म क्रान्ति-शिखा

म क्रान्ति-शिखा 

            -भुवन अथर 

तस्विर च्याट जिपिटी (एआई) ले बनाएको हो ।
           

म नारी भएकै कारण

पानी मात्र हुन सक्दिनँ 

म आगो बन्न पनि सुरु गरेकी छु


त्यो रात

त्यो पिपासु आँखा

मेरो मनले भोगेको 

त्यो विषाद

त्यो क्रुर घटना 

मेरो मष्तिष्कमा सचित्र छ


त्यो रात मात्र होइन 

ममाथि कयौँ दिन-रात 

कयौँ पिपासु आँखाको नजर पर्यो

तिँ आँखाले मेरो कलिलो यौवना

चिथोर्न खोज्थे

समाजको सर्वोच्च सत्ता पुरुष 

जहिल्यै ममाथि हावी हुन खोज्थ्यो

कहिले बिच सडकमै अपहृत भएँ, लुटिएँ

कहिले निर्जन ठाउँले पनि मलाई हरण गर्यो

स्कुल कलेज जस्तो पवित्र तीर्थस्थलमा 

मैले अपवित्र हर्कत सहेँ

जङ्गलमा जनावरको डर

घरमा मान्यवरको डर

स्कुलमा अज्ञानीको डर

बाटोमा भुँइको भय

दोबाटोमा लुटिने भय

यस्तै यस्तै 

अनेक डर र अत्याचार 

चुपचाप सहेँ

चुपचाप मौन रहेँ 

सहिरहेँ

म जून न थिएँ

के गर्न सक्थेँ र


त्यो रात 

समाजको विषालु आँखा 

मलाई डस्न अघिअघि सर्दै थियो 

म त्यहि समाजलाई 

गुहार माग्दै थिएँ

जो मलाई पछ्याउँदै थियो

मेरो चिच्याहट कसले सुन्थ्यो र

म समातिएँ

भागेर कहाँ जानु

जताततै उस्तै विषधारी सर्प

एकछिनमै म घेरिएँ उनीहरुबाट

ममाथि 

एक नजर यौन-पिपासुको पर्यो 

एक नजर स्त्रीलम्पटको पर्यो

एक नजर दमनकारीको पर्यो

एक नजर मलाई वस्तु देख्नेको पर्यो

भाग्न खोज्दाखोज्दै 

म तिनको सामुहिक बलात्कारमा परेँ

एकैपल्ट 

अनेक विशाल उल्कापिण्ड 

ममाथि बज्रिएका थिए 

म जून न थिएँ 

के गर्न सक्थेँ र 

म बेहोस पारेर त्यो हुल भाग्यो

होस आउँदा हस्पिटल थिएँ

हस्पिटल ल्याउने थिए

महिला अधिकारकर्मी

जो पुरुष थिए

महिलाका लागि लड्ने पुरुष

अधिकारकर्मीसँगको साक्षात्कारले

म बदलिएँ

मेरो सोँच बदलियो

मैले पूरै काँचुली फेरेँ

म अब जून रहिनँ

एक शितल जून जल्यो 

र रापिलो सूर्य बन्यो 


म क्रान्तिशिखा बनेँ


म नारी भएकै कारण

पानी मात्र हुन सक्दिनँ 

म आगो बन्न पनि सुरु गरेकी छु

-२०८१ मङ्सिर २२ गते-

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा