समेत
हिसाब गर्दा भयो होला २५ हजारभन्दा बढी ।
म कृतज्ञ छु अंकल
परिवारप्रति । म आभारी छु मेरो शुभचिन्तकप्रति !
संवेदना, म यस यात्रा दौरानका
अनुभूति वा घटना विवरण तिमीलाई भन्दै जान्छु । यात्राभरी तिमी मसँगै हुनेछौ । म
सब यसै पानामा समेट्ने छु ।
सबा नौ बजिसकेको छ । दश
बजे पुगिन्छ होला । गाडी चढेको २० मिनेट भयो । अब यस्तै आदि घन्टा लाग्छ कि !
अबको केहि समयपछि म
बसमा हुनेछु । त्यतिखेर मेरो छेऊमा बस्ने को होला ? महिला होलिन् कि पुरुष ? वा केटा होला कि केटी ? या बृद्ध होलान् कि बृद्धा ? मनमा खुलदुल छ ।
ल, अब बसपार्कमै भेटौँ !
……….……….…….
साढे दश बज्यो । बस
हिड्नेवाला छ अब ।
गाडी सुविधायुक्त छ ।
भित्र एसीयुक्त वातावरण, सिट पनि सोफाझैँ र पर्दा सहितको झ्याल । कुनै कर्पोरेट वा
अपार्टमेन्ट जस्तो । यस्तो सुविधायुक्त बसमा पहिलोपटक हो । पैसा त्यसै महंगो रैन्छ
नि त !
ए… गाडी त बाजुराको
बाटो तताउन लाग्यो त । बाहिर राजमार्ग पो आइयो ।
लौ, म गएको सूचना पनि
दिएँ तिमीलाई ।
गाडी पुरै खाली भन्दा
पनि भयो । यसो हेर्दा पचासौं सिट भएको बसमा हामी नौ-दश जना छौँ । त्यसमा पनि दुई
सिट बाहेकका सिटमा एक जना मात्र । जस्तो; म । म पनि एक्लो छु ।
आनन्द छ/हुनेवाला छ ।
अँ, केटीको कुरा गर्दा
मभन्दा पारी दुई जनी छन् । राम्री नै छन् । एउटी चाहिँ अघि रुँदै थिई, किन हो । उमेर
मेरैजस्तो छ उसको तर विहे भइसके जस्तो छ । अघिको सायद उसकै श्रीमान होला ।
श्रीमानसँग छुट्टिनु पर्दा रोएकी होली । वा के थाहा, अरु पनि कारण हुन
सक्छ । यसरी नजरअन्दाज गर्न नमिल्ला । मान्छेसँग कुरा नगरी, मन नपढी उसको सत्य
थाहा हुन्न । यात्रा दौरानमा परिचय भईहाल्छ कि त । ती दुईसँग नभए पनि उनीहरूभन्दा
वरपर सिटका म जस्तै युवासँग परिचय हुन सक्ला । अनि, अंकलले भनेजस्तो
कसैसँग नबोली कसरी होला र यात्रा ! यात्रामा कसैसँग नबोल्नु, नजिक नहुनु भन्ने
जीवनलाई कठिन रुपमा हेर्नेहरु हुन् । म त सबै सहज देख्छु, स्वीकार्छु ।
तर कहिलेकाँही चाहिँ
मेरो यो सोँचले दुख दिन्छ । अघि बसमै । म बसेको सिटमा एक जना आयो । उसले भन्यो - ‘तपाईं बाजुरा होइन?’
-‘हो । बल्देबमा झर्ने ।’
- ‘त्यसो भए मेरो एउटा साइकल छ । म भाडा दिन्छु ।
लग्दिनु है ।’ यसो भनेर ऊ कसैसँग (सायद घर) फोन गर्न लाग्यो । भन्यो – ‘म.. हो..भन्दैछु.. भाडा दिन्छु.. उहाँको फोन नंबर पनि दिन्छु ।’
मैले राम्रोसँग
बुझिनँ । ऊ फोनमै सोधेँ – ‘मैले अलि बुझिनँ । कस्तो-के गर्नुपर्ने रे ?’
-’हामीसँग एउटा बच्चाको खेल्ने साइकल छ । हामी त्यसको भाडा दिन्छौँ ।
तपाईंले जिम्मा लिनुपर्यो ।’
म कसैको कुरा काट्न र
अनुरोधमा नाइँ भन्न सक्दिनँ । मेरो सबैभन्दा राम्रो कि नराम्रो बानी ? कुनै अवस्थामा राम्रो
होला तर कहिलेकाँही आज जस्तो नराम्रो बानी पनि ठहरिन्छ ।
म जिम्मा लिन तयार
भइसकेको थिएँ । सामान हल्का भए पनि ठुलै रैछ । सामान डिकीमा हाल्न पछाडी जानै
लाग्दा चालक/सहचालक को-को थिए, तिनले मलाई कड्केर
भने – ‘आफ्नो सामानको जिम्मा लेऊ न, अरुको के लिन्छौ !’
हो त नि ! कहाँ यस्तो
सोझोपनले हुन्छ ? कहाँ अरुको बोझ लिएर हिड्ने ? कहाँ स्वतन्त्र भइन्छ
?
खैर, हुन दिऊँ । गाडीमा
मान्छे बढ्दैछन् । भर्खर मेरो सिटमा पनि चितवन जाने मान्छे चढेँ । युवा होइनन् ।
उमेर अन्दाजी होला ३५ या ४० वर्ष । छोटो कुराकानी वा चिनजान पनि भयो । यिनी
अहिलेसम्म बाजुरा जस्तो टाढाको दुरीमा गएका रैनछन् । बाजुरा नाम चाहिँ सुनेको
मात्र रे ।
सुन है, हामी चन्द्रागिरी
न.पा वा थानकोटतिरै छौँ । सायद एकछिनमा थानकोट कटाउँछ कि । साढे एघार त भो !
…..……………………..
अहिले बाह्र बजिसक्दाको
अवस्थामा धादिङ नौबिसे गुड्दै छौँ ।
यी ३९ वर्षका रितेश
राईसँग गफ गर्दागर्दै म त निदाएछु पो त । म उठिसकेँ । यी अझैँ सुतिरा’छन् ।
गफ गर्न मजति यिनलाई
के आउनु ! मसँग शब्दशक्ति छ । मेरो बोल्ने शैली, शब्द र सोँच देखेर
जो-कोही छक्क पर्छन् । यी झन् तिनछक छन् । अँ, शैलीको सन्दर्भमा, अघि कुरैकुरामा मेरो
पढाईको विषय पत्रकारिता थाहा पाएपछि मेरा आदर्श व्यक्तित्वबारे जान्न चाहे । मैले
जे हो भनिदिएँ - “मेरा आदर्श वा प्रेरणा जे भनौँ, ति को को हुन् भने
सबैभन्दा पहिला त टिकाराम यात्री, त्यसपछि दिलभुषन पाठक, रजेन्द्र बानियाँ …।’
-’ऋषि धमला चाहिँ ?’ प्याच्च बोलिहाले !
-’तिनको शैलीबाहेक सक्रियता र व्यावसायिकता मनपर्छ ।’
यसपछि पनि ’ऋषि धमलाबारे धेरै
लामो कुरा भयो तर त्यसको निष्कर्ष माथिकै हो । त्यसमा उनी पनि सहमत
भए । यानि ऋषि धमलाको शैलीबाहेक सब राम्रो !
कुराकानीका विवरणहरु
- मभन्दा २० वर्ष जेठा । मेरो जन्म भएको वर्षै रे उनले स्नातक पढे । त्यसताका उनी
२० वर्षका थिए रे । सूचना प्रविधि क्षेत्रमा सक्रिय रहेछन् । यहि विषय पढाउँछन्
पनि । घर चाहिँ ओखलढुङ्गा । चितवन सायद पहिलोपल्ट ।
हेर्दाहेर्दै धार्के
आइपुगियो । सायद बिहानको खाना यतै हो कि ! रोक्दैन त बस् !!
न म्युजिक छ, न अरु । बोर लाग्यो !
सुतुँ कि क्या हो !
…………………………..
खाना खाइयो, यही नौबिसेमै । अघि
मैले भनेथेँ नि, त्यसको तीन मिनेटमै एउटा होटेल अगाडी गाडी रोकियो ‘ल है खाना-खाजा खाऔँ’ भन्दै । रोक्यो १५ मिनेट । त्यस दौरान मैले रु. ३०० को सादा खाना
खाएँ । र मासुको सट्टा दही खाएँ । म साकाहारी भन्ने थाहा छ नि ?
३०० महंगो रैछ । २५०
मै पाइन्छ कि भनेको ।
त्यहाँबाट ठिक एक बजे
हिड्यो बस । मतलब, त्यहाँबाट बस हिडेको ५ मिनेट भइसकेछ ।
यो छेऊको खोलो
त्रिशुलीको शाखा हो कि ! वरिपरि हरिया डाँडाहरु छन् । हरियाली हेर्न झ्याल खोल्न मिल्दैन । एसी चलाएको छ नि त । यद्यपी भित्रैबाट
हेर्दैछु । रमाईलो छ । झन् भर्खर म्युजिक बज्न थालेको छ । म्युजिक के हुन्थ्यो, दोहोरी । अलि
पश्चिमको झल्को आउने बजाए हुने । बज्छ होला पछि ।
अँ, मौसमको कुरा भनेकै पो
छैन त । अहिलेसम्म ठिक छ, घामै छ । घाम चर्को
पनि छैन । सडक पनि सहज नै छ । हेरौँ, अगाडी कस्तो हुन्छ ।
नारायनगढ-मुग्लिन चाहिँ सहजै काटिदिए हुने । आशा छ … आशावादी छु !
…………………………..
… पुगिएछ । कहाँ भनेको त जाममा पुगिएछ
। मुग्लिनकै जाम होला ।
मैंले अघिदेखि
सिमलताल, जहाँ अस्ति दुई गाडी पहिरोले खसायो, खोज्दै थिएँ । जतिखेर
म निद्रामा थिएँ । निद्रा यति गहिरो कि यथास्थितिभन्दा टाढा । भनौँ न, अवचेतन मनस्थितिमा ।
थोरै चेतन मनले थाहा पाउँथ्यो, टाउको झ्यालमा
ढोकिएको, ज्यान हल्लिएको ।
सिमलताल पुग्न अझै
रहेछ । यो जाम त्योभन्दा पछाडि रहेछ । जाम खास पहिरैले रैछ । डोजरले पन्छाउँदैछ ।
जाम त्यति लामो पनि हैन । यहाँबाट जान लाग्छ होला, साढे तीन बजे ।
अघि बाहिर गएर परिवेश
निरिक्षण गरियो । सडक छेऊबाट बग्दै छ त्रिशुली । त्रिशुली ठुलै छ, बाढीयुक्त मैलो पानी
बग्दैछ। त्यसमाथि पहाड छ, हरियो । सडक माथि
चाहिँ स्यानो भित्तो झरेको छ । यानि पहिलो छ । पहरो माथि पहाड ।
अहो ! माथिबाट आउने
गाडी त आइरहेछन् । ए.. खुलेछ कि के हो ।
गाडी स्टार्ट भयो ।
लौ, गयो नै । साढे तीन
अनुमान, सबा तीन वास्तविकता ।
बाटोमा पढ्ने भनेर
ल्याएका पुस्तक त्यसै छन् । पढ्न मुड पनि छैन । मुड आए पढुँला । अहिले लेखिराखेकै
छु। जे गरे पनि समय खेर गएको छैन क्यारे । त्यही काफी मलाई !
……………..………..
मुग्लिनको
दुर्घटनाग्रस्त बाटो सकियो । अब विस्तारै फराकिलो र कम जोखिमको बाटो लाग्दैछौँ ।
चितवनको यो जुगेडी भन्ने ठाउँसम्म आइपुग्दा सब ठिक छ - मौसम, मन र बाटो । चितवन
राष्ट्रिय निकुञ्जको एक छेऊ हो क्यारे यो ।
अँ, म पढ्न थालेँ । ताना
शर्माको ‘बेलायततिर बरालिँदा’ पढ्दैछु । पढ्दै यो
बेलायतको यात्रा, आफु चाहिँ बाजुरा बरालिनँ जाँदैछु । हाहाहाहा !!!
समय ४:२५ ।
……………………….
ठिक साढे चार बजेको
अवस्थामा म चितवन भरतपुर पुगेँ । भरतपुरभन्दा सानो पारेर भन्दा नारायणगढ पुगेँ
। त्यसलाई पनि सानो पारेर भन्दा न्यु रोड भन्नेमा पुगेँ । यहाँ त चर्को
घाम पो छ त ।
………………………
धेरै पछि पो भेट भयो
त, संवेदना ।
अहिले राती भइसक्यो ।
साढे सात बज्यो । सिआइएनको साझा खबरको समय हो यो । सुन्ने भनेको, यता नबज्ने रैछ ।
चितवन राष्ट्रिय निकुञ्जको कुन कुनु हो, बाहिर प्रष्ट छैन ।
भर्खर मित्र कृष्णले सम्झिए । फोनमा सोध्दैथे – ‘कस्तो भयो अहिलेसम्मको यात्रा र कता पुगियो?’
मै जे हो, भनेँ । अनि माहिली
फुपु सँग पनि कुरा भो । सुनिलको भोइस म्यासेजलाई रिप्लाई गरेँ । योभन्दा अर्को
ठाउँ पुगियो भने सिनामंगलको अंकललाई फोन गर्नेछु । अंकलले फोन गरिराख्नु भन्नुभएको
छ ।
बसभित्र र मभित्र
एउटै माहोल छ । बसभित्रको म्युजिकले प्रेमका गित गाएपछि मभित्र प्रेमभाव जन्मिँदैन
त !
अघि केटीको कुरा
गरेको थिएँ नि, अनि रुने केटीको कुरा
पनि गरेथेँ र अनुमान गरेथेँ, हो त्यो केटी बोली मसँग ।
मसँगका अंकल डन्डी
भन्ने ठाउँमा झरे । अब त दुईटै सिट मेरो भयो । बिस्तारै यात्रु झर्दैछन् । फेरी
सुरुको सङ्ख्याना झरिसख्यौँ । फेरि यी सब बाजुरा जाने होइनन् । बाजुरा जाने हामी
दुईतीन बाँकी रहौँला कि ।
हत्तेरिका ! कस्तो हल्लाएको हो बसले
। लेख्नै असजिलो भयो ।
………………..………
पेटको दिशा फाल्न
नपाएर कस्तो भा’छ भने नि । पिसाबको ट्याङ्की पनि भरिसक्यो । कहाँ, कति बजे, कुनै होटलमा रोकिने
हो ?
बाहिर निष्पट्ट अन्धकार छ । कहिलेकाहीँ एकाध घरमा
बिजुली बलेको देखिन्छ । अन्यथा सब कालो । मनमा स्वतन्त्रताको छुट्टै अनुभूति
भइरहेछ । के के कल्पँदै पनि छु । जीवन-संघर्षका कुरामा सकारात्मक हुन खोज्दैछु र
सोच्दैछु – ‘आजसम्मको सहरको संघर्षमय जीवन सब सिकाई
हो । यो केही वर्ष जारी होला । त्यसपछी म मेरो व्यवसायिक जीवनपथ लाग्नेछु र एकदिन
सुख आउनेछ !’
ओहो ! बुटवल आइसकिएछ
। रातमा पनि दिनझैँ उज्यालो छ बुटवल । सहर भएकाले घरहरू पनि बाक्लै छन् ।
ताना शर्माको पुस्तक
खुब मन पर्दैछ ।
…………………………
के पो थियो होटल भएको
ठाउँको नाऊँ ! मैले बिर्सेँ तर नाम अनौठो थियो !
होटलबाट बस अघि बढिसक्यो । खाना त्यही होटलमा भयो । होटलको नाम चाहिँ याद छ -
मालिका कालिका होटल एन्ड लज ।
बाह्र बजे खाना होला
सोचेको तर साढे दसमै गाडी खानालाई रोकियो । खाना खाइयो तापनि पेटको मल पुरै फाल्न
पाइएन । जत्ति बल गरे पनि आएन । के गर्नु देब्रे नाक खुलेको रैन्छ । भन्नाले शक्ति
दिने सूर्य नाडी खुलेनछ ।
नाडी विज्ञानका
अनुसार हाम्रो शरिरको ऊर्जा नाकमा निर्भर हुन्छ रे । नाकको दाहिने दुलोलाई चन्द्र
नाडी र देब्रेलाई सूर्य नाडी भनिन्छ । बढी ऊर्जा निकाल्ने सूर्य नाडी हो । यो
सक्रिय भएको बेला ऊर्जा लाग्ने काम गरियो भने राम्रो हुन्छ । नेपालका एक दार्शनिक
तथा आध्यात्मिक गुरु डा. योगी विकासानन्दबाट
सुनेदेखि यो कुरालाई जीवनमा लागु गर्दैछु ।
धादिङमा योभन्दा सादा
खानाको तीन सय परेको थियो तर यहाँ दुई सय पचासमै मिल्यो । तर उता दहि खाएर पनि
होला महङ्गो भएको ।
अँ, होटलमा ती दुई
युवतीसँग बसेर खाइयो । खासमा यसो हो, म उनीहरु भएको टेबुलमा गइनँ, उनीहरु नै मेरो खाने टेबुलमा आएका हुन् ।
बिहानको मेरो अनुमान
मिल्यो नि । उनीहरुसँग कुरा भो थोरै भए पनि ।
मैले बोल्न खोजेको
जोसँग हो, हो त्यही राम्रीले कुरा थाली - ‘के गर्नुहुन्छ दाईले ? किताब त खुब पढ्नुहुँदो
रहेछ ।’
उसले खाना लिएर मेरो
टेबुलमा आउँदै गर्दा दुई कुरा सोधी । मेरो पुस्तक प्रेम र काम या पढाइ । र एउटा
त्रुटि पनि गरी, मलाई दाई भनी ।
यस्तै यात्रा या अरु
कार्यक्रममा मसँग परिचय गर्न चाहनेलाई म यत्ति भन्छु – पत्रकार हुँ, पत्रकारिता गर्छु र पत्रकारिताको विद्यार्थी पनि हो । र यो भन्दा म रमाउँछु ।
आफुलाई साँच्चै पत्रकार ठान्छु । हिम्मत आउँछ । त्यो केटीलाई पनि भनिदिएँ पुस्तक
पठनको कुरा छोडेर - ‘म पत्रकारिता गर्छु । यसर्थ पत्रकार हुँ ।’
ऊ एकछिन अकमकिई ।
रोकिई । बोलिन । मै बोलेँ - ‘पत्रकारिता यानि journalism !’
-‘त्यो थाहा छ के ! ए.. तपाई पत्रकार ! मलाई पनि मनपर्छ पत्रकारिता ।
राम्रो लाग्छ ।’ त्यो कुर्तावाली सुबासिलीले मैलाई मनपर्छ भनेझेँ सुनेँ । तर उसलाई म
मन परेँ भन्ने अनुमान सहजै लाएँ । नत्र किन यसरी बोल्न आउँथी/बोल्थी ! नत्र म बाहिर हुँदा किन झ्यालबाट मैलाई हेरी !
हो, छु नै म आकर्षक । छ
नै लोभ्याउने व्यक्तित्व !
हेर, यो कस्तो यौवन ।
कस्तो प्रेममय युवावय । यो काल कहिल्यै नसकियोस् जस्तो !
आजभोलि जीवन, प्रेम र विवाहका
बारेमा खुब चिन्तन गरिरहन्छु ।
अँ त, उस केटीको थाहा
दिनसम्मको जानकारी गराइहालुँ । ऊ मभन्दा कान्छि नै रैछे । १२ पढ्ने रैछे । परिक्षा
कुरिरहेकी रैछे । मलाई जेठो र ठुलो ठानेरै दाई भनेकी होली मोरीले !
अनि उसको गन्तव्य
चाहिँ अछाम रे !
उसँगैकी अर्की चाहिँ
मसँग बोलेकी छैन । दुई जनी संगिनी हुन् कि दिदी बहिनी हुन्, बुझ्न पा’छैन ।
ल त, अब कहिले भेट हुन्छ
संवेदनासँग । अहिले रातको पौने बाह्र बजिसकेको छ । सायद भेट भोलि नै हुन्छ कि !
………………………………
राति पौने दुई बजे ।
सुतेका हामीलाई उठाएर पिसाब गराउने काम सकेर भर्खर बस हुइँकिदै छ । बसमा अहिले एसी
बन्द छ । त्यसैले प्राकृतिक एसी खोलेको छु यानि झ्याल । अरु जस्तै म पनि अस्वाभाविक
तवरले दुईटै सिट ओगटेर हावा खाँदै सुतेको छु । अब याँ फेरी सुतेको भन्ने कि
पल्टेको ? यस्तो असजिलो छ यो पल्टाई वा सुताई कि नभनौँ । धन्न अर्को सिट पनि
खालि छ ।
अहो ! तराईको कुनै ग्रामीण
ठाउँमा पो ल्याई पुर्यायो कि बसले ? झ्यालबाट गोब्र्याइलो
गन्ध कहाँबाट ल्याएर हावाले सुँगाइदियो !
लगातार गाडी गुडेको र
गुड्दा बसभित्र आउने कम्पनको हल्लाले सुत्न दिएको छैन । पाँच बज्न तीन घण्टा छ ।
कमसेकम तीन घण्टा त सुत्नुपर्छ हो !
ल त …!
…………………………………
दोस्रो दिन
शुभप्रभात संवेदना !
दुई तीन घण्टा त
सुतियो । यत्तिले पुगिसरी छ । अहिले बिहानको साढे चार भयो । अरु निदाइरहेछन् । म देशभक्तिका गित मधुर स्वरमा आनन्द लिएर सुन्दैछु । झ्यालबाट
कोहलपुर यानि बाँकेको बिहानी ताजा हावाले मेरो मनै चङ्गा बनाइदिएको छ । यसर्थ
त्यस्तो खराब या असहज मनस्थिति छैन ममा । बाटो र मौसमको खराबी पनि अहिलेसम्म छैन
। लौ त, अब अलि उज्यालिँदै जहाँसम्म सकिन्छ, सायद बस त्यहिँ
रोकिन्छ । त्यसपछि शौचादि कर्म अनि चिया-नास्ता होला ।
………..……………
बर्दिया राष्ट्रिय
निकुञ्ज पारी छुट्यो । बर्दिया जिल्लाबाट पार भएर चिसापानीदेखि कैलाली लागियो । सायद
बस कैलालीकै अत्तरिया रोकिन्छ । त्यहाँ आदि घन्टा रोकेपछि बस डाँडा उक्लिन थाल्ला
र खाना खाने ठाउँ खानडाँडा वा सिम्ले कतै रोक्ला । मात्र अनुमान, खास के होला, त्यो भएपछि थाहा हुने कुरा हो ।
मौसम घमाइलै छ ।
एकछिन अगाडी निद्राले झुम्दै थिएँ । अहिले ठिक छ ।
लौ, बस यहाँ किन रोकियो ? ए… पिसाब फेराउन रोकेछ ।
पिसाब फेर्नेहरु जाओ ! म जान्न । बिहान साढे चारमै गरेको । त्यसैले ट्याङ्की खाली
छ ।
अहो, गाडी चल्न छोडेपछि त
कस्तो मौन । यो मौनतालाई मेरो गीतको मसिनो आवाजले पनि जित्दैछ ।
गाउँ अनि सहरमा फोन
गर्नुपर्यो, म पुगेको ठाउँ त भन्नुपर्यो अनि सकुशल रहेको जानकारी पनि त दिनुपर्यो
।
अहिले साढे पाँच भयो
र म कैलाली प्रवेश गरेँ ।
………………………
कैलालीको चौमाला
भन्ने ठाउँ हो कि यो ? गाडी वेगले बाटोका
बोर्ड पढ्नै पाएको छैन । जे होस्, यो कैलाली नै हो । झन्डैझन्डै
उपत्यकाझैँ छ । उपत्यकालाई चारतिरबाट पहाडले घेर्छ तर यहाँ दाहिनेपट्टि मात्र
उपत्यकीय पहाड देख्दैछु । भुइँका फाँटमा अन्न र आवास बराबरी छन् । कतै भने आवास
एकाध मात्र देखिन्छन् । यहाँ रुख ज्यादा छन् । आहा ! धान रोपिएका कत्रा ठुला हरिया
गरा !
अहो ! अब वनक्षेत्र आएजस्तो
छ । रुखैरुख पो छ ।
लौ ! सानातिना टहरा !
छ बज्यो । कहिले
पुर्याउला धनगढी र अत्तरिया ?
अँ, मैले फोन गर्नै परेन । अंकल, दाईले अघिपछि जस्तो
उतैबाट गर्नुभो । दुवैलाई भने – ‘कैलाली पुगेँ ।’
…………………..
बल्ल पुगियो अत्तरिया
। अब आदि घन्टामा जान्छ रे बस । हेरौँ, यसदौरान के हुन्छ ।
…………………….
अब बस हिँड्नै लाग्यो
यहाँबाट पनि । साढे सात त बज्यो ।
यसदौरान त्यस्तो
उल्लेखनीय केहि भएन/गरिएन । हिजोदेखिको
दिशा फालेँ । बिस रुपैयाँ पो लियो । बसले हतार गरेर केही खान पाइनँ । नजिकैको
खाजाघर गएर मलाई मनपर्ने पकौडा खाने मनसुभा थियो । बसले नै हतार गरेपछि मेरो के
लाग्छ ! दुईटा पचासमा समोसा किनेको छु । बाटामा
खान्छु । अर्को के गरेँ भने आदि केजी स्याउ किनेँ । किलोको दुई सय रे ! स्याउलाई
सय तिरेर बसमा बसेको तर बस अझै हिडेन ।
अँ, बसभित्रबाट परकी
केटीमार्फत एक बोतल पानी मागेँ । तीस रे । राजधानीमा त बीस पो लिन्थे त !
यहाँ जम्मा खर्च रु. दुई सय भयो । एयरफोन पनि किन्नु थियो, बसले हतार गरेर पाइनँ
। छ महिनै नपुगी दुई सयको एयरफोन बिग्रेर आवाजै आउन छोडेको छ ।
मैले मुग्लिनमै
किनेथेँ तीसकै एक बोतल पानी । हिजो रातीको खानापछि बीस रुपैयाँ सेन्टर फ्रुटमा
खर्च भो ।
जम्मा रु ५० !
अब खाना बाहेक अरू
खर्च हेरौँ । जम्मा दुई सय पचास । खानासमेत रु एक हजार !
अब अझैँ कति खर्च हुने हो ! तर सबभर कमै गर्छु ।
ल त, बस पनि हिड्यो । ७:५०
मा पो हिड्यो ।
…………………….
बसमा अत्तरियाबाट
मान्छे बढे । कोही बाजुरा जाने, कोही डोटी, सिलगढी पुग्ने । मसँग
सिलगढी पुग्ने झन्डैझन्डै हिजोकै सहयात्रीकै उमेरको अर्को सहयात्री अंकल छन् ।
थोरबहुत परिचय र कुराकानी भयो । सहयात्री भएपछि यत्ति त गर्नुपर्यो ।
यी अंकल पनि पढाउने
रैछन् । पहिला काठमाडौं पढाएर अहिले सिलगढीमै पढाउँछन् रे । उनलाई काठमाडौँका
ठुला नीजि कलेज पढाएको अनुभव रहेछ । रत्नराज्यलक्ष्मी क्याम्पस लगायत अरु थुप्रै
कलेज थाहा रैछ । सन् २००७ देखी १० सम्म भारतमा स्नातक सकेछन् । जे होस्, पढेकै रैछन् ।
उनी मलाई र मेरो व्यक्तित्व
देखेर भन्छन् - ‘यति परिपक्व देखिन्छौ/छौ । तिम्रो सुन्दर चिन्तन र सोँच हेर्दा तिमी
सफल हुने मान्छे हौ ।’
साँच्चै, मलाई उमेरले होइन, भोगाईले परिपक्व
बनायो । म हेर्दा २५ को लाग्छु रे । तर वास्तविकतामा के हो भने म बिस पनि पुगेको
छैन ।
अहिले ८:४० भो । हामी
पहाड उक्लँदै । अलि अघि, बस गोदावरीबाट यो डाँडा उक्लिँदै गर्दा बसमा एक गाइने अंकल आए ।
सुरुमा ‘नमुछे आमा दहीमा टिका …’ र पछि के के गाए । आमाको गीत गाउँनु त ठिकै हो । मलाई मेल खाने, ठिकै हो । तर टिका र जमराका कुरा त अहिले गर्ने होइन नि ! दसौको याम हो र ! दुई महिना अझैँ छ !
तर पनि ठिकै छ भनेर
गाइने अंकलको गायन हेरेँ ।
यात्रुका सिटसिट
पुगेर पैसा माग्दै, मान्छेको मनोविज्ञानसँग खेल्दै र गाउँदै हिडे । गाउन मेरै छेउबाट
थाले। मैले उनकै अनुमतिमा उनले गाएको खिचेँ । खिच्दा उनी रमाए ।
उनीलले घुम्दै गाएर
सकेपछि अन्तमा रु बीस दिएँ । यात्रुहरु कसैलले ५०, कसैले १००, कसैले १५० या कसैले मजस्तै १० २० ३० दिए । बस माथि माथि उक्लिँदै जान थालेपछि गाइने ओर्लिए ।
कस्तो भोक पो लाग्यो
। अघि किनेका समोसा खानुपर्यो !
……………………
दुईटा समोसाले हिजो
देखिको भोको पेटलाई पूजा गरिसिध्याएँ । सिलगढीवाला अंकलले खान मानेनन् । दुवै
आफैँले दन्काएँ । समोसा खुब मिठो ! झन्डैझन्डै अंकलले कहिलेकाहीँ ल्याउने गरेको
जस्तै कुरुमकुरुमवाला समोसा ! अझ भोकमा त जे पनि मिठो हुन्छ ।
अँ, सबा नौको यो समयमा
हामी खानडाँडा पुगिसकेछौँ । अब यतै कतै खानालाई रोक्छ कि !
हामी उकालिँदै,
उकालिँदै, उकालिँदै छौ, माथि माथि माथि ! पहाडमाथि ! बादल समाउन !
एउटा कुरा सोध्छु ल ! यो तिमी र यसका पाठकलाई – पहाडैपहाडबिच नागबेली सडकसँगै गुड्ने
गाडीभित्र कयौँ बल्ड्याङ् खाँदै भए पनि झ्यालभन्दा परको मनमोहकतामा मोहित हुने म
मात्र हुँला कि अरु पनि ?
खैर…खैर…!
…………………..
बस बिस्तारै भुँइमा
अवतरण गर्नेवाला छ । अघिसम्म माथि उक्लिएको बस
झर्दैछ । बस भुँइ पुगेर फेरी उकालिनेछ सायद अनि यस्तो उदोउभो गर्नुपर्दैन । सिधै
जान्छ ।
अघि म पहाडमाथि थिएँ
। पर पारी पहाड देखिँदै थिए । पहाडमाथि बादल पनि देखिँदै थियो । हामी बादलमाथि थियौँ । अहिले वरिपरिका साना
ढिस्काबाहेक परका पहाड अग्लिँदै छन् । हामी घरि सल्लैसल्लाबिच हिँड्छौँ, कहिले बाँजका बिचबाट
कुद्छौँ ।
बसमा सुदुरपश्चिमका
गित गुन्जायमान छन् । गितले गाउँको झल्को दिँदैछ । यो वन, वनका रुख र रुखहरुबिच
हिडेको सडकले पनि उतैको झल्को दिँदैछ ।
…………………..
भर्खर हामीले छोडेको
ठाउँ हो डडेल्धुराको दह । त्यही ठाउँमा हामीले बिहानको खाना खायौं । साढे बाह्र
बजे यहाँ पुग्यौँ । भनेपछि घर पुग्न अघिल्लो साल जस्तो राति हुँदैन ।
ए.. स्याउले पो र’छ ठाउँ । यो ठाउँ सुन्दै
र देख्दै आएकोले याद छ । यहाँबाट अलि उकालो छ क्यारे ! उक्लिएर झर्नुपर्छ कि त !
अघि ओर्लेपछि थाम्नै
नसकेर हतारहतार होटलमुनिको शौचालय गएँ । आपतमा होस् हुन्न भन्थे, हो र’छ । मभन्दा पहिले दुई
जना केटा थिए । ट्वाइलेट थिए लहरै चारवटा । ती दुई सुरुका दुई ट्वाइलेट छिरे । र
तेस्रो ट्वाइलेटको ‘महिला’ लेखेकोमा दिशा-पिशाव दुबैले आक्रमण गरेको मलाई के होस् हुन्थ्यो ।
बेहोस छिरेपछि ।
एकैछिनमा बाहिरबाट
ढोका ढकढक गरेको सुनिन्छ । बोली त त्यही युवतीको थियो, जो मेरो सिट पारी
बस्छे । जो मसँग बोल्छे । हो रैछे । म बाहिर निस्किँदा ऊ बोली - “दाई पो जानुभा’रैछ । महिलाको
ट्वाइलेटमा जानुभएछ !”
-‘आपतमा महिला न पुरुष !” यत्ति भनी हासेँ ।
तिँ दुई जनी र अरु महिला वा पुरुष पनि हासे ।
जे होस्, हसाउनँ माहिर छ
भविष्यको पत्रकार केटो !
खानाको पैसा चाहिँ
जति अघि बढ्यो, त्यति पचासका दरले घट्ने रैछ । यहाँ एउटा रोटी र भात थपेर खाँदा पनि
रु दुई सय ! अनि दशको सेन्टर फ्रुट किनेँ दाँतका लागि ।
खाना खाएर एकछिन
नजिक-टाढाको सुन्दर प्रकृति हेरेँ र मोबाइलमा कैद पनि गरिहालेँ । पत्रकारिताको
सानो अभ्यास गरिहालेँ । मैले यस्ता धेरै क्लिप खिचेको छु । सबै जोडेर सम्पादन
गर्छु र भरे फेसबुकमा पोस्ट्याउँछु ।
लौ, बस माथि जाला भनेको त
तलतल पो झर्छ । ए.. झरेर पो जान्छ त । त्यसपछी चाहिँ झर्ने-उक्लँने बाटो छैन सायद
।
हेर, कानमा हावा पसेर केही
सुनिदैन त ! एकै पटक दुई उचाई र हावापानीको संघर्षले यस्तो भयो कि !
जे होस्, बुबा-दाजुलाई चाँडै
पुग्छु भनिसकेँ । बुबा वर्षिकीको सामान लिन बजार आउनुभएछ । सँगै जाउँला भनेर
बल्देमै बस्न भनेको छु । र दाईलाई पनि आउन भनेको छु । दुई भारी छन् । दुबै बोक्न
सक्दिनँ क्यारे !
आहा ! संगीत सम्झेको
मात्र के थिएँ । सम्झनासाथ बज्यो पो त । तर बसको त्यो सङ्गीत मन परेन । बरु मेरै
मोबाइलको संगीत मिठा छन् । बजाइहाल्छु !!
……………………..…
डोटीमा रोपाई सकिएकै
रैन्छ । दुई तीन ठाउँमा रोपाईँ चलिराखेको देखियो । यो छेऊको खोलो हामी तिरै आउँदै
छ त , ललितपुरको मनोहरा जस्तै उत्तरतिरै बग्छ कि कसो ? खैर, डोटी छिरिसकियो ।
सायद दिपायल बजार नजिकिँदै छ । या उसतिर हामी नजिकिँदै छौँ ।
…………………..
सानो खोलामा पौडिँदै
गरेका बालबालिका देख्दा ६ वर्षअघिको मेरो बाल्य जीवन याद आयो ! यस्ता अनेक खोल्साखोल्सी देखिए । हामी
फेरी उक्लिँदै गयौँ माथि डोटीको सिलगढीतिर ।
ऐतिहासिक सिलगढीबाट
पर-तल हेर्दा, कस्तो भन्ने ! उपत्यकै जस्तो देखिन्छ । बिचमा ठुलो
खाडल र वरिपरि पहाडको घेरो । यहाँबाट प..र दिपायल बजार पनि
देखिदो रैछ । बढीजसो जङ्गल नै छ । यति टाढाबाट एकाध मात्र घरहरु देखिन्छन् । यो
सिलगढीमा भने बस्ती नै बसेको छ । सानोतिनो बजार पनि रैछ । यहाँ सरकारी संयन्त्रका प्रदेशस्तरिय
कार्यालय पनि छन् ।
………………
अछाम मंगलसैन पुग्न
लागेको अवस्थामा दिउँसोको बाह्र बज्नै लाग्यो । म त भ्रममा पो रहेछु । सिलगढीबाट
पनि सडक उतारचढावयुक्त नै रहेछ । मंगलसैनबाट चाहिँ सिधै हो कि ! अछामको मंगलसैन
भनेको के !
मैले भर्खर आन्टीले
हालिदिएका स्याउ छोएँ । एउटा खाएँ ।
बसको सहचालकले मलाई
दुई सय दिनुछ ! जम्मा ३८ सय बसभाडामा
३ हजार टिकेट किनेकै दिन दिएको थिएँ । बाँकी ८ सय दिनुपर्नेमा खुद्रा नभएर १ हजार
दिएको थिएँ । अब यसबाट ८ सय कटाएर २ सय मलाई चालकले दिनुछ । डर लाग्छ नि, कतै नदिने हो कि ! तर दिहाल्ला !!
हत्तेरी ! कस्तो
निद्रा लागेको । !!!
…………………
ल, अंकलले भर्खर भनेको
सानो गाउँ यही पो रै’छ । त्यो डोटी पुर्वीचौकीमा पर्ने रैछ ।
आछाम चौखुट्टेको सीमासँग रैछ । आज म केही अनुमान गर्नै नसक्ने भएको छु । अछाम
जिल्लाको सुरुमा कुन ठाउँ भन्ने त ठम्याउन सकिनँ ।
पहिला चौखुट्टे अनि
मंगलसैन पो त !
डोटी र अछामको
साँधक्षेत्रमा निगुरो बेच्न बसेका सानी बहिनी देखेर खै, कस्तो कस्तो लाग्यो ! सायद तिनीहरूले त्यो वनबाट आफैँ खोजेर ल्याए । कति
मिहिनेती ! दुख गर्न जानेका छन्
नि त ! साँच्चै, मलाई के लाग्छ भने दुख के हो, गरिबी के हो र अभाव अनि पिँडा भनेको के हो भनेर बुझ्न कहिँ जानु
पर्दैन, कर्णाली र
सुदुरपश्चिमका एकदुई जिल्ला पुगे मनग्यै पुग्छ । अझ म त भन्छु, मेरो बाजुरा आउनुहोस् ! यदि जीवन बुझ्न मन छ भने ।
म पनि अभावमा
हुर्किएको मान्छे हुँ । घरमा यद्यपी अभाव छ तर मलाई अहिले अभाव छैन । परिवारले
मेरै भविष्यलाई भनेर अरुको आश्रयमा राखेका छन् । मलाई भौतिक सुविधाको अभाव त छैन
तर बेलाबेला परिवारको अभाव खट्किन्छ । झन् आमाले छोडेर गएदेखि रातदिन उहाँकै झल्को
आउँछ । मेरो दुर्भाग्य, म सात वर्षसम्म आमासँग रहन सकिनँ, उहाँको बिमारमा मलह्म लगाउँन सकिनँ । खैर, जे भयो, भई त हाल्यो । अब
प्यारी आमाको अभाव सहने बानी पार्नुपर्छ ।
ती नानीहरुको अभाव
मुखमै झल्किन्थ्यो । एक मनग्य मुठाको पचास रुपैयाका लागि तलबाट गाडी आउनासाथ
कराउने रैछन् - ‘निगुरो निगुरो निगुरो !!’
निगुरो साँच्चै
राम्रो थियो । सस्तो पनि । तर मैले किनिनँ । दुई जनीका दुई हातका चारै मुठी अरुले
किने । मैले उनीहरुसँग भएको यत्ति होला भन्ने अनुमानले किन्न पाइनँ । वास्तवमा
उनीहरुसँग अरु पनि थुप्रै निगुराका मुठी रैछन् । तिनलाई उनीहरूके पर सडकछेऊ या
भित्तामा बिछ्याएका रहेछन् । त्यो हेर्दा प्रष्टै हुन्थ्यो, निगुरोमा तिनिहरुकै
संकलन, श्रम र सिप थियो ।
ए.. दिउँसोको पाँच
बजेछ त ! यसलाई दिउँसो भन्ने कि साँझ ? वातावरण साँझकै छ । दिउँसो त घाम लाग्नुपर्ने, घमाइलो हुनुपर्ने तर बाहिर यस्तो केहि छैन ।
……………………
यहाँनेर म अझै भ्रममा
छु । म पटकपटक घरमा अब मंगलसैन पुग्नु छ भन्दो रैछु । त्यो केटीले भनेकी, बस सिधैं साँफेबगर
जान्छ, १२ किमी छ रे ।
यसो हिसाब गर्दा
बल्देब पुग्न अझै डेढ-दुई घन्टा लाग्ला ।
म अन्तिमपटक तिमीसँग
बोलेदेखि कति घुम्ती काटियो, ख्यालै भएन/गरिनँ ।
मलाई थाहै रैनछ यो बाटोबारे । अब जति उचालिऊँ वा ओरालिऊँ, तिमीलाई भन्ने छैन । म सिधै बल्देबमा पुगेपछि तिमीकहाँ आउनेछु ।
………………….
तिमीलाई नभनी भएन । म
फेरि तिमीपास आएँ । हामी ओरालिँदै छौँ । यहाँबाट पाँच या छ घुम्ती घुम्नुछ । तल
जुन बजार जस्तो देखिदै छ, म त्यसैलाई मंगलसैन
भनिराखेथेँ अघिसम्म । तर अघि भर्खर ओर्लिएकी केटीले भनेको साँफेबगर पो त यो । यो
अछामको बजार हो । सायद प्रमुख बजारक्षेत्र यहि हो । साँफेबगरबाट माथि कहाँ कहाँ
गाउँसम्म सडक काटिएको रैछ । यी बाटाहरु माथि पहाडतिर अग्लिँदै गएका छन् ।
बाजुरा जाने बाटो त
बगरबाट सिँधै होला । अनुमान नमिल्न नि सक्छ !
ल संवेदना, अब बाजुरा भेटौँला !
……………………
लौ फेरि आएँ । साँफेबगरमा
आदि घन्टा बस रोकियो । छतको बाइक र भित्रको टायर निकाल्न यत्रो लाग्यो । त्यहाँबाट
हिडेको यस्तै दश मिनेट भयो कि ! यसदौरान हाम्रो गाउँकै आफन्त भेटिए । हाम्रोभन्दा
माथिल्लो कोलाघर टोलमा बस्ने अंकलान्टी बिमारी या के कारण साँफेबगरसम्म आउनुभएछ ।
आउँदा मेरो बुवासँगै आउनुभएछ नि त । बुबा वर्षिकीको सामान बोकेर बाम्काबाट घर
जानुभो । अंकलान्टी यता ।
भर्खर आन्टीले
दिनुभएको आँप खाँए । काठमान्डौँमा पाइनेभन्दा बेग्लै यहाँका आँप । सानासाना
चिटिक्कका !
नाता-सम्बन्ध
अंकलान्टीको हो या होइन पनि थाहा छैन । बाजे-बज्यौ पो पर्नुहुन्छ कि ! सानोमै सहर
बसेको, गाउँ आउँदा के हो, को हो पो हुँदो रैछ ।
उहाँहरु अघिल्लो र म
पछिल्लो सिटमा छौँ । तर त्यति कुरा भएको छैन ।
राति नै पर्ला जस्तो
छ बल्दे पुग्न !
यहाँनेर मेरो अघिको
अनुमान मिल्यो । अंकल बिमारी लिएरै आउनुभएको रहेछ । भर्खर छोटो कुरा गरेँ । बिमारी चाहिँ को हो कुन्नि !
म यो गन्थन
गर्दैगर्दा सात बज्नै लाग्यो । मेरो दाहिनेतिर उँदो बग्दछिन् बुढिगंगा । गंगा
शान्त नै छिन् । बाढीको समयमा पनि त्यति उग्र देखिन्नन् । यो याममा धमिलिनु त सामान्य हो ।
यी बुढिगंगाले मेरो
गाउँलाई पुर्व पारेर दक्षिणतिर हिड्छिन्, जहाँबाट म अघि बढ्दैछु ।
आहा ! आन्टीको बोली र
लवजले मेरी आमाको याद आयो । ममी नि हामीलाई मायाभावके ‘लाट्या’ भन्नुहुन्थ्यो ।
यी आन्टीको मेरी
आमासँग मभन्दा बढी संगत भयो होला । पक्कै भयो ! म अनुमान गर्न सक्छु, आन्टी र मेरी मम्मी कस्तरी
मिल्नुहुन्थ्यो ।
हामी अझै अछाममै छौँ ।
होइन होइन ! पर अछाम
र बाजुराको सीमा जनाउने गेट देखियो । ल, अब बाजुरातिर लागियो
भन्दा पनि हुन्छ ।
………………….
गृहजिल्लाबाट
बझाङबाट बाजुरा
प्रवेश गरेको मात्र होइन, बल्देब पुगिसकेँ । यो लेख्दैगर्दा साढे आठ बज्यो । म नजिकै एउटा गेट
छ । जसमा लेखिएको छ - बडिमालिका भण्डारगृह जाने गेट । हो यहि गेटबाट हो मेरो गाउँ या घर
जाने । कालो रात छ, वरिपरि सबै अपरिचित
झैँ छ । दिउँसै भए त म तिमीलाई यहाँबाट पारी-माथिको मेरो गाउँ छर्लङ्गै देखाउँथेँ ।
बुबा पारीबाट
आउँदैहुनुहुन्छ । दाई नआउने रे । घरमा खाना पकाउँदै हुनुहुन्छ ।
मित्र कृष्णराजले
भर्खरै फोन गरे । उसले फोन गर्दा पो थाहा भयो, सिनामंगल अंकललाई र भक्तपुर आमालाई सकुशल पुगेको जानकारी पो दिनुछ त !
आज म बहुतै खुसी छु ।
यो खुसीमा ठिक एक वर्ष अघिको कुरा याद आउँदै छ, भारी मन लिएर यसैगरी आएथेँ बसमा । त्यतिखेरको माहोल नै बेग्लै थियो
। त्यो यात्रालाई ‘शोकयात्रा’ शब्द सुहाउला !
आजको खुसीका दुई तीन
कारण छन् । एक, म मेरो आमाको वर्षदिनको काम सक्न घर जाँदैछु । दुई, म अघिल्लो साल जस्तो
खाली जाँदै छुइनँ । मसँग घरमा दिन पर्याप्त पैसा छ, अंकल परिवारले
शुभेच्छाले दिएको । र अन्य सरसामान । तेस्रो, म आफ्नै घर हप्तादिन
बस्नेगरी जाँदैछु । बुँदा बनाउने हो भने अरु पनि हुन सक्छन्
……..
……..
…….. ।
आमै ! चार हजार शब्द
पुग्न लागेछ । मलाई यसरी लेख्न सघाउनेमा हिजोदेखि पढ्दै आएको ताना शर्माको ‘बेलायततिर बरालिँदा’ पुस्तक पनि हो ।
यो नियात्रा तानाको
झैँ चर्चित नहोला भन्न सकिन्न ।
घर पुगेपछि यसलाई
ल्यापटपमा सम्पादन गर्नेछु । अँ त, मैले ल्यापटप पनि ल्याएको
छु ।
पुस्तकलाई आदिभन्दा
अलि कम पढिसकेँ । एक-दुई दिनभित्रै पढिसक्छु ।
उफ्…! यत्रो लामो उकालो कसरी चढ्नु हो ।
अब आगामी तीनचार
दिनको रमाइलो र निष्फिक्री गाउँबास सम्झिँदै हिड्ने त होला नि !
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~समाप्त~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
र अन्तमा यात्राको सारांश
साउन ६ गते गएर १५
गते आएँ । यो मेरो तेस्रोचोटी हो गाउँ गएको । काठमान्डौँ उपत्यका आएको चार वर्षपछि
पहिलोपल्ट गएथेँ । त्यसताका भक्तपुरमा बस्थेँ (अहिले काठमान्डौँको सिनामंगल) । पहिलोपल्ट गाउँ जाँदा एकदुई वर्ष नजानेगरी आएथेँ । तर लगत्तै एक
वर्षपछि आमा बितेकाले जानुपर्यो र यो भनेको आमाको वर्षदिनको अनिवार्य कामको लागि
जानुपरेको हो ।
सहर आएको सात वर्ष
हुनैलाग्दा तीनचोटी मात्र आफ्नो घर (गाउँ) जान पाउँनुलाई के
भन्ने ? दुखद या सुखद ? जे होस्, त्यो वाध्यता थियो
मेरो । धेरै हिडघुम मन पराउने मलाई यतिपटक जान पाउँनु नै सुखद हो । नपाएको भन्दा
यतिकै ठिक छ । आमाको वर्षिकी नभएको भए यतिपटक पनि नपाउन सक्थेँ । सायद यो सङ्ख्या
एकदुईमै सीमित हुन्थ्यो ।
यात्रा यादगार नै
रह्यो । कमसेकम अघिल्लो पटकको भन्दा । अघिल्लो पटक पनि आमाकै कामले गएथेँ, आमा बितेर । त्यो यात्रा शोकमय थियो । तर यो यात्रा अलि सुखमय । पूरा
सुखमय त कहाँ होला र ! घर गरिबीले जरजर छ ।
अभाव छ । खान पुग्दैन । भारतमा नोकरी नगरी हुन्न । असली गरिबी त घरमै पुगेपछि थाहा
भयो । यहाँबाट आर्थिक राहत नपठाइएको भए आमाको काम पनि ऋण लिएर गर्नुपर्थ्यो !
यसबाहेक बाटोको
यात्रा चाहिँ रमाइलो र भयो । अक्सर रमाइलै हुन्छ । जाँदा सिधै बाजुरासम्म एसीवाला
गाडीमा भएकोले यशले गइयो । वर्षायाममा बस दुर्घटनाका खबरले डराएको थिएँ/ थिए । मुग्लिनमा सानो पहिरोले छोटो जाम सहनुपरेको बाहेक मौसमले
पूरापूर साथ दियो । जाँदा यात्राभरी पानी परेन । आउँदा पानी पर्यो तर त्यसले कुनै
बाधा गरेन । आउँदा दुई दिन लगाएर (सुरुमा दाजुसँगै धनगढी र पछि धनगढीबाट यहाँ) आएँ ।
म हरेकपल्ट यात्राका
बेला भेटिने नयाँ अनुहारका बारेमा कल्पिबस्छु । मेरो सिटमा को पर्ला केटि पर्ली कि
केटा पर्ला म सोचिबस्छु ।
बाजुराबाट
धनगढीसम्मको यात्रा कष्टकर भयो । ४ बजेपछि अरु बस नपाइने हुँदा पछाडी सिटमा नभए
पनि क्याबिनमै बसेर यात्रा गर्न बाध्य भइयो । सामान्यत: क्याबिन चालक/सहचालकको हो । त्यसमा यात्रु बसाल्न पाइदैन । तर हामी चालकदल सहित १०
जना यात्रु क्याबिनमा अट्नुपर्यो । तीन-जनाको सिटमा दसौँ जना अट्नुपर्दा कम्ता अफ्ठेरो भएन । एक जनालाई उसको
शरिर अट्ने ठाउँ मात्र थियो । त्यस्तोमा चल्मलाउन सकिन्नथ्यो । शरिरलाई
स्वतन्त्रता थिएन । खुट्टाले भने अलिकति हल्लिन पायो तर पूर्णत: होइन । न निद्रा, न आराम । क्याबिनको कष्ट मैले पहिलोचोटि भोग्दै थिएँ ।
तर कहिलेकाहिँ यस्ता
कुराले पनि मलाई रमाइलै हुन्छ । केहि भोगिन्छ, केहि सिकिन्छ ।
यात्राका जेजस्ता
भोगाई होउन्, ठिक छ । सबैभन्दा
महत्त्वपूर्ण काम आमाको वर्षदिनको पुन्यकर्म गरियो । यसमै सन्तुष्ट छु ।
म जीवनका हरेक घटनाको
अभिलेख राख्छु । हरेक भोगाई वा सिकाई लेख्न मनपर्छ । चाहे तिनलाई कवितामा कोरुँ, चाहे गित बनाएर गाऊँ । चाहे कथामार्फत कहुँ, चाहे निबन्ध या नियात्राका माध्यमबाट विचारमा निर्बन्ध होऊँ ।
म आज मेरो
तेस्रोपल्टको गाउँगमनबारे चित्रात्मक वा दैनन्दिनिको शैलीमा आफ्ना अनुभवको
अभिलेखिकरण गर्नेछु ।
-साउन २९ गते-
Comments
Post a Comment