त्यो दिन
त्यो दिन
-भुवन अथर
त्यो दिन
‘आजको म’ मर्नेछ
र अर्को जन्मनेछ
अर्को अध्यायको
नयाँ अध्यायमा
करोडौँ वर्षदेखिको सूर्य ताजा देखिनेछ
यसैले मेरा दिन ताजा हुनेछन्
लाखौँ वर्षदेखिको चन्द्रमा पनि अझ चम्किनेछ
त्यसैले मेरा रात चम्किनेछन्
समग्र दिनचर्या सरिता-गतिमा बग्नेछ
जब ‘अर्को म’ जन्मनेछ
त्यो दिन
मेरा पखेटा उम्रनेछन्
र आरम्भ हुनेछ उडान
अर्को आकासको
अर्को आकास
यो भन्दा फराक हुनेछ
यसैले म निस्फिक्री अकासिन, फैलन र फूल्न पाउनेछु
जसै बाफ अकासिन्छ, बादल बनेर फैलन्छ
र पृथ्वीलाई नभई नहुने नियम पूरा गर्छ
यो जस्तो सीमित रहनेछैन त्यो
यसैले म असीम बग्नेछु
मेरो नयाँ लय बन्नेछ
जब मेरा पखेटा उम्रनेछन्
त्यो दिन
एउटा पिँजडा भत्किनेछ
र चरा उड्नेछ
आफ्नै दुनियाँमा
त्यो दुनियाँ
नितान्त नौलो हुनेछ
नौलो हुनुका नाताले
सबै अपरिचित हुनेछ
अनेक आश्चर्य उजागर हुनेछन्
दुनियाँको वास्तविक नापो बुझिनेछ
तब म अचम्मित हुनेछु
नौलो दुनियाँले
अनेक नयाँ दुनियाँ देखाउँनेछ
जब पिँजडा भत्किनेछ
त्यो दिन
एउटा कैदी छुट्नेछ
कारागारबाट
छुटेपछि
जब मूलढोकाबाट बाहिर निस्किनेछ
ऊ एक लामो सास फेर्नेछ
निस्सासिएको पीडालाई मुक्ति दिनेछ
जब कैदी छुट्नेछ
त्यो दिन
मेरो स्वास मेरै नियन्त्रणमा हुनेछ
र स्वनियन्त्रित हुनेछन् मेरा दिन
मेरा स्वाद, सौन्दर्य, स्वत्व, लय वा धुन ।
तीँ…
आफ्नै हुनेछन्
यसैले म आफ्नो हुनेछु
यन्त्रवत् चल्नेछैन
यसैले म पूर्ण मानव कहलाउनेछु
जब स्वास मेरै नियन्त्रणमा हुनेछ
त्यो दिन
मेरा नियम, बन्धन, सीमा र पर्खालका
एक एक इँटा भत्किनेछन्
र त्यहाँ निर्बन्ध भवन खडा हुनेछन्
सोँचका, सपनाका, कर्मका र आकांक्षाका
त्यो दिन
वर्षौँ प्रयासपछिको प्रतिफल स्वरुप
एउटा क्रान्ति सफल हुनेछ
र त्यो क्रान्तिले अरु क्रान्ति ल्याउनेछ
क्रान्ति
कुनै विनासकारी हुनेछैन
यद्यपि त्यो मौन रुपमा उठ्नेछ
परिणामतः
अवस्थासँगै व्यवस्था फेर्नेछ
जब क्रान्ति सफल हुनेछ
जब म नयाँ जन्मनेछु
तब नयाँ मात्र जन्मनेछैन
आजको जीवनको एक अंश सँगै लिएर
वा
कठोर जीवनको आत्मकेन्द्रित आत्मालाई
पुनर्जन्म गराएर जन्मनेछु
त्यो दिन
जुन दिन
मेरो चालक मै हुनेछु
मेरो धावक मै हुनेछु
मेरो आश्रयस्थल मै हुनेछु
मेरा सारा निर्णय मै गर्नेछु
डरहरु म भन्दा दू..र
कतै जानेछन्
मेरा सकल संवेगहरू
मेरा सम्पूर्ण इच्छाहरु
मेरा सबै अनिच्छाहरू
मेरै इच्छामा चल्नेछन् ।
जुन दिन
मेरा सारा अभिव्यक्तिहरू
मेरै मनका उपज हुनेछन्
एक-आयामी परजिवीबाट
बहुआयामिक पूर्ण जीव
अथवा
यन्त्र मानवको रूपबाट
पूर्ण मानवको
स्वरूपमा आउनेछु
र त्यहि दिन
मेरो ‘स्वतन्त्रता दिवश’ हुनेछ
…
शान्तिका सेता परेवा लिएर
त्यो दिन
छिट्टै उदाउनेछ ।
•••
Comments
Post a Comment