मायाको आयतन
मायाको आयतन
- भुवन अथर
धुम्म धुम्म मौसमको
कुनै दिन
लगभग दुई घण्टा लगाएर
तिम्रा र मेरा पैतालाले
त्यो अग्लो र एक्लो
चुली नापेका थियौँ
त्यही चुलीको चुच्चोमा बसेर
हामी मस्त प्रेमालापमा थियौँँ
याद छ कि छैन तिमीलाई ?
भावुक कुराकानीको
कुनै गम्भीर मोडमा
तिमीले सोधेकी थियौ-
‘कति माया गर्छौ ?’
‘निलो गहिराई नाप्ने
कुनै गणितीय सूत्र भए
कालो लम्बाई मापन गर्न
कुनै वैज्ञानिक विधि भए
सेतो उचाईंको नापो लिने
कुनै आधुनिक यन्त्र भए
रातो फैलावटको मान देखाउने
कुनै अंक छ भने
तिनबाट जति अंकमान आउँछ
म तिमीलाई त्यति माया गर्छु’
मेरो जवाफपछि तिमी
अवाक् भएकी थियौ
त्यो दिन सम्झेर
आजभोलि म अवाक् हुन्छु
यहि सोचेर कि-
कहाँ टिक्यो र आज
मायाको त्यो आयतन !
Comments
Post a Comment