कान नसुन्ने वाद
कान नसुन्ने वाद
-भुवन अथर
“टाढा…
कता हो कुन्नि
कस्को हो कुन्नि
जिन्दावाद र मुर्दावादका
कोलाहल सुनिदैछन्
कुन जिन्दावाद कस्को पक्षमा
कुन मुर्दावाद कस्को विपक्षमा
मलाई केहि थाहा छैन
मलाई यी कुनै वादमा विश्वास पनि छैन
तर म जान्न चाहन्छु
भन्नुस् त बाबु
यो कोलाहल कसको हो
आजभन्दा दुई दशक पहिले पनि
यो बस्ती छेऊबाट हुलका हुल कोलाहल
के के आश्वासन फलाक्दै थिए
मैले त सुनेँ मात्र हेर्नुस्
आजसम्म खै के भयो
न हाम्रो हाल सुध्रियो
न समाजबाट वर्ग गयो
हामी भुइँवर्गले कहिले उँभो लाग्ने
हामी भुँईमान्छेले कहिले घर देख्ने
मैले धेरै पटक सुनेको छु यस्तो कोलाहल-
एक नायक आउँछ
हुलका हुल कोलाहल बटुल्छ
यदि कोलाहाल कुनै उत्तेजित भीड होइन भने
ऊ आक्रामक नहोला
हो भने
त्यो कोलाहलले अर्को कोलाहल ल्याउँछ
र त्यसले सहर चर्काउँछ
मैले त धेरै सुनेँ बाबु…
तर खै
जुन कोलाहल आए पनि हामीलाई सुन्दैन
अब त
‘जुन वाद आए पनि कानै नसुन्ने’ भन्नुपर्यो
हेर्नुस् न यो धमिलो खोलो
बर्खाको बेला
यो खोलोले दुख दिन्छ
यो बस्तीका छानाको काठ र टिन देख्दैहुनुहुन्छ नि
यी धेरै पूराना हुन् बाबु
म भन्दा पनि पूराना
सायद ‘सात साल’ भन्दा पूराना
यो बाटो
ऊ.. त्यो काठमाडौँ पुग्न सक्दैन
अरु त अरु
पुग्दैन घाम पनि
खुला यो बस्तीमा
म जस्ता कैयौँ बृद्ध
भुइँबाट उठ्न नपाउँदै मर्छन्
बालबच्चा क..ख देखि डराउँछन्
अरु त के भनौँ बाबु
आजसम्म जे जे वाद या तन्त्र आए या गए
तिनले हामीलाई नछोइकन
आउँदै जाँदै मात्र गरे
अब यो कोलाहलले जुन वाद ल्याउला
त्यसले पनि हामीलाई छोला भन्ने
के आधार छ
जे होस्
तपाईंलाई चाहिँ हार्दिक धन्यवाद!
यति ठुलो काठमाडौं सहर
यति नजिक भएर पनि
यो बस्ती पस्दैन कहिल्यै
दुख गरेर तपाई
यो निर्जन ठाउँमा आइदिनुभो
र हाम्रो कुरा सुनिदिनुभो
फेरी पनि
धन्यवाद छ पत्रकार बाबुलाई
अन्तमा यत्ति बिन्ति छ-
हाम्रो कुरा लगेर सुनिँदै गरेको
ऊ… त्यो कोलाहललाई
सुनाइदिनुहोला !”
-२०८१ चैत १५-
![]() |
सिंहदरबार असपासको बिहानी |
Comments
Post a Comment