एक चिठी : धन्यवाद विद्या दिदी !
एक चिठी : धन्यवाद विद्या दिदी !
विद्या दिदी,
नमस्कार !
'हेर्ने कथा'को 'हराएका वर्षहरु' हेरेपछि मनमा जबर्जस्ती
प्रश्न जन्मियो – ‘प्रकाशलाई उमेर मात्र किन सोधियो ? घर जान्छौ भनेर किन
सोधिएन ?’
समय कति बलवान ! हराएका बीसौँ वर्षभन्दा
भेटिएको एक क्षण मूल्यवान ! अव्यक्त शब्दको वजन यसै कथाले सिकायो । अहिलेसम्म
हेरिएका चलचित्रले यति भावुक भइनँ, जति यो एक घण्टाको
डकुमेन्ट्री हेरेर भएँ । डकुमेन्ट्री पनि भन्ने र ! एउटा लामो चलचित्र हेरेझैँ भो ।
मलाई लाग्छ, जीवन संयोगहरुको लामो शृङ्खला हो । मान्छेको जीवनमा संयोग नि कस्ता
कस्ता ! कुनै त कहिल्यै नचिताएका । प्रकाशले यत्रो ३५ वर्षमा सोचे होलान्, मेरा आफन्तसँग भेट
हुन्छ भनेर ?
उनी आमाबा जिवितै भेटिएलान् भन्ने पनि
चिताउन गाह्रो मान्थे ।
प्रकाशले सबै बिर्सेर पनि सबै
सम्झिराखेका रहेछन् ! जब गोरखाको त्यो
अनकन्टार भिरबाट आफ्नो गाउँको नजिक नजिक आए, सबै बिर्सिएको झल्झली आँखैअघि आयो । उनले सबैभन्दा पहिला गाउँ सम्झे । त्यसपछि दौतरी सम्झे । माछा मारेको
पोखरी सम्झे । त्यसपछि बजार सम्झे । गाउँ चिनाउने चिहान सम्झे ।
गाउँ पुग्दा सपरिवार भोजपुर सरेको रहेछ
। भोजपुरको गाउँ उनका लागि नौलो थियो । तर पनि कसरी कसरी हो, बाआमासँगको सम्बन्धको डोरीले आँगनसम्मै डोर्यायो र बाआमा भेटाइदियो
। यो मेरा लागि दर्शकका रुपमा खुसीको क्षण थियो । र दुखको क्षण पनि !
आमाबुबा, दाजुभाई र दिदीसँग
प्रकाशले भेट गर्दैगर्दा जुन अशाब्दिक भाव निस्कियो, त्यसले सबैभन्दा
भावुक बनायो । उनी र कथाका अरु पात्रले दिएका केहि अभिव्यक्ति यति घतलाग्दा छन् कि
नभनौँ ।
१० वर्षको फुच्चे ३५ वर्षको बुढो
अवस्थामा भेटिँदा प्रकाशका बुबाले फुट्नै लागेको आँखाको भेल एकछिन थामे । जब भेलसँगै
वर्षौको भारी शब्द फुट्यो, तब म पनि थामिन सकिनँ
। प्रकाशका बुबाले छोरा भेटिने कुरा आश मारिसकेका थिएनन् । बा भन्दै थिए – “मलाई छोरो आउँछ भनेर आश थियो । भगवानको कृपाले आशा पुग्यो । सन्तान
भेटिएको यो खुसीयालीमा मेरो बिमार पनि ठिक भएजस्तो छ ।”
प्रकाशले बा भेटेको क्षण बालाई
सुम्सुम्याउँदै भने, “यहि हो मेरो बाउ !”
उनी आमाभन्दा बुबालाई धेरै याद गर्थे ।
वर्षौँपछि बुबा भेटिँदा उनले यत्ति मात्र भने । वर्षौँको सम्झना यहि चार शब्दमा
पोखेँ । तर यो कुनै सानो अभिव्यक्ति होइन । उनको लागि त्यस क्षणमा त्यहि
अभिव्यक्ति सबैभन्दा उत्तम भाव थियो ।
कथा सकिएको धेरै प..छिसम्म घोत्लिरहेँ – ‘काठमान्डौँबाट चुम भ्याली पुगेको त्यो बालख ‘काले’ले कसरी बितायो हो
बाल्यकाल र त्यसपछिको युवाकाल ?’
Bidhya Chapagain दिदी, तपाईँ पत्रकारितामा मेरो आदर्श व्यक्ति हुनुहुन्छ । पत्रकारिताको जुन पथ तपाईले
हिड्नुहुँदैछ, म पछ्याउनेछु ।
दिदी, म यस्ता फिचर कथाहरु हेर्न र बनाउन मनपराउँछु । धेरै हेरेको छु तर तपाईँका
जस्ता अरु मनपर्ने लाग्दैनन् । आजसम्म तपाईँले बनाएका मेरा सर्वप्रिय कथा
मध्ये यो पनि एक भएको छ ।
यो कथाका लागि तपाईलाई धन्यवाद !
हिमाली हिउँ र हावा वरिपरिको जेल जीवनको
कैदीलाई छुटकारा दिलाइदिनुभएकोमा धन्यवाद ।
धन्यवाद, यसकारण कि तपाईले पात्र प्रकाशनलाई सोध्नुभयो - तपाईंलाई आफ्नो घर
जान मन छ ?
र धन्यवाद प्रश्न सोधेकोले मात्र होइन, तपाईंले घर भेटाइदिएर
पुनर्मिलन गराउनुभएकोमा पनि ।
Herne Katha !
हेर्ने कथा हेर्ने,
भुवन खत्री !
-२०८० भाद्र ९ गते-
Comments
Post a Comment