भूमी (एक वियोगान्त प्रेमकथा) दुई पहाड छन् । एक म बस्ने, अर्को मतिर फर्केको । बिचमा छिन् सुस्त हिड्दै बुढिगङ्गा । गङ्गा थाकेकी छैनन् गित गाएर, जसरी थाकेका छैनन् उभिएर दुई पहाड । यी यस्ता पहाड हुन्, जसको साइनो भनिसाध्य छैन । अन्योन्याश्रित छ । यी पहाडमध्ये मेरो पहाडबाट घाम उदाउँछ र अर्को पहाडमा गएर अस्ताउँछ । आज पनि घाम उदायो तर अस्ताएको देखिएन । घाम नअस्ताउँदै आकास बादलले रुन लागेजस्तो देखियो । छिनभरमै त्यो बादल आकासभरी फिँजियो । खै कहाँको समुद्री विनाशकारी जलवाष्प बोकेर बसेको थियो बादलले । ठम्याउन नपाउँदै वर्षा वर्षि त हाल्यो । हावा हुरी सहितको वर्षाले पूरै गाउँ प्रभावित बन्यो । बुढिगङ्गाले सतह बढाइन् , सधैँ मन्द सुसाउने उनी आज गर्जेको सुनिइन् । पारीको पहाड हिउँले सेताम्मे देखियो । वर्षा यति विनाशकारी भएर आयो कि त्यस्तोमा कोहि पनि गाउँलेले केहि गर्न सकेनन् । वर्षाको वितण्डा चुपचाप सहनु बाहेक विकल्प पनि कहाँ थियो र ! वर्षा विस्तारै कम भयो । गाउँलेहरु घरबाट बाहिर निस्किए र क्षति आँकलन गर्न थाले । ...