Happy New year !
यति लामो नपढ्दा पनि हुन्छ ! मात्रै यति भन्न खोजेको - तपाईँलाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना ! दिन सोचे झैँ बनुन्, शुभकामना यो पनि !
…
२०८२ साल । यसलाई म ‘एक वर्ष बढेको’ रुपमा मात्र हेर्दिनँ । नयाँ वर्षलाई म नयाँ रुपमा सोच्छु । केही फराकिलो ढङ्गले सोच्न मन लाग्यो आज । मलाई ‘गत वर्ष र यो वर्ष’ मै सीमित रहन मन भएन। वर्ष गणनाको आदिम समयसम्मै जान मन लाग्यो। यो साललाई यसरी सोच्न मन लाग्यो कि मेरो सोचाइमा मात्रात्मकता मात्र नभएर गुणात्मकताको सुगन्ध आओस् ।
नयाँ र फराकिलो सोच्छु भनेर ‘एक’ लाई वेवास्ता गर्न खोजेको होइन, सत्य ! शून्य, एक… हुँदै त सुरु हुने हो अनन्तसम्मको अंक गणना !
…
२०८२ साल । यसलाई म वर्ष गणनाको आधारमा हेर्छु । अर्थात्, पूर्वीय सभ्यतामा (अझ, भारतवर्षीय सभ्यतामा) वर्षहरू गणना भएको २ हजार ८२ वर्ष पुगेछ । यस दौरानमा कति परिवर्तन भोग्यो मानव सभ्यताले, त्यो इतिहास पढ्दा थाहा भै’हाल्छ । यो काल यति महत्वपूर्ण रह्यो, जङ्गली जीवनबाट निस्किएर मानव अरु ग्रहमा भविष्य सोच्दैछ । संचार र प्रविधि क्षेत्रको व्यापक परिवर्तन व्याख्या गरिराख्नै पर्दैन; सम्पर्क र अन्तरक्रियामा रहन एकार्काको भौतिक उपस्थिति जरुरी छैन आज ।
यति मात्र नभएर गएका २ हजार ८१ वर्षमा मानिसले आफ्नो समाज भित्रका हरेक क्षेत्रलाई (वा विधालाई) नयाँ नयाँ ज्ञानको खोजी गर्दै अझ उन्नत तुल्याएको छ। यो सबै मानिसले अनेक तरहले लड्दै-भिड्दै गरेको हो । अर्थात् यत्रो वर्षसम्म मानिसहरूले गरेको सङ्घर्षको परिणाम हामीले सुविस्ताले भोग्दैछौँ। अर्थात् पुर्खाद्वारा आर्जित ज्ञान त हो आज हामीले उपयोग गरेको । त्यसैले यहाँनेर आग्रह कि गएका २ हजार ८१ वर्षलाई बेवास्ता नगरौँ, धरतीमा आएर गएका पुर्खालाई नभुलौँ, उनीहरूले दिएको ज्ञानलाई नबिर्सौं ! सिकौँ केही उनीहरूबाट !
यस दौरान कति मान्छे जन्मे र मरे, अंकमा भन्न कठिन छ। आजको विश्वमा मानिसहरु ८ अर्ब छन् भनिन्छ। तिनै जीवित मानिसहरू मध्येका तपाईँ हामी पनि एक हौँ। तपाईँ हामीले गर्ने भनेको नै त्यही हो, जो हाम्रा पुर्खाले गरे वा गएका २ हजार ८१ वर्षका मानिसले गरे- आगामी पुस्ताको लागि ज्ञान-सिपको खोजी र संरक्षण ।
त्यसैले अब हामीले सोचौं, दू…र सम्म । अर्थात् दूरदृष्टि राखौँ । तर पछाडि हेर्न पनि नभुलौँ!
(नोट: यो मेरो मनको गन्थन मन्थन मात्र हो । मनन नगरे पनि हुन्छ ल ! मात्र यति भन्न खोजेको- सोच फराकिलो बनाऔँ। र हेरौँ, अगाडि-पछाडि तल-माथि चारैतिर !)
२०८२ सालको हार्दिक शुभकामना
!🥰🎉
-भुवन अथर
Comments
Post a Comment