एकाग्रता मतलबः वर्तमान !

 

एकाग्रता मतलबः वर्तमान !

-भुवन अथर

तस्बिर र लेख अलग हुन् !🥰



कति पढ्नु, केहि लेख्छु !

यसो भनेर लेख्न थालेको आधा घण्टा त बित्यो होला ! तर लेख्ने बिन्दु समाउन सकेको छैन । अक्सर यस्तै छु, एकाग्रता भन्ने चिज बेलाबेला गायब हुन्छ । लेख्ने, बोल्ने र सोच्ने बेला झन् …! एकाग्रता चाहिने भनेकै यस्तै बेला हो । अबको आधा घण्टा कुनै विषयमा एकाग्र भएर लेख्न सके मात्र पनि सुखी हुने थियो मन ! वा एकै विषयमा सोच्न सके पनि भो ।

एक मनले सोचेको पनि थियो, बाल्यकालीन कुनै स्मृति लेख्नुपर्यो । यसको विरुद्दमा अर्को मन बोल्यो, आफ्ना अनुभव पनि भन्न मिल्ने समाजको कुनै समसामयिक विषयमा लेख्दा होला । फेरि यी दुबैको मतमा असहमती जनाउँदै अर्को मन आफ्नो राय दिन्छ, आफ्नै जीवनमा तत्काल घटित कुनै विषय पक्रिएर समग्र अनुभव समेटे होला ।

के छ त्यस्तो विषय, जो तत्काल मेरो जीवनमा घटित छ ? सम्झिएर एक एकलाई डायरीमा टिप्न थालेँ । प्रत्येकलाई विश्लेषण गरेँ । तर कुनै काम लागेनन् । कुनै विषय लेख्नलायक पाइएन ।

विषय नभेटाएपछि म बिहानतिर जान्छु र विस्तारपूर्वक वर्तमानमा आउँछु । मतलब, उठेदेखि अहिलेसम्म के के गरियो वा भयो, एक एक सम्झिने कोसिस गर्छु ।

ढिलो उठियो । ढिलै उठे पनि एकछिन योगाभ्यास भ्याइयो । बाटोमा म चढेको टेम्पोले साइकललाई धक्का दिएपछि कलेज पुग्न झन् ढिलो भयो । सरहरूका लेक्चर आज पनि राम्रा र उपयोगी लागे । खाजा खाँदै गर्दा क्यान्टिनमा भेटिएका एक सफल लेखकका उतारचढाव सुनियो, केहि सिकियो । लाइव्रेरीमा नयाँ किताब पढ्न सुरु गरियो । एकछिन ग्राउण्डमा साथीहरुको खेल हेरेर रमाइयो । घर आउनेबेला साथीहरु बिचको कुराकानीमा प्रेमबारे छुट्टाछुट्टै धारणा सुनियो । खाना खाँदा सुनेको टिकाराम यात्रीको निद्रा विषयक संवाद गजब थियो । दिउँसो एउटा हिन्दी चलचित्र हेरियो । एउटा लघुकविता लेखियो र निबन्ध लेख्ने विषयमा एकछिन चिन्तन गरियो । एक घण्टा घर सफाईको काम भयो । त्यसपछि मोबाइल हेर्न थाल्दा एक घण्टा बेकार बित्यो, असिर्जनशील भएर ।

र त्यसपछिअहिले साँझ हुनै लाग्यो । यो समय सिर्जनात्मक बनाऊँ भनेर लेख्ने काम गर्दैछु । मलाई लेख्न यस्तै साँझ उपयुक्त लाग्छ । तर आज लेख्ने विषय नभेटाएर भौतारिनुपरेको छ ।

यसो गरौँ कि क्या हो- यो बगैँचाबारे लेख्छु । गमला, फूल, रङ्, प्रजाती, पानी, सुन्दरता, सुवास, झार, चरा, पूजा, मुत्य । अहो ! मृत्यु सम्मै सोच्नुपर्ने यस्तो विषय नलेखौँ ।

ऊ त्यो धमिलिएको खोलाको बारेमा पो कलम चल्छ कि त । हैट ! यस्तो गन्हाउने खोलो ! उसो त, यो हनुमन्तेको बारेमा पहिल्यै लेखिसकेँ त ।

पुलमा साग-सब्जी, लुगा-कपडा बेचिरहेका यी साना व्यापारीको कुरा लेखुँ या वारपार गर्ने गाडी, मान्छेको कथा कहुँ ! अथवा ठेलामा मकै बेच्ने दिदीको विषय कस्तो होला ? होइन, त्यो भन्दा यतापट्टिका गाइने दाईको जीवनकथा बढी रोचक होला । हुन त, यो करिडोरको पनि कथा होला केहि ।

होइन होइन, मान्छे भन्दा नि प्रकृतिको कुरा लेख्नु राम्रो हुन्छ । भर्खर पानी थामिएर खुलेको यो चङ्गा मौसम लेख्न पाए …! सबैभन्दा राम्रो त परको त्यो पहाड छ । सल्लाघारी क्षेत्रका सल्लाको सुसाई यहिँसम्म सुनिएझैँ लागिरहेछ । साँच्चै, आज जसरी त कहिल्यै खुलेको देखिनँ मौसम । अचम्म !!

आहा ! हावा पनि कति मिठो गरी चलेको ! यस्तै मौसमले होला मलाई यो छतमा तानेर ल्याएको । गोधूँली साँझ, खुलेको मौसम अनि ज्यानमा अमृत सञ्चार गर्न सक्ने यो हावा ! वातावरण यी तीनको मिश्रणले क्या कमालको बनेको छ ! ‘पानी परेपछिको साँझ’ यस्तै शीर्षक राखेर लेख्न थालुँ कि कसो ! (?)

के गरुँ … … …

दोधारमा पो परेँ त, लेख्ने कि सोच्ने । मलाई त यस परिस्थितीबारे सोच्नमै सुख लागिरहेछ !

साँची, म यसरी बसेको दृष्य कस्तो देखिन्छ होला परबाट ? रंगीचंगी फूलको बगैँचा बिच (जुन सिंगो छतको पनि केन्द्र हो) कुर्सीमा बसिरहेको एक युवक । टेबलमा कापी बिसाएको छ । आफु भने हातमा कलम च्यापी त्यसलाई च्युँडोनेर लगेर केहि सोचेको स्वाङ् पारिरहेछ । साँच्चै, के सोचिरहेछ ऊ ? जाबो एउटा विषय !

जाबो !?

जाबो होइन !

जाबो भएको भए त अघि सोचिवरी लेखिसक्नुपर्थ्यो ! निकै गाह्रो रै’छ एउटा लेखको विषय सोच्न । लेखकहरूले कसरी सोच्दा हुन् थरिथरीका विषय ? अघि, मतलब, यो छतमा आउनु अघि शंकर लामिछानेका निबन्ध पढ्दै गर्दा त लागिरहेथ्यो- यति जाबो विषयमा यति सरल तवरले यति सामान्य गफ त दिईहाल्छु नि ।’ तर म मोरोलाई के थाहा, सबैभन्दा सामान्य भाषामा सबैभन्दा सामान्य कुरा भन्न सबैभन्दा अद्भुत कला चाहिन्छ भन्ने कुरा । जो शंकरमा छ । साहित्यको त्यति ठुलो रत्नलाई म बबुरोले टक्कर दिने सोँच नै वास्तवमा हो !

लेख्दिनँ भो !

अब त सोच्ने जाँगर पनि मर्यो ।

सायद दिन मरेर होला । अध्यारो पो भइसकेछ !

अनि यत्रो समय खर्चेको उपलब्धि के त ?

मनखुस !

हो हो ! सोचेको उपलब्धि त भयो त – एकाग्र भएर लेख्न नसके पनि सोच्न त सकेँ । ठुलो कुरा एकाग्र हुनु हो । चाहेको सुख हो । सुख दिने एकाग्रतै हो । एकाग्रता मतलब ?

वर्तमान !

आजको भोगाई एक लाइनमा भन्नुपर्दा-

‘सुखी हुनलाई कहिँ जानु पर्दैन, आज र अहिलेमा एकाग्र भए पुग्यो’


-२०८२ जेठ २४, शनीबार-

 

 

 

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल